शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

केराखेतीबाट वार्षिक लाखौँ आम्दानी लिइरहेका छन् पुनर्वासका विष्णु र विमल

मंगलबार, कात्तिक १८ २०८२
केराखेतीबाट वार्षिक लाखौँ आम्दानी लिइरहेका छन् पुनर्वासका विष्णु र विमल

भारतीय केरा रोक लगाएर स्वदेशी उत्पादनलाई बढावा दिन आग्रह गरिए पनि सुनुवाइ भने नभएको उनीहरुको गुनासो छ।

महेन्द्रनगर- कञ्चनपुरको पुनर्वास नगरपालिका-१ का विष्णुराज घिमिरे जनकल्याण माध्यमिक विद्यालयका शिक्षक हुन्। तर उनको परिचय शिक्षकमा मात्रै सीमित छैन। उनी हाल व्यावसायिक कृषकको रुपमा पनि परिचित छन्।

विसं २०७५ देखि केराखेती गरेका घिमिरेले हाल साढे आठ बिघा जमिन भाडामा लिएर केराखेती गरिरहेका छन्। 'वार्षिक पाँच लाख रूपैयाँ भाडा तिर्नेगरी जमिन लिएर केराखेती गरिरहेको छु,' घिमिरेले भने, 'वार्षिक केराखेतीबाट १० लाख रूपैयाँ मुनाफा हुन्छ।'

उनले केराखेतीबाट भएको आम्दानीले प्रत्येक वर्ष क्षेत्र विस्तार गर्नाका साथै छोराछोरीको अध्ययन खर्च जुटाइरहेको बताए। 'केराको मूल्यमा उतारचढाव आउँदा कहिलेकाहीँ समस्या हुन्छ,' उनले भने, 'कञ्चनपुर जिल्ला असारदेखि माघसम्म केरामा आत्मनिर्भर भइसकेको छ।'

उनले बाह्रै महिना केरा उत्पादन गर्न यहाँ सम्भव नभएको बताए। केराखेतीबाट वार्षिक २० देखि ३० लाख रूपैयाँसम्मको कारोबार हुने गरेको बताउँदै घिमिरेले केराखेतीमा आफूले १० जनालाई ज्यालादारीमा रोजगारी पनि दिएको जानकारी दिए।

उनले गाउँमा कृषि समूहको नेतृत्व गर्दै बीउबिजन उत्पादनमा समेत जोड दिएका छन्। 'बिरुवा, केरा गोडमेल गर्न चाहिने कृषि औजारहरु सिँचाइलगायतका विषयमा कृषि ज्ञान केन्द्रबाट हरेक वर्ष सहयोग मिलेकै छ,' गाउँमा रहेको अंशुवर्मा बिजवृद्धि कृषक समूहको अध्यक्षसमेत रहेका घिमिरेले भने, 'यहाँको बेलौरी र पुनर्वास क्षेत्रमा उत्पादन भएको केराका लागि बजारको समस्या छैन, धनगढी र अत्तरियामा खपत हुँदैछ।'

त्यसैगरी, पुनर्वास नगरपालिका-६ का विमल भण्डारी कृषि तालिमका सिलसिलामा २०७२ सालमा इजरायल पुगे। साना किसान संस्थामार्फत ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेर एक वर्ष तालिम लिएका भण्डारीले स्वदेश फर्किएपछि एक बिघाबाट केराखेती सुरु गरे।

'केराखेती गरेको सात वर्ष भयो, रोजगारीका लागि विदेशिने कि भन्ने सोच यो खेतीले आउन दिएको छैन,' भण्डारीले भने, 'अहिले ६ बिघा खेतीमा लगाएको केरा खेतीबाट वार्षिक १० लाख रूपैयाँभन्दा बढी आम्दानी भएकै छ।'

कृषि पेसा अँगालेर जीविका चलाउँदै आएका भण्डारीले १२ बिघा खेत भाडामा लिएर खेती गरिरहेका छन्। भारतमा केराको उत्पादन बढ्दा त्यसको असर आफूहरुलाई पर्ने गरेको उनको भनाइ छ। उनले भने, 'भारतीय केरा रोक लगाएर स्वदेशी उत्पादनलाई बढावा दिन आग्रह गरिए पनि सुनुवाइ भएन।'

कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकृत धर्मबहादुर साउदले यहाँ प्रतिहेक्टर २० मेट्रिकटन केरा उत्पादन हुने जानकारी दिए। 'एक पालिका एक उत्पादनअन्तर्गत भीमदत्त केरा खेतीका लागि छनोट भएको छ,' उनले भने, 'त्यसका लागि ४० लाख रूपैयाँ रकम विनियोजन भएको छ।' रासस


प्रकाशित : मंगलबार, कात्तिक १८ २०८२१५:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend