शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

शिक्षणसँगै खेतीकिसानीमा लागिरहेका विष्णुराज, वार्षिक १० लाख रुपैयाँ नाफा

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक १९ २०८२
शिक्षणसँगै खेतीकिसानीमा लागिरहेका विष्णुराज, वार्षिक १० लाख रुपैयाँ नाफा

उनी अंशुवर्मा बिजवृद्धि कृषक समूहको अध्यक्षसमेत हुन्। उनले बीउबिजन उत्पादन पनि गर्दै आएका छन्। शिक्षणपछिको उनको समय खेतबारीमा बित्छ।

महेन्द्रनगर- पुनर्बास नगरपालिका-१ का विष्णुराज घिमिरे जनकल्याण माध्यमिक विद्यालयका शिक्षक हुन्। विसं २०५४ देखि शिक्षण पेसामा लागेका घिमिरे हाल व्यावसायिक किसानका रूपमा नगरक्षेत्रमा परिचित छन्। 

विसं २०७५ मा दुई बिघाबाट सुरु भएको घिमिरेको केराखेती हाल साढे आठ बिघामा विस्तार भएको छ। यो जमिन उनले भाडामा लिएका हुन्। जमिनको भाडा वार्षिक पाँच लाख रुपैयाँ छ।

'केराखेतीबाट वार्षिक १० लाख रुपैयाँ नाफा हुन्छ', खेतीबाट भएको आम्दानी खेती विस्तारमा नै लगाएको जानकारी दिँदै किसान घिमिरेले भने।

मौसम अनुकूल नहुँदा बाह्रै महिना केरा उत्पादन गर्न यहाँ सम्भव नभएको बताए। केराखेतीबाट वार्षिक ३० लाखसम्मको कारोबार हुने गरेको छ। केराखेतीमा आफूले १० जनालाई रोजगारी दिएको बताए।

किसान घिमिरेका अनुसार बिरुवा, केरा गोडमेल गर्न चाहिने कृषि औजार सिँचाइलगायत विषयमा कृषि ज्ञान केन्द्रबाट हरेक वर्ष सहयोग प्राप्त छ। उनी अंशुवर्मा बिजवृद्धि कृषक समूहको अध्यक्षसमेत हुन्। उनले बीउबिजन उत्पादन पनि गर्दै आएका छन्। शिक्षणपछिको उनको समय खेतबारीमा बित्छ। 

पुनर्बास नगरपालिका-६ ङगाउँका विमल भण्डारी कृषि तालिमका सिलसिलामा २०७२ सालमा इजरायल पुगे। साना किसान संस्थामार्फत ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेर एक वर्ष तालिम लिएका भण्डारीले स्वदेश फर्किएपछि एक बिघाबाट केराखेती सुरु गरे।

किसान भण्डारीले भने, 'केराखेती गरेको सात वर्ष भयो, हाल छ बिघामा खेती विस्तार भएको छ, वार्षिक १० लाखभन्दा बढी आम्दानी हुन्छ।' उनले १२ बिघा खेत भाडामा लिएर छ बिघामा केरा र बाँकीमा मकै, तोरी, गहुँ र धानखेती गरेका छन्। 

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी धर्मबहादुर साउदका अनुसार यहाँ प्रतिहेक्टर २० मेट्रिक टन केरा उत्पादन हुने गरेको छ। ‘एक पालिका, एक उत्पादन’ कार्यक्रमअन्तर्गत भीमदत्त नगरपालिका  केराखेतीका लागि छनोट भएको छ। त्यसका लागि पालिकाले रु ४० लाख विनियोजन गरेको छ। रासस


प्रकाशित : बुधबार, कात्तिक १९ २०८२१०:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend