शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

अकबरे खुर्सानी खेतीबाट वार्षिक ५५ लाख आम्दानी गर्छन् सानोदुम्माका युवा

आइतबार, कात्तिक २ २०८२
अकबरे खुर्सानी खेतीबाट वार्षिक ५५ लाख आम्दानी गर्छन् सानोदुम्माका युवा

विभिन्न तीन ठाउँमा जग्गा व्यवस्थापन गरेर खेती गर्दै आएका ठंगजीत राईले हाल चार जनालाई रोजगारीसमेत दिएका छन्।

भोजपुर- भोजपुरको पौवादुङमा गाउँपालिका-५ सानोदुम्माका युवा ठंगजीत राईले व्यावसायिक खुर्सानीखेतीबाट वार्षिक ५५ लाख रूपैयाँ आम्दानी गर्दै आएका छन्। आफ्नै गाउँमा कृषिकर्मबाट उद्यमी बन्ने लक्ष्यका साथ उनले ४२ रोपनी क्षेत्रमा करिब ३२ हजार बोट खुर्सानीखेती गरेका हुन्।

आफ्नै ठाउँमा कृषिकर्म गरेर उदाहरणीय बन्ने उद्देश्यले व्यावसायिक खुर्सानी खेतीमा जुटेको राईले बताए। करिब आठ वर्षअघिदेखि मौसमी र बेमौसमी दुवै प्रकारका खुर्सानीखेती गर्दै आएका उनी जिल्लाका परिचित खुर्सानी किसान हुन्।

'खुर्सानीखेतीबाट वार्षिक ५५ लाखदेखि ६० लाख रूपैयाँसम्म आम्दानी गर्छु', किसान राईले भने, '४२ रोपनी जग्गा भाडामा लिएर ३२ हजार हाराहारी बोट लगाएको छु। गतवर्ष पनि ५० लाख रूपैयाँभन्दा बढी आम्दानी भएको थियो।'

खुर्सानीखेतीका लागि उनले वार्षिक दुई लाख रूपैयाँ तिरेर ६५ रोपनी जग्गा भाडामा लिएको जानकारी दिए। यस वर्ष खेतीका लागि करिब १२ लाख रूपैयाँ लगानी गरेको जनाउँदै उनले युवामा विदेशप्रतिको मोह बढिरहेको समयमा आफूले भने आफ्नै बारीमा व्यावसायिक रूपमा कृषिकर्म गरिरहेको बताए।

विभिन्न तीन ठाउँमा जग्गा व्यवस्थापन गरेर खेती गर्दै आएका राईले हाल चार जनालाई रोजगारीसमेत दिएका छन्। सडक पहुँच राम्रो भएकाले उत्पादन भएको खुर्सानी घरबाटै बिक्री गर्न सहज भएको उनको भनाइ छ।

पौवादुङमामा उत्पादन भएको खुर्सानी धरान, इटहरी, विराटनगर, झापा र काठमाडौंसम्म बिक्रीका लागि पठाउने गरिएको गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिए। उनका अनुसार खुर्सानीखेती अहिले पालिकाको मुख्य आम्दानीको स्रोत बनेको छ।

किसानलाई व्यावसायिक योजनाका आधारमा सहयोगका कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाका अध्यक्ष किरण राईले बताए। 'अकबरे खुर्सानी हाम्रो गाउँपालिकाको प्रमुख आम्दानीको स्रोत बनेको छ', उनले भने, 'हामीले कृषि क्षेत्रमा लगानी बढाउँदै भूगोल सुहाउँदो खेतीमा जोड दिइरहेका छौँ।'

गाउँपालिकाले कृषि एम्बुलेन्स खरिद गरेर स्थानीय उत्पादनको बजारीकरणमा समेत सहयोग पुर्‍याउँदै आएको छ। खुर्सानीखेतीको विस्तारका लागि गत आर्थिक वर्षमा गाउँपालिकाले ७५० किसानलाई करिब ७० लाख रूपैयाँबराबरको ‘मल्चिङ प्लास्टिक’सहित आवश्यक कृषि सामग्री वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए।

गाउँपालिकाले सञ्चालन गरेको सहयोगात्मक कार्यक्रमका कारण यस वर्ष खेती विस्तार भएको उनको भनाइ छ। उनका अनुसार अहिले पौवादुङमामा करिब ५०० हेक्टर क्षेत्रमा करिब ९०० किसानले व्यावसायिक रूपमा अकबरे खुर्सानीखेती गर्दै आएका छन्। रासस


प्रकाशित : आइतबार, कात्तिक २ २०८२१४:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend