शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन

शुक्रबार, कात्तिक १४ २०८२
दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन

म्याग्दीको सदरमुकाम बेनी बजार नजिकै पर्ने पर्वतको जलजला गाउँपालिका–५ लेकफाँट निवासी इन्द्रप्रसाद सुवेदी दुवै आँखाबाट दृष्टिविहीन छन्। आवाजका भरमा मान्छे चिन्छन्, घरदेखि टाढा जानका लागि सहयोगी आवश्यक पर्छ।

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजार नजिकै पर्ने पर्वतको जलजला गाउँपालिका–५ लेकफाँट निवासी इन्द्रप्रसाद सुवेदी दुवै आँखाबाट दृष्टिविहीन छन्। आवाजका भरमा मान्छे चिन्छन्, घरदेखि टाढा जानका लागि सहयोगी आवश्यक पर्छ।

शारीरिक रूपमा अशक्त भए पनि सुवेदीले कृषि पेसामार्फत आत्मनिर्भर बन्न सफल भएका छन्। उनी र उनकी श्रीमतीले संयुक्त रूपमा सञ्चालन गरेको इन्द्रदेवी कृषि फार्म अहिले स्थानीय सफल उद्यमको उदाहरण बनेको छ।

कृषि फार्म सुरु गर्नुअघि सुवेदीले करिब १३ वर्ष कतार, साउदी अरब र मलेसियामा श्रम र पसिना बगाएका थिए। विदेशमा सोचेजस्तो सफलता नपाएपछि उनी स्वदेश फर्किए, तर त्यही क्रममा आँखा गुमाएका थिए।

'विदेशबाट फर्किएपछि आँखाको समस्या देखिए पनि हिम्मत हारेन,' सुवेदीले भने, 'खेतालालाई आइडिया दिएर काम गराउँछु, कामको सन्तुष्टि नै मेरो प्रेरणा हो।'

हाल सुवेदीको कृषि फार्मले पाँच जनालाई आंशिक रोजगारी दिएको छ। तरकारी र बाली उत्पादनबाट भएको आम्दानीले परिवार आत्मनिर्भर बनेको छ। उनले त्यही आम्दानीबाट छोरीलाई काठमाडौंमा विज्ञान विषयमा स्नातक तहमा पढाइरहेका छन्।

गत वर्ष उनले ८० क्विन्टल आलु उत्पादन गरी करिब चार लाख रुपैयाँ आम्दानी गरेको बताए। सुन्तलाबगैँचाभित्र बन्दा, काउली र अदुवाखेती गर्दै आएका सुवेदीले भैंसी र बाख्रापालन पनि गरेका छन्।

२० रोपनी जमिनमा सुन्तला र ३० रोपनीमा आलुखेती गरेका सुवेदीका अनुसार, कच्ची सडक पुगेकाले बजार पुर्याउन समस्या छैन। 'फोनमार्फत माग सङ्कलन गर्छु, बेनी, कुश्मा र बागलुङका व्यापारीले खातामै पैसा पठाउँछन्,' उनले भने।

जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले इन्द्रप्रसाद सुवेदीलाई 'आँट र साहस हुने हो भने शारीरिक अशक्तता बाधक बन्दैन' भन्ने प्रेरणादायी व्यक्तित्वको रूपमा लिएका छन्। गाउँपालिकाले सुवेदीलाई प्राविधिक र आंशिक आर्थिक सहयोग गरेको उनले जानकारी दिए।

त्यस्तै, पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाले सुन्तलाखेतीका लागि बिरुवा खरिद, खाडल खन्न, उपकरण खरिद र पोखरी निर्माणमा ५० प्रतिशत अनुदान सहयोग गरेको गाउँपालिकाले जनाएको छ।

सुवेदीको जीवनकथा दृढ संकल्प, साहस र आत्मनिर्भरता खोज्ने जो कोहीका लागि प्रेरणाको स्रोत बनेको छ। रासस


प्रकाशित : शुक्रबार, कात्तिक १४ २०८२१०:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend