कञ्चनपुर- विगतमा अरूको खेतमा मजदुरी गरेर गुजारा चलाउने बेदकोट नगरपालिका–१ चम्फापुरका जयप्रकाश राना अहिले आफ्नै बारीमा दर्जनौँ किसानलाई रोजगारी दिनसक्ने सफल व्यावसायिक किसान बनेका छन्।
दुई दशकदेखि निरन्तर तरकारीखेतीमा संलग्न रानाले नर्सरीमा तरकारीका बिरुवासँगै उत्पादन र बिक्री गरी वार्षिक करिब १५ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्। मेहनत, सीप र आत्मविश्वासको बलमा उनले आफ्नो जीवन मात्र होइन, गाउँको कृषि अभ्यासलाई समेत परिवर्तन गरेको उनले बताए। उनका प्रेरणाले अन्य किसानलाई पनि व्यावसायिक तरकारीखेतीमा संलग्न हुन प्रेरित गरेको उनले बताए।
कडा परिश्रम, आत्मविश्वास र सीपको भरमा रानाले तरकारीखेतीलाई जीवनको प्रमुख व्यवसायमा रूपान्तरण गर्नुभएको छ। उनले बताए कि प्लाष्टिकको टनेलभित्रका हरिया बारी र उन्नत नर्सरीले स्थानीय मात्रै होइन, टाढा–टाढाका किसानलाई समेत प्रेरणा दिएको छ।
सूर्योदय हुनुअघि नै तरकारीका बिरुवा स्याहार्ने कार्यबाट उनको दिनको सुरुआत हुन्छ। राजमार्गसँग जोडिएको नर्सरीबाट बिरुवा खरिद गर्ने किसानको दिनहुँ भीड लाग्ने उनले बताए। उन्नत बीउका कारण टाढाका गाउँ र नगरका किसान पनि उनका बारीमा बिरुवा खरिद गर्न आउने गरेको उनले बताए।
रानाले काउली, गोलभेँडा, ब्रोकाउली, रायो, भण्टा, सिमला मिर्चा, प्याजलगायतका बिरुवा उत्पादन गरेका छन्। त्यही नर्सरीका बिरुवाबाट उनी आफ्नो खेतमा व्यावसायिक तरकारीखेती पनि गर्छन्। अतिरिक्त रूपमा धनियाँ, लौका, तीतेकरेला, फर्सी र काँक्रासमेत खेती गर्ने उनले बताए।
विसं २०५८ देखि निरन्तर कृषिमा संलग्न राना विगतमा अरूको खेतमा मजदुरी गरेर गुजारा चलाउँथे। 'पहिले अरूको खेतमा बेर्ना तयार गर्न, मल हाल्न, विषादी छर्किन, बिरुवा स्याहार्न जस्ता काम गर्थें,' उनले भने, 'त्यही क्रममा खेतीका तौरतरिका सिके र आफूले पनि गर्ने हिम्मत गरेँ। व्यावसायिक खेती गर्ने निधो गरी लागेँ।'
थोरै पुँजी र ठूलो जोशका साथ राजमार्ग नजिकैको खेतमा पहिलोपटक तरकारीका बिरुवाको नर्सरी सुरु गरेको विगत सम्झँदै उनले भने, 'सुरुका वर्षमा उत्पादन कम भए पनि सबै बिरुवा बिक्री भएपछि सोचेभन्दा बढी आम्दानी भयो। त्यसले आत्मविश्वास बढायो र त्यसपछि तरकारीखेती र नर्सरी दुबै सुरु गरेँ। आम्दानी बढ्दै गयो, पछि पैसाका लागि अरुसँग हात थाप्नै परेन।'
एक बिघा र चार बिघा लिजमा खेती हुने गरेको उनले बताए। नर्सरीबाट वार्षिक करिब रु पाँच लाख र तरकारीखेतीबाट करिब १० लाख रुपैयाँ आम्दानी हुने गरेको उनले बताए। 'पहिले महिनामा करिब तीन हजार पारिश्रमिक पाउथें, अहिले खेतीबाट लाखौँको कारोबार हुन्छ,' उनले हाँस्दै भने।
उन्नत बीउ, टनेलखेती र विद्युतीय सिँचाइ प्रणालीका कारण उनका उत्पादन गुणस्तरीय हुने भएकाले बजारमा सहजै बिक्री हुने उनले बताए। बजारसम्म उत्पादन पुर्याउन उनी आफ्नै अटो प्रयोग गर्ने बताए। 'पहिले साइकलमा, पछि मोटरसाइकलमा पुर्याउँथेँ, अहिले अटोमै बेच्न जान्छु,' उनले भने।
तरकारीखेतीले उनको जीवनस्तरमा ठूला परिवर्तन ल्याएको उनले बताए। पहिले कच्ची टायलको घरमा बस्ने राना अहिले चारकोठे पक्की घरमा परिवारसहित बस्नुहुन्छ। तरकारीखेतीकै आम्दानीबाट दुईवटा मोटरसाइकल पनि खरिद गरेको उनले बताए।
उनको नर्सरीका बिरुवा कञ्चनपुरको दैजी, सिसैया, महेन्द्रनगर र झलारीसम्मका किसानले बारीमै पुगेर खरिद गर्ने गरेका छन्। 'गुणस्तरीय बीउ भएकाले बजार खोज्न पर्दैन,' उनले बताए, 'किसान आफैं बारीसम्मै नगदमा बिरुवा ल्याएर लैजान्छन्।'
परिवारका सबै सदस्य खेतीमा सघाउँछन्। श्रीमती र छोरा दुवै तरकारीखेती र नर्सरीमा साथ दिने उनी बताए। 'परिवारसँग मिलेर काम गर्दा खर्च घट्छ र आम्दानी बढ्छ,' उनले बताए।
बजार विस्तारसँगै उनी आधुनिक खेतीका तालिम पनि लिनुभयो। कृषि ज्ञान केन्द्र र बेदकोट नगरपालिकाद्वारा आयोजना तालिमबाट बीउ छनोट, माटो सन्तुलन, रोग–कीरा नियन्त्रण र आधुनिक खेती प्रविधि सिकेको उनले बताए। 'तालिमले मलाई नयाँ सोच दियो, अहिले म अरू किसानलाई पनि सिकाउन सक्छु,' उनले बताए। तालिमपछि कृषि औजार र यन्त्रमा अनुदान पाएको उनले बताए।
भविष्यमा थप जग्गामा तरकारीखेती विस्तार गर्ने योजना बनाएको उनले बताए। युवालाई कृषिप्रति आकर्षित हुन आग्रह गर्दै उनले भने, 'युवाले वैदेशिक रोजगारी होइन, कृषि रोजे देश आत्मनिर्भर बन्छ। मैले मजदुर भएर काम गरेँ, अब म आफैँ रोजगार दिने किसान बनेँ।'