शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बाह्रै महिना च्याउ उत्पादन, वार्षिक १० लाख कमाउँछन् धनगढीका मंगल

सोमबार, कात्तिक १० २०८२
बाह्रै महिना च्याउ उत्पादन, वार्षिक १० लाख कमाउँछन् धनगढीका मंगल

च्याउखेती गरिरहेका मंगलले यसबाट आफ्नो परिवारको खर्चमात्रै धानेका छैनन्, आठ जनालाई रोजगारीसमेत दिएका छन्।

अत्तरिया- कैलालीको धनगढी उपमहानगरपालिका-११, जोकैयाका मंगल चौधरीले पाँच वर्षदेखि च्याउखेती गर्दै आएका छन्। उनले सुभाष बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर च्याउखेती गर्दै आएका छन्।

पाँच वर्षअघि ६० हजार रूपैयाँ लगानीमा एउटा टनेलबाट च्याउखेती सुरु गरेका चौधरीले हाल दुई कट्ठा जग्गा भाडामा लिएर त्यसमा सातवटा टनेल बनाएर च्याउखेती गरिरहेका छन्। बाह्रै महिना च्याउ उत्पादन गर्दै आएका उनले त्यसबाट मनग्य आम्दानी गरिरहेका छन्।

चौधरीले भने, 'पहिले ज्ञान, सीप कम थियो। ६ महिनामात्रै च्याउ उत्पादन गर्थेँ। बिस्तारै अनुभव पनि बढ्यो। हाल बाह्रै महिना उत्पादन गर्न थालेको छु। आम्दानी पनि राम्रै छ।'

सातवटा टनेलबाट उत्पादन भएको च्याउ बिक्रीबाट सबै खर्च कटाएर वार्षिक १० लाख रूपैयाँ आम्दानी हुने उनले सुनाए। हाल बजारमा च्याउ प्रतिकिलो १८० रूपैयाँका दरले बिक्री भइरहेको छ। चौधरीले बजारको मागअनुसार च्याउ आपूर्ति गर्न सकिए अझै आम्दानी बढ्ने बताए।

उनले भने, 'बजारमा माग बढी छ। मैले मागअनुसार च्याउ पूर्ति गर्न सकिरहेको छैन। हाल प्रतिदिन ७० देखि ८० केजी च्याउ बिक्री गर्दै आएको छु।'

चौधरी च्याउखेतीमा लगानी कम र आम्दानी बढी हुने गरेको बताउँछन्। यसै व्यवसायबाट चार जनाको परिवारको लालनपालन, छोराछोरीको पढाइलेखाइ खर्च राम्रै चलिरहेको र बचत पनि हुने गरेको उनले जानकारी दिए। यसबाटै भएको कमाइबाट च्याउ ढुवानीका लागि एउटा विद्युतीय अटोरिक्सा पनि किनेको चौधरीले बताए।

'आफ्नो परिवारको खर्च धान्नेमात्रै होइन, आठ जनालाई रोजगारीसमेत दिएको छु', चौधरीले भने, 'हाल ज्यालादारीमा दैनिक आठ जनालाई रोजगारी दिएको छु। दैनिक प्रतिव्यक्ति ६ सयदेखि ७ सय रूपैयाँसम्म ज्याला दिने गरेको छु।' रासस


प्रकाशित : सोमबार, कात्तिक १० २०८२१५:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend