शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

विदेशबाट फर्किएर कृषिमा 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २० २०७८
विदेशबाट फर्किएर कृषिमा 

विभिन्न सङ्घसंस्थासँग समन्वय गरी वैदेशिक रोजगारीबाट फर्किएका नेपालीको सामाजिक हित संरक्षणका क्षेत्रमा काम गर्नका लागि सहयोग गर्न पहल गर्ने संस्थाको मुख्य उद्देश्य भएको उनको भनाइ छ । 

नवलपुर- लामो समयसम्म विदेशी भूमिमा बसेर सिकेका सीप र ज्ञान स्वदेशमा नै प्रयोग गर्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का युवा उद्यमी बन्दैछन् ।  केही युवाले आफूहरू जस्तै विदेशी भूमिबाट फर्किएका 'रिटर्नी' हरूलाई आबद्ध गरेर संस्था स्थापना गर्दै दीर्घकालीन काम अगाडि बढाएका छन् । विदेशमा रहँदा सिकेको ज्ञान र सीपलाई स्वदेशमा लगाएर 'समृद्ध नेपाल, सुखी नेपाली'को सरकारी नारा सफल बनाउने उद्देश्यले तिनले 'रिटर्नी माइग्रेन्ट नेपाल' नामक संस्था स्थापना गरेका छन् । 

वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका नेपालीले सो संस्थामार्फत व्यावसायिक हुनका लागि 'रिटर्नी कृषि तथा पशुपालन कम्पनी लिमिटेड' दर्ता गरेर करोडौँको योजना अगाडि सारेका छन् । वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई सीप र क्षमतानुसारको रोजगारीको व्यवस्था गर्न निजी तथा सरकारी निकायसँग परामर्श गर्ने, उनीहरूको हितका लागि राज्यसँग समन्वयकारी भूमिका निर्वाह गर्ने र  विभिन्न अभिमुखीकरण कार्यक्रम तथा सीपमूलक तालिम सञ्चालन गर्ने उद्देश्यले संस्था स्थापना गरिएको कम्पनीका अध्यक्ष नेत्रनारायण थनेतले बताए। 

विभिन्न सङ्घसंस्थासँग समन्वय गरी वैदेशिक रोजगारीबाट फर्किएका नेपालीको सामाजिक हित संरक्षणका क्षेत्रमा काम गर्नका लागि सहयोग गर्न पहल गर्ने संस्थाको मुख्य उद्देश्य भएको उनको भनाइ छ । 

'विदेशबाट फर्किएका तर आफ्नै पुँजी लगानी गर्न नसकेर भौँतारिइरहेका पूर्वप्रवासी श्रमिकलाई सीप र क्षमताअनुसारको रोजगारीको व्यवस्था गर्ने संस्थाको योजना छ'अध्यक्ष थनेतले भने। 

कम्पनीमार्फत चिस्यान केन्द्र, एग्रो फार्म, एग्रो मार्ट, दूध प्रशोधन केन्द्र, एग्रो रिसोर्ट एण्ड रिसर्च सेन्टर निर्माणलगायत परियोजना अगाडि सारिएको छ ।  कम्पनीले जिल्ला सदरमुकाम कावासोती–१४ स्थित अग्यौलीमा १६ कठ्ठा जमिनमा  २० करोड लागतमा चिस्यान केन्द्र, मध्यविन्दु–१४ मा ११ बिघा जग्गामा  एक करोड २० लाख लागतमा फलफूल तथा तरकारी खेती, कावासोती–१५ गोडारमा एक बिघा जमिनमा  पाँच करोड लगानीमा २५ हजार लिटर क्षमताको दूध प्रशोधन केन्द्र तथगा एग्रो रिसोर्ट र कृषि सम्बन्धी रिसर्च सेन्टर निर्माण गर्ने गरी काम अघि बढाएको छ । 

कम्पनीका चिस्यान केन्द्र संयोजक भीमबहादुर महतोले संस्थाले आफ्नो पहिलो परियोजनाका रूपमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा रिटर्नी कम्पनी संस्था दर्ता गरेर काम सुरू गरेको बताए। कम्पनीमार्फत संस्थाले विदेशबाट फर्किएका तथा नेपालमा नै बसेका किसानसँग रकम उठाएर जिल्लाकै सबैभन्दा ठूलो चिस्यान केन्द्र निर्माण सुरु गरेको उनले  जानकारी दिए। 

२० करोड लागतमा देशभरका ३०० भन्दा बढी युवाको लगानीमा अग्यौलीमा तीन हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माणको काम सुरु भइसकेको छ। 


चिस्यान केन्द्र निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको छ । आगामी दुई वर्षभित्र चिस्यान केन्द्र सञ्चालन गरिसक्नेगरी काम अगाडि बढाइएको जनाउँदै भीमबहादुरले भने 'चिस्यान केन्द्रमा ५०० मेट्रिक टन क्षमताका समान ६ वटा चेम्बर रहनेछन् । एउटामा माछामासु, एउटामा २५ टन क्षमताको अटोमेसन मस्रुम कल्टिभेसन र बाँकी चार चेम्बरमा फलफूल तथा तरकारी राख्ने गरी निर्माण अगाडि बढाएका छौँ।'

कम्पनीका प्रबन्ध निर्देशक दीपेन्द्र महतोले संस्थाले सञ्चालन गर्न लागेको चिस्यान केन्द्रमा तीन वटै सरकारको लागत सहभागिता रहेको बताए।  सरकारको ५० तथा संस्थाको ५० प्रतिशत लगानीमा चिस्यान केन्द्र निर्माणको काम सुरु गरिएको दीपेन्द्रको भनाइ छ । दुबईका विभिन्न वायर हाउसमा काम गरेर स्वदेश फर्किएका नेपालीले नवलपुरमा बन्दै गरेको चिस्यान केन्द्रको व्यवस्थापनको काम हेरिरहेको उनले जानकारी दिनुभयो । चिस्यान केन्द्रसहित कम्पनीले सञ्चालन गर्न लागेको सबै परियोजनामा रिटर्नीले व्यवस्थापन हेर्ने छन् ।  रासस


प्रकाशित : शुक्रबार, फागुन २० २०७८१०:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend