शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

बेटिङ स्पोन्सर दिलाउन क्यान लविङमा, राष्ट्र बैंकसहितका निकायमा पत्र

आइतबार, कात्तिक ९ २०८२
बेटिङ स्पोन्सर दिलाउन क्यान लविङमा, राष्ट्र बैंकसहितका निकायमा पत्र

केही विज्ञहरूले भने बेटिङ कम्पनीसँगको सहकार्य खेलको विश्वसनीयता र नैतिक धरातलका लागि जोखिमपूर्ण हुने चेतावनी दिएका छन्।

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले आगामी नेपाल प्रिमियर लिग (एनपीएल)का लागि बेटिङ कम्पनीलाई स्पोन्सरका रूपमा अनुमति दिलाउन सरकारी निकायहरूमा पत्राचार गरेको छ।

मंसिर १ गतेदेखि सुरु भएर मंसिर २७ गतेसम्म चल्ने एनपीएलको दोस्रो संस्करणका लागि क्यानले नेपाल राष्ट्र बैंक, सम्पत्ति शुद्धीकरण विभाग, केन्द्रीय अनुसन्धान ब्यूरो र राजस्व अनुसन्धान विभागलगायत निकायलाई पत्र पठाउँदै नियमनसहित बेटिङ कम्पनीलाई स्पोन्सरका रूपमा सहभागी गराउन स्वीकृति मागेको उच्च स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार हाल आधा दर्जनजति अन्तर्राष्ट्रिय बेटिङ कम्पनीले एनपीएलमा सहकार्य गर्ने इच्छा देखाएका छन्। क्यानका पदाधिकारी र केही टिमका व्यवस्थापकहरूले पनि 'नियमनसहित अनुमति दिइए राज्यलाई राजस्व र खेल क्षेत्रलाई लगानी दुवै फाइदा हुने' तर्कसहित लविङ अभियान तीव्र पारेका हुन्।

क्यानका एक पदाधिकारीका अनुसार, अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटमा पनि बेटिङ कम्पनीहरू प्रायोजक बन्ने भएकाले नेपालमा पनि कानूनी ढाँचा मिलाएर नियमनसहित अनुमति दिनुपर्ने माग गरिएको हो। 'अनुमति दिएमा पारदर्शिता कायम राख्दै राज्यलाई समेत फाइदा पुग्नेछ,' ती पदाधिकारीले भने।

तर, राष्ट्र बैंकले यसबारे हालसम्म कुनै औपचारिक जवाफ दिएको छैन। नियामक निकायहरूबीच यस विषयमा छलफल चलिरहेको र कानूनीरूपमै यस्तो अनुमति दिन सकिने कि नसकिने भन्ने विषय अध्ययन भइरहेको बताइएकाे छ।

यसबीच खेल क्षेत्रका केही विज्ञहरूले भने बेटिङ कम्पनीसँगको सहकार्य खेलको विश्वसनीयता र नैतिक धरातलका लागि जोखिमपूर्ण हुने चेतावनी दिएका छन्। उनीहरूले अनलाइन बेटिङ नेपालमा कानूनी रूपमा प्रतिबन्धित रहेको अवस्थामा यस्तो प्रयासले गलत दृष्टान्त स्थापित गर्न सक्ने बताउँछन्।

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा जनकपुर सुपर किङ्स, विराटनगर किङ्स, चितवन राइनोज, कर्णाली याक्स, काठमाडौं गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी आठ टोलीको सहभागिता रहनेछ।


प्रकाशित : आइतबार, कात्तिक ९ २०८२१५:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend