शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

रिममायाको बारीमा बाह्रैमास फल्छ तरकारी, वार्षिक ९ लाख आम्दानी

आइतबार, कात्तिक २ २०८२
रिममायाको बारीमा बाह्रैमास फल्छ तरकारी, वार्षिक ९ लाख आम्दानी

तरकारीको बजार व्यवस्थापनमा समस्या नभए पनि पानीको अभाव हुँदा उत्पादन बढाउन समस्या भएको रिममाया बताउँछिन्।

बागलुङ- ढोरपाटन नगरपालिका-४ खुङ्गाकी रिममाया बुढाथोकी सात वर्षअगाडि छोराछोरी पढाउनका बागलुङ बजार झरेकी थिइन्। गाउँबाट बजार झरेकी रिममायालाई सुरुमा घुलमिल हुन निकै गाह्रो भएको थियो। बिहान बेलुका छोराछोरीसँग बिताए पनि दिनमा एक्लै बस्नुपर्थ्यो। दिनमा केही काम गर्ने सोच बनाए पनि बजारमा काम पाइएन।

आफू बस्ने ठाउँ वरपरका स्थानीयले व्यावसायिक तरकारीखेती गरेको देखेपछि उनलाई बारीमा काम गर्ने इच्छा जाग्यो। त्यसपछि जग्गा भाडामा लिएर उनले तरकारीखेती गर्न थालिन्। अहिले उनी बजारमा उत्कृष्ट महिला किसानका रूपमा परिचित छिन्।

बागलुङ नगरपालिका-४ ओढारचौरमा बुढाथोकीले तरकारीखेती सुरु गरेको चार वर्ष भयो। बजारनजिकै तरकारी फलाउने हुँदा बिक्री नहुने समस्या छैन। उनको बारीमा बाह्रै महिना तरकारी फल्छन्।

बुढाथोकीले तरकारीसँगै पोहोर सालदेखि च्याउखेती पनि सुरु गरेकी छिन्। विसं २०७५ मा श्रीमान् र छोराछोरीसँगै बागलुङ झरेकी बुढाथोकीले बागलुङ नगरपालिका-४ मा १५ रोपनी जमिन वार्षिक ८३ हजार रूपैयाँ भाडा तिर्नेगरी लिजमा लिएर चारवटा च्याउ र तीनवटा टमाटरका टनेल निर्माण गरेकी छिन्।

च्याउ, टमाटर, लौका, घिरौला, बोडी, सिमी, खुर्सानी, धनियाँ, साग, भेन्टा र विभिन्न तरकारीसँगै बुढाथोकीको बारीमा मसलाजन्य अदुवा र बेसार पनि उत्पादन हुन्छ। अहिलेसम्म २५ लाख रूपैयाँभन्दा बढी लगानी गरेको उनले बताइन्।

बुढाथोकीले भनिन्, 'सुरुमा दिन कटाउन गाह्रो भएको थियो, अहिले दिनभर बारीमा काम गर्दा कतिबेला साँझ पर्छ पत्तै हुँदैन, यतिकै बस्नुभन्दा केही उद्यम गर्दा राम्रो हुन्छ भन्ने हिसाबले तरकारीखेती गर्न थालेकी थिएँ, अहिले राम्रो हुँदै गएको छ, बजार यहीँ भएको हुँदा बिक्री वितरणमा समस्या छैन, कतिपय उपभोक्ता त बारीमै आएर तरकारी किन्नुहुन्छ।'

बुढाथोकीले तरकारीबाट चार लाख रूपैयाँ र च्याउबाट पाँच लाख रूपैयाँ गरी वार्षिक नौ लाख रूपैयाँ आम्दानी गर्न थालेको बताइन्। तरकारीखेती गर्न थालेपछि बुढाथोकीले गरिमा कृषि फार्म दर्ता गरेकी छिन्। मासिक तलब दिएर एक जनालाई रोजगारीसमेत दिएकी छिन्। रिममायालाई श्रीमान् कपिल र छोराछोरीले पनि समयसमयमा सघाउँछन्।

बुढाथोकीले तरकारीखेती विस्तार र व्यवस्थापन गर्न समयसमयमा विभिन्न निकायबाट सहयोग पनि प्राप्त गरेकी छिन्। उनले यसै वर्ष उद्यमशीलता कार्यक्रमअन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट च्याउखेतीका लागि टनेल व्यवस्थापन गर्न चार लाख रूपैयाँ सहयोग प्राप्त गरेको बताइन्।

अनुदान पाएपछि उत्पादन वृद्धि गर्न सहज भएको उनको भनाइ छ। तरकारीको बजार व्यवस्थापनमा समस्या नभए पनि पानीको अभाव हुँदा उत्पादन बढाउन समस्या भएको उनले सुनाइन्।

अघिल्लो वर्ष कृषि ज्ञान केन्द्रबाट दुईवटा टमाटर टनेल र यस वर्ष मसला बाली व्यवस्थापनका लागि प्रविधि सहयोग प्राप्त गरेको उनले बताइन्। बागलुङ नगरपालिकाबाट समेत तीन वर्ष पहिले सहयोग प्राप्त गरेको बुढाथोकीको भनाइ छ। सिँचाइका लागि पानीको सुविधा नहुँदा समस्या भोग्नुपरेको उनले गुनासो पोखिन्।

कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले किसानलाई प्रोत्साहन गर्न अनुदानसहित प्राविधिक सहयोग गर्दै आएको बताए। समयसमयमा फार्ममै पुगेर परामर्शसमेत प्रदान गर्ने गरेको उनको भनाइ छ।

बजार क्षेत्रमै राम्रो तरकारी उत्पादक किसानको छवि बनाएकी बुढाथोकीलाई आवश्यक तालिम र उपकरण पनि दिने प्रमुख सिलवालले बताए। पछिल्लो समय बागलुङमा धेरै किसान तरकारीखेतीतर्फ आकर्षित भइरहेको उनी बताउँछन्। यहाँ उत्पादन भएको तरकारीले बजार नपाउने समस्या नभएको सिलवालको भनाइ छ।


प्रकाशित : आइतबार, कात्तिक २ २०८२१३:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend