शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बेमौसमी वर्षाले धान नष्ट, काटिसकेको धान कसरी गर्ने सुरक्षित?

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक १७ २०८२
बेमौसमी वर्षाले धान नष्ट, काटिसकेको धान कसरी गर्ने सुरक्षित?

तिहारलगत्तै धान काटेका किसान अहिले पानी परेसँगै चिन्तित भएका हुन्। लामो समयसम्म पानीले धान खेतमा नै भिज्दा टुसा पलाउन थालेका छन्।

गुल्मी- यही कात्तिक १०, ११ र १२ गते परेको बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट भएको छ। कृषि ज्ञानकेन्द्र गुल्मीका अनुसार हाल जिल्लामा उत्पादन हुनेमध्ये ११ प्रतिशत काटिसकेको धान पानीमा भिजेको छ। 

यस वर्ष जिल्लामा ७ हजार ९ सय ८८ हेक्टरमा धानखेती गरिएको थियो। जसमा २२ हजार ९ सय ९ मेक्ट्रिक टन धान उत्पादन हुने लक्ष्य राखिएकामा ११ प्रतिशत अर्थात् दुई हजार ५२० मेक्ट्रिक टन धान पानीले भिजेर नष्ट भएको अनुमान गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिए। 

जिल्लाको कुनै पनि ठाउँमा हालसम्म धानबालीको बीमा नगरिएको पनि उनले बताए। गुल्मीको सबैभन्दा धेरै धान उत्पादन हुने क्षेत्र चौरासी फाँटमा ९९९ हेक्टरमा धान रोपिएको थियो। जसमध्ये ४० प्रतिशत धान काटिसकेको अवस्थामा खेतमा नै भिजेको छ।

तिहारलगत्तै धान काटेका किसान अहिले पानी परेसँगै चिन्तित भएका हुन्। लामो समयसम्म पानीले धान खेतमा नै भिज्दा टुसा पलाउन थालेका छन्। जसले गर्दा धानको मूल्य र उत्पादन घटेको छ। 

इस्मा गाउँपालिका-६ का कमलप्रसाद भण्डारीले साढे चार रोपनीमा रोपेको धान यही कात्तिक ९ गते काटेका थिए। तर कात्तिक ११ गतेदेखि पानी पर्न सुरु गर्‍यो। काटिसकेको धानपानीले खेतमा नै डुबाउन थालेपछि उनले कात्तिक ११ र १२ गते १७ जना खेताला लगाएर धान उठाएर घर लगे। 

'घाम लागेकै बेला उठाउन पाएको भए थ्रेसर लगाएर झाटिन्थ्यो, धान र पराल छुट्टाछुट्टै हुन्थ्यो,' उनले भने, 'अहिले घाम लागेपछि झाँट्न सुरु गरेको, टुसा पलाएको छ।' गत वर्ष २५ मुरी धान फलेकामा यो वर्ष अधिकांश धान खेतमा नै पोखिएको गुनासो गरे। 

स्थानीय कृष्णप्रसाद घिमिरेले पनि गत असार र साउनमा ७५ रोपनीमा धान रोपेका थिए। बीउको लागि चैते ५, हाइब्रिड महेन्द्र ३०-३०, जी टेक लगायतका धान रोपेका थिए। उनको खेतमा कुल तीन सय ५० मुरी धान फल्थ्यो। जसमा दुई सय २५ मुरी तिहार अगाडि नै स्याहारेका थिए। अझै १५ रोपनी खेतको छ मुरी हुने धान काट्न बाँकी छ। तर काटिसकेको १८ रोपनी खेतको करिब ९५ मुरी धान भने पानीले डुबाएको छ। 

खेताला लगाएर कात्तिक ९ गतेका धान काटेको धान पानीमा भिजेको हो। पानी नपरेको भए ११ गते नै थ्रेसरबाट उठाउने तयारी थियो। तर पानीले उहाँको धान मात्र डुबाएन, मेहनेत र पसिना समेत डुबाएको छ।

'पानीमा धान उठाएर आउने रकमभन्दा उठाउन लाग्ने लागत बढी भएकोले उठाइन', घिमिरेले भने, 'दुई लाख ६६ हजारको धान पानीमा डुबेको छ।' चौरासी फाँटको धान प्रतिमुरी दुई हजार आठ सयमा बिक्री हुँदै आएको छ। 

किसान निराजन भण्डारीको पनि १९ रोपनी खेतमा काटेको धान भिजेको छ। 'अब त धानमा टुसा आउने बेला भयो, त्यस्तो धान बिक्री नहुने समस्या हुन्छ,' उनले भने, 'पानीमा भिजेको पराल गाईवस्तुले पनि रुचाउँदैनन्।'

गत वर्षहरूमा पनि हल्का बादल मात्रै लाग्ने तर पानी नपरेका कारण आफूले धान काटेको उनको भनाइ छ। उनको खेतमा करिब ९० मुरी धान हुन्थ्यो। अब पानीमा भिजेसँगै उत्पादन धेरै कम हुने भट्टराईको भनाइ छ।

काटिसकेको धान कसरी सुरक्षित गर्न सकिन्छ?

काटिसकेको धान वर्षामा थुप्रोमा राख्दा भिजेको ‘फङ्गस’ लाग्न सक्छ। त्यसकारण धान ढुङ्गा, प्लास्टिक वा परालमाथि राख्न कृषि ज्ञान केन्द्र कार्यालयले सुझाव दिएको छ। 

त्यसैगरी अहिले धानलाई माथिबाट प्लास्टिकले छोप्ने र वर्षा रोकिएपछि तुरुन्तै सुकाउने, सावधानीपूर्वक धुवाँको ताप प्रयोग गर्ने, धानलाई हावा प्रसार हुने ठाउँमा राख्नेलगायतका उपाय अपनाएमा क्षति कम हुने कार्यालयले जनाएको छ। रासस


प्रकाशित : सोमबार, कात्तिक १७ २०८२१३:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend