शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

आँधीखोला गाउँपालिकामा फूलबारी-पूवाडाँडा सडक कालोपत्र

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन १९ २०७८
आँधीखोला गाउँपालिकामा फूलबारी-पूवाडाँडा सडक कालोपत्र

वालिङ- स्याङ्जाको आँधीखोला गाउँपालिका- ३ स्थित फूलबारी-पुवाडाँडा सडक कालोपत्र गरिएको छ। गाउँपालिकाको केन्द्रदेखि सबै वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्र गर्ने नीतिअनुरुप वडा नं ३ सम्म पुग्ने सडक कालोपत्र गरी सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौडेलले जानकारी दिए।

'स्थानीयस्तरमा उत्पादन भएका कृषिजन्य, पुशपक्षीजन्य उत्पादनको बजारीकरणकासाथै मानिसलाई आवातजावतमा पनि सहजता पुग्ने गरी सडक कालोपत्र गरेका हौं' उनले भने, 'ग्रामीण भेगलाई बजारसँग र बजारलाई ग्रामीण भेगसँग जोडी सामाजिक तथा आर्थिक विकासमा यस सडकले महत्वपूर्ण भूमिका खेल्ने छ।'

डेढवर्ष अघि ४ करोड ९९ लाख ९८ हजार रूपैयाँको लागत अनुमानमा बोलपत्र आह्वान गरिएकोमा ४ करोड ३१ लाखमा गीता र क्रियटिभ जेभी स्याङ्जाले सडक निर्माण सम्पन्न गरेको हो।

ठेक्का सम्झौता अनुसार पक्की नाली, ट्राफिक सङ्केत र पेन्टिङसहित २.७ किलोमिटर सडक निर्माण गरिएको हो।

गण्डकी प्रदेश सरकारको १ करोड, सङ्घीय सांसद विकास कोषबाट ५० लाख रूपैयाँ र बाँकी गाउँपालिकाको लागत साझेदारीमा उक्त सडक निर्माण सम्पन्न भएको अध्यक्ष पौडेलले जानकारी दिए। पाँच मिटर चौडाइ रहेको उक्त सडक निर्माण कम्पनीले निर्धारित समयमै निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको हो। रासस


प्रकाशित : बिहीबार , फागुन १९ २०७८०८:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend