शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

यमबहादुरको व्यावसायिक किबीखेती, वार्षिक ६ लाखभन्दा बढी आम्दानी

आइतबार, कात्तिक ९ २०८२
यमबहादुरको व्यावसायिक किबीखेती, वार्षिक ६ लाखभन्दा बढी आम्दानी

जलवायु र भौगोलिक संरचनाका हिसाबले भार्से किबीखेतीका लागि उपयुक्त ठाउँ मानिन्छ।

गुल्मी- गुल्मीको सत्यवती गाउँपालिका-८ भार्सेका ५६ वर्षे यमबहादुर थापा यतिबेला व्यावसायिकरुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थालेका छन्। परम्परागत रुपमा मकै र कोदोखेती मात्र खेती गरिँदै आएको उनले बारीमा किबीका बोट देख्न सकिन्छ। उनले किबी खेतीबाट मात्रै वार्षिक ६ लाख रूपैयाँभन्दा बढी आम्दानी गर्दै आएको बताए।

सत्यवती गाउँपालिका-८ मा वडा सदस्यसमेत रहेका थापाले विगत ११ वर्षअघि व्यावसायिक रुपमा किबीखेती गर्न सुरु गरेका हुन्। उनले हाल आठ रोपनीमा यलिसन, हेवार्ड, रेड, गोल्डेन, ब्रुनो र मोन्टी गरी ६ वटा जातका किबी लगाएका छन्।

जलवायु र भौगोलिक संरचनाका हिसाबले भार्से किबीखेतीका लागि उपयुक्त ठाउँ मानिन्छ। उनले गतवर्ष किबी र बिरुवा गरी ६ लाख रूपैयाँ आम्दानी गरेका थिए। अहिले गत वर्षको तुलनामा अझै राम्रो हुने अपेक्षा गरिएको थापाले बताए।

किबी खेती गरेको तीन वर्षबाटै उत्पादन दिन थालेपछि थापालाई किबीखेती गर्ने उत्प्रेरणा जागेको हो। उनको बारीमा एउटै बोटमा ५० देखि एक क्विन्टलसम्म किबी फल्ने गरेको छ। बारीमा अहिले १५० वटा किबीका बोट छन्।

सुरुमा थापाले तार, पाइप र खम्बा बनाउनका लागि आठ लाख रूपैयाँ खर्चेर व्यावसायिकरुपमा किबीखेती गर्न सुरु गरेका हुन्।

'त्यही लगानीले अहिलेसम्म काम गरेको छ, यो बहुवर्षीय भएको कारण एकपटक लगाएपछि ५० वर्षसम्म आम्दानी लिन सकिन्छ, त्यसैले यसैमा रमाएको छु', उनले भने।

किबीमा अन्य जातका फलफूलमा भन्दा रोग खासै नलाग्ने भएको उनले बताए। 'वर्षमा दुई पटक हाँगाहरु काँटछाँट गर्नुपर्छ, गोठेमल मात्र प्रयोग गर्दै आएको छु, त्यसैअनुसार उत्पादन पनि राम्रो हुँदै गएको छ', थापाले भने।

उत्पादित किबी बजारमा २०० देखि ३०० रूपैयाँसम्ममा बिक्री भइरहेको छ। भार्सेको किबी स्थानीय बजारदेखि पाल्पा र बुटवलसम्म पुग्ने गर्दछ। उनले किबीलाई प्रशोधन गरेर गत वर्षदेखि किबीको वाइन बनाउन सुरु गरेका छन्।

बजारमा किबीको वाइनको राम्रो माग भएको थापाले बताए। किबी बिक्री गर्न बजारको खासै समस्या नभएको थापाको भनाइ छ। उनले पाँच वर्षदेखि किबीको नर्सरीसमेत गर्दै आएका छन्। उनको नर्सरीमा यतिबेला आठ हजार किबीका नयाँ बिरुवा छन्। एउटा बिरुवालाई १५० देखि २०० रूपैयाँसम्म पर्ने गर्दछ।

सत्यवती गाउँपालिकाले भार्से गाउँलाई किबीको पकेट क्षेत्र घोषणा गरी कृषकलाई उत्प्रेरित गर्दै आएको छ। किबीखेती विस्तारका लागि पालिकाबाट प्राविधिक सहयोगदेखि आवश्यकताअनुसारको तालिम, टनेल, नर्सरी तथा विरुवामा अनुदान उपलब्ध गराउँदै आएको सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले बताए।

किबीका अन्य जातमध्येमा गोल्डेन र रेड किबी सबैभन्दा राम्रो मानिन्छ। यसको मूल्य अन्य जातको किबीको भन्दा एकसय रूपैयाँ बढी पर्दछ। यसपटक गोल्डेन किबीले राम्रो मूल्य पाएको छ।

भार्सेमा पाँचवटा किबी समूह रहेका छन्। उक्त समूहमा हाल ८० जना कृष आबद्ध छन्। त्यहाँका कृषकको घरमा दशदेखि एकसय ५० बोटसम्म किबीका बोट छन्। उक्त क्षेत्रमा अहिले ४० हेक्टर क्षेत्रफलमा किबी उत्पादन हुँदै आएको छ। रासस


प्रकाशित : आइतबार, कात्तिक ९ २०८२१३:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend