शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

पाक्न लागेको धानबालीमा वर्षाले क्षति, किसान चिन्तित

बुधबार, कात्तिक १९ २०८२
पाक्न लागेको धानबालीमा वर्षाले क्षति, किसान चिन्तित

जिल्लाको तल्लो क्षेत्रका किसानले लगाएको धान पाक्न लागेको बेलामा कात्तिके वर्षाले व्यापक क्षति गरेपछि किसानहरु चिन्तित बनेका छन्।

फिक्कल- इलाममा पाक्न लागेको धानबालीमा वर्षाले क्षति पुर्‍याएपछि किसानहरु चिन्तित भएका छन्। गत कात्तिक १३ देखि १५ सम्मको अविरल वर्षाले जिल्लाको दशवटै पालिकामा पाक्न लागेको धानबालीमा क्षति गरेपछि किसानहरु चिन्तित भएका हुन्।

पाक्न लागेको धानबालीमा वर्षाले क्षति गरेको माङसेबुङ गाउँपालिका-३ सिङलाबुका किसान मनिस सुनुवारले बताए। 'मेरो १५ रोपनी क्षेत्रमा लगाएको धानबाली ढलेर सोतर भएको छ', उनले भने, 'प्रमुख बालीको रुपमा लगाउँदै आएको धान ढलेर सोतर भएपछि समस्या पर्ने चिन्तामा छु।'

निरन्तरको वर्षाले खेतमा पाक्न लागेको धानबाली सबै लडाएर अपुरणीय क्षति भएको अर्का किसान आइन्द्र योङहाङको दुखेसो छ। 'धान भित्र्याउने बेला वर्षाले सबै जमिनमै मिलाइदिएको छ', उनले भने, 'बेला न कुबेला आएको वर्षाले किसानलाई मारमा पार्‍यो।'

खेतमा ढलेर करिब ५० प्रतिशत धानबालीमा क्षति पुगेको उनको भनाइ छ। माङसेबुङका सयौँ किसानको धानबालीमा क्षति पुर्‍याएको छ। उता फाकफोकथुम गाउँपालिकामा पनि वर्षाले सयौँ किसानको धानबालीमा क्षति पुगेको किसानहरुको दुखेसो गरेका छन्।

फाकफोकथुम-७ का पञ्च योङहाङले पाक्नै लागेको धानबाली लगातारको वर्षाले सबै ध्वस्त बनाएको बताए। 'निरन्तर परेको पानीले सबै खेतको धान पूरै भाँचिएर जमिनमा मिलाइदिएको छ', उनले भने, 'हिउँदमा समेत बर्खामा झैँ परेको पानीले किसानलाई बिजोग बनायो।'

जिल्लाको तल्लो क्षेत्रका किसानले लगाएको धान पाक्न लागेको बेलामा कात्तिके वर्षाले व्यापक क्षति गरेपछि किसानहरु चिन्तित बनेका छन्। इलामको तल्लो क्षेत्र अर्थात् चुलाचुली गाउँपालिका, माई नगरपालिका तथा माङसेबुङ, फाकफोकथुम, रोङ, माईजोगमाई, सन्दकपुर गाउँपालिका र देउदेमाई, इलाम र सूर्योदय नगरपालिकाका तल्लो क्षेत्रमा धानखेती हुनेगरेको छ।

यहाँको माई नगरपालिका र रोङ गाउँपालिका किसानले उन्नत जातको सावित्री र रञ्जित खेती गर्ने गर्छन्। अन्य क्षेत्रका किसानले रैथाने बेलकुटी, चिराखे, अटे, चुल्ठे, भँगेरे, टिमुरे, बयर्नी, रामतुलसी, रुदुवा, नानिया, चम्पासरी, तापमारालगायत जातका धानखेती गर्ने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख रविकिरण अधिकारीले बताए।

इलामको माई र इलाम नगरपालिका सहित चुलाचुली गाउँपालिकामा सबैभन्दा धेरै धानखेती हुँदै आएको छ। इलाममा १४ हजार ८१५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्यांक छ। रासस


प्रकाशित : बुधबार, कात्तिक १९ २०८२१३:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend