भक्तपुर- यस पटकको तिहारमा सयपत्री र मखमली फूलको मूल्य वृद्धि भएको छ। घरघरमै व्यापारी र बिचौलिया फूल लिन आउन थालेपछि मूल्य वृद्धि भएको हो।
भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका-७ गुण्डुदेखि चाँगुनारायण नगरपालिका-९ ताथलीसम्मका किसानलाई प्रतिस्पर्धामा व्यापारीले घरघरमै गएर मूल्य बढी तिरेर फूल लिइरहेका छन्।
आइतबारदेखि तिहार सुरु हुँदैछ। तिहारको संघारमा फूल र मालाको मूल्य वृद्धि भएपछि उपभोक्ता भने मारमा परेका छन्। व्यापारीले आज एउटा मखमली फूलको माला ८० रूपैयाँमा बिक्री गरिरहेका छन्। गुण्डुका किसानबाट भने शुक्रबारसम्म मखमली फूलको प्रतिमाला २२ रूपैयाँदेखि २५ रूपैयाँसम्ममा खरिद गरेका किसानहरूले जनाएका छन्।
गुण्डुका पुष्प व्यवसायी रामेश्वर बस्नेतले आजबाट घरदैलोमा आएका व्यापारीले किसानबाट ३० रूपैयाँदेखि ३५ रूपैयाँमै मखमली फूलको माला लिन थालेको र बजारमा प्रतिमाला ८० रूपैयाँदेखि ९० रूपैयाँमा बिक्री गर्न थालेको बताए। किसानले भन्दा व्यापारी र बिचौलियाले तेब्बर मूल्यमा बिक्री गर्न थालेपछि उपभोक्ता मारमा परेको उनले गुनासो गरे।
चाँगुनारायण-९ का स्थानीय पुष्प कृषकले ३० रूपैयाँमा माला बिक्री गरेकामा तिहार आएसँगै मूल्य बढेको बताएका छन्।
भक्तपुरको गुण्डुकी मीना नगरकोटीले १५ वर्षदेखि व्यावसायिकरूपमा फूल तथा माला बिक्री गर्दै आएकी छिन्। यसपटक तिहार आएसँगै व्यापारी र बिचौलिया नै प्रतिस्पर्धामा मूल्य बढाएर किसानको घरघरबाटै फूल उठाउन थालेको उनले बताइन्।
स्थानीय उर्मिला नगरकोटी तिहारको बेला फूल र मालाको व्यापारबाटै एउटा परिवारले एक लाखदेखि तीन लाख रूपैयाँसम्म आम्दानी गर्ने गरेको बताउँछिन्। उनका अनुसार गुण्डुबाट मात्रै एक वर्षमा पाँच करोड रूपैयाँभन्दा बढीको फूल उत्पादन तथा बिक्री हुने गरेको छ।
स्थानीय अनिता बस्नेतले यसवर्ष आफ्नो साढे दुई रोपनी जग्गामा गरेको फूलखेतीबाट तीन लाख रूपैयाँ आम्दानी गरेको बताइन्। सयपत्री फूललाई स्थानीयले मुठा बनाएर बिक्री गर्ने गरेका छन्। चार-पाँच वटा सयपत्री फूलको मुठा पारेर एक मुठाको २० देखि २५ रूपैयाँसम्ममा बिक्री हुने गरेको उनले सुनाइन्।
सयपत्री फूललाई पाथी तथा ढ्वाङ्मा भरेर पनि बिक्री गरिन्छ। ढ्वाङ्मा करिब तीन पाथीभन्दा बढी हुन्छ। किसानले सयपत्री ढ्वाङ्को सातसय रूपैयाँसम्म बिक्री गरेको र बजारमा भने किलोमा चारसय रूपैयाँदेखि पाँचसय रूपैयाँमा बिक्री हुने गरेको बस्नेतले बताइन्।
यहाँका कृषकले एकै घरबाट ३० हजारदेखि तीन लाख रूपैयाँसम्मको सयपत्री फूल बिक्री गर्ने गरेका छन्।
मध्यपुरथिमि नगरपालिका-५ राधेराधेस्थित पूजा पसल सञ्चालक कमलनाथ पौडेलले सयपत्री फूल किलोको ४५० रूपैयाँमा र मखमली फूलको माला ७० रूपैयाँमा बिक्री भइरहेको बताए। फूलको मूल्य भोलीबाट अझै बढेर आउने उनले बताए।
यसवर्ष लामो झरी र बर्सातका कारण सयपत्री फूल मरेर उत्पादन कम भएपछि महँगो भएको पुष्प व्यवसायी रामेश्वर बासीले बताए। उनले टनेलबाहिर खल्ला रूपमा भएका फूलखेती सबै नष्ट भएको र टनेलमा लगाएको फूल बजारमा आएकाले मूल्य वृद्धि भएको बताए। रासस