शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

अलैँचीको मूल्य पाउँदा खुसी छन् किसान

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक ३ २०८२
अलैँचीको मूल्य पाउँदा खुसी छन् किसान

अलैँचीको मूल्य पनि किसानलाई उत्साहित पार्ने खालको छ। ताप्लेजुङमा प्रतिमन (४० केजी) खलैँचीको मूल्य ८८ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको व्यवसायी कमल बरालले बताए।

ताप्लेजुङ- ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन्। टिपाइको मुख्य याम चलिरहेका बेला उनीहरू दसैँ-तिहारको उत्सवभन्दा बढी बगानमै रमाइरहेका छन्। बिहानदेखि बेलुकीसम्म बगानमै खटिएका किसान धेरैजसो रात पनि भट्टिमै बस्ने थालेका छन्।

फक्ताङलुङ गाउँपालिका-६ का किसान रोशन लिम्बूका अनुसार गाईबस्तु भएका किसानका केही सदस्य मात्र बेलुका घर फर्किन्छन् बाँकी सबै बगानमै बास बस्छन्। अलैँची टिप्ने बेला गुमायो भने वर्षभरको मेहनत खेर जाने भएकाले बगानमै व्यस्त भएको उनले बताए। 

फुङ्लिङ नगरपालिका-७ का किसान खाङडु शेर्पा झन करिब एक महिनादेखि बगानमै बसिरहनु भएको छ। दसैँ परिवारसहित बगानमै मनाउनु भएको उनले तिहार पनि त्यहीँ मनाउने तयारी गरिरहेका छन्। 'चालीस वर्षदेखि अलैँचीखेती गरिरहेको छु।' उनले भने,'छिमेकी भारतको सिक्किमबाट बिरुवा ल्याएरै सुरु गरेका थियौँ।'

किसान शेर्पाको ८० रोपनी बगान टिपाइसक्ने योजना छ। तर टिपाइपछि छोडाउने, सुकाउने र भट्टिमा तयारी गर्न एक हप्ताभन्दा बढी समय लाग्ने उनको भनाइ छ। जिल्लामा बेँसी क्षेत्रमा भदौको पहिलो सातादेखि र लेकाली क्षेत्रमा मङ्सिरसम्म अलैँची टिपाइ गर्ने चलन छ।

जिल्लाका ९ स्थानीय तहमध्ये फक्ताङलुङ-७ को ओलाङचुङगोलाबाहेक सबै वडामा अलैँचीखेती हुन्छ। हाल करिब चार हजार ४५० हेक्टर क्षेत्रफलमा व्यावसायिक खेती भइरहेको छ।

अलैँचीको मूल्य पनि किसानलाई उत्साहित पार्ने खालको छ। ताप्लेजुङमा प्रतिमन (४० केजी) खलैँचीको मूल्य ८८ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको व्यवसायी कमल बरालले बताए।

अलैँचीले रोजगारी पनि सिर्जना गरेको छ। बगानमा काम गर्ने मजदुरले दैनिक ५ सय देखि ७ सय रुपैयाँसम्म ज्याला पाउँछन्। रासस 


प्रकाशित : सोमबार, कात्तिक ३ २०८२११:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend