पाल्पा- तानसेन नगरपालिका-७ काजीपौवाका गम्भीरजंग रायमाझीलाई पैसा कमाउन विदेश पलायन हुने सोच कहिल्यै आएन। बरु गाउँघरमै आफ्नो बारीमा खेती गर्न पाउँदा उनी औधी रमाउँछन्।
नेपाली विषयमा स्नातकोत्तर गरेका रायमाझी १६ वर्ष उमेरदेखि नै व्यावसायिक कृषिमा लागेका हुन्। अहिले उनको दैनिकी बारीमा फल्दै गरेका कृषिजन्यउपजको रेखदेखबाट सुरु हुन्छ।
बिहान सबेरै उठेर तरकारीमा पानी लगाउनेदेखि गोडमेल सकेर ६ बजे नै नजिकैको क्याम्पस र एक सामुदायिक स्कुलमा पढाउन पुग्छन्। बिहान ४ बजेसम्म अध्यापनमै व्यस्त रायमाझी छुट्टी भएपछि भने घर फर्किएर पुनः कृषि कर्ममै लाग्छन्। उनलाई सघाउन माइलो भाइ सुरेन्द्र र कान्छो भाइ सुरज पनि बारीमा पुग्छन्। गोलभेँडा, काउली, बन्डा, करेला र खुर्सानी खेतीको गोडमेलमै उनीहरूको दैनिकी बित्छ।
तीन दाजुभाइ मिलेर काजीपौवास्थित आफ्नै १३ रोपनी जग्गामा लोभलाग्दो खेती गरिरहेका छन्। माइलो भाइ सुरेन्द्रले पनि डिग्री गरेका छन् भने कान्छो भाइ सुरजले होटल व्यवस्थापनमा स्नातक अध्ययन गरेका छन्। पढाइ सकेर दाजुभाइले गाउँमै व्यावसायिक कृषिमा रमाएको देखेर छिमेकी छक्क परेका छन्। उनीहरुले रायमाझी एकीकृत कृषि तथा पशु फर्ममार्फत व्यावसायिक तरकारीखेती गर्दै आएका छन्।
ठूलो बुबा कमल र आमा गीतादेवीको प्रेरणाबाट १६ वर्षको उमेरदेखि नै व्यावसायिक कृषिमा लागेको गम्भीरजंग बताउँछन्। उनी भन्छन्, 'मेरो हजुरबुबा कृषि गर्नुहुन्थ्यो, उहाँको सिको गरेर मेरा ठूलो बुबाले पनि कृषि नै गर्नुभयो, आमा सुन्तला जात तथा फलफूल विकास केन्द्र बागवानीमा काम गर्नुहुन्छ, जसको काम देखेर मलाई पनि कृषि गर्नुपर्छ भन्ने सोच पलाएको हो।'
कक्षा ९ पढ्दादेखि नै बारीमा काउली, बन्डा, सिमी फलाएर ढाक्रामा राखेर घर-घरमा बेच्न लैजाने गरेको गम्भीरजंग सम्झन्छन्। उनले तरकारी बेचेरै पढाइ खर्च चलाउने मात्र होइन, घरसमेत खडा गरेका छन्। तरकारी बिक्रीबाटै उहाँहरूले वार्षिक ५ देखि ६ लाखसम्म आम्दानी गर्दै आएका छन्।
तानसेन नगरपालिका-१२ अवलका ३४ वर्षीय युवा नारायण राना पनि कृषि पेसामै रमाएका छन्। भेटनरी अध्ययन गरेमन उनी २०६८ सालदेखि नै मौसमी तरकारी उत्पादन गर्नुको साथै बाख्रा, कुखुरा, बंगुरपालन गर्दै आएका छन्। गएको वर्ष उनले कृषि र पशुपालनबाट तीन लाख रूपैयाँ आम्दानी गरेका थिए।
उनले भने, 'पहिलोपटक २०६९ मा पशु अस्पताल तथा विज्ञ केन्द्र पाल्पाबाट अनुदान पाएको थिएँ। त्यही अनुदानबाट मलाई व्यावसायिक कृषि, पशुपालनमा लाग्न उत्प्रेरित गरेको हो।' विदेश जान मन नलागेर कृषिमा लागेको उनले सुनाए। 'भविष्य यसमै देखेर व्यावसायिक रूपमा कृषि, पशुपालनमा लागेको हुँ', उनले भने।
यादवप्रसाद घिमिरेले पनि गाउँमै कृषि कर्मबाट मनग्य आम्दानी गर्दै आएका छन्। कक्षा १२ को अध्ययनपछि कोरिया जाने तयारीमा रहेका घिमिरे विदेशको सपना त्यागेर कृषि कर्ममा लागेका हुन्। उनले अहिले विवेक कृषि तथा पशुपालन फर्म दर्ता गरेर व्यावसायिक कृषि गरिरहेका छन्। उनले १७ रोपनी जग्गामा तरकारी, मौसमी फलफूल उत्पादन गर्दै आएका छन्। घिमिरेले मौसमी फलफूल केराका ६ हजार, दराईका एक हजार बोट र अन्य तरकारी लगाएका छन्।
उनले भैँसीपालनसमेत गर्दै आएका छन्। कृषिबाट घिमिरेले वार्षिक ६ लाखसम्म आम्दानी गर्दै आएको बताए। वर्षभरि घरपरिवारसँगै बसेर काम गर्दा लाखौँ आम्दानी गर्न सकिने भएकाले विदेश गएर परिश्रम गर्नुभन्दा स्वदेशमै स्वरोजगार बन्नु उपयुक्त हुने घिमिरेले सुझाए। कृषिबाटै राम्रो भविष्य रहेको भन्दै उनले गाउँमा भएका बाँझो जमिन समेत भाडामा लिएर व्यवसायलाई थप विस्तार गर्ने योजना बनाएको बताए।
रैनादेवी छहराका युवा कृषक सरोज कार्कीका दौँतरीहरू पैसा कमाउन कोही लाहुरे भए, कोही विदेसिए। केही जागिरे भए त कोही गाउँ नै छाडे। तर उनलाई पैसा कमाउन कतै जानु परेन। आफ्नै बारीमा तरकारी, फलफूलका बिरुवा र सुन्तलासहित अन्तर बाली प्रणालीमा रमाइरहेका छन्। बाह्रै महिना भ्याइनभ्याइ छ उनलाई।
हिउँदभर सुन्तला र वर्षामा फलफूलका बिरुवा बिक्री गर्न व्यस्त उनको बारीमा मौसमी तथा बेमौसमी तरकारी पनि फस्टाएको छ। 'सुन्तला, तरकारी र बिरुवाबाट वर्षमा पाँच लाख बचत भएको छ', उनले भने, ‘कृषिमै भविष्य खोजेर लागे अहिले मलाई यही सन्तुष्टि मिलेको छ।'
दुई वर्षसम्म काम गरेको दुवईको जागिर छोडेर जैविक तरकारीखेतीमा होमिएका तिनाउका थर्कबहादुर गाहा नमुना किसानमा दरिएका छन्। उनले गरेको तरकारी खेती हेर्न र सिक्नका लागि जिल्लाका विभिन्न ठाउँका कृषकहरू उनको बारीमा आउने गर्छन्। पाँच लाख रूपैयाँ लगानी गरेर तरकारीखेती थालेका उनले अहिले तरकारीखेतीमै परिवारका पाँचजनालाई पूर्णकालीन रोजगारी पनि दिएका छन्। दश रोपनी जग्गामा आधुनिक प्रविधिबाट तरकारी खेती गर्दै आएका गाहाले वर्षमा पाँच लाख रूपैयाँसम्म कमाउने गरेको बताउँछन्।
कुनै बेला विदेशबाहेक अन्य रोजगारीको विकल्प नदेख्ने जिल्लाका थुप्रै युवाहरू अहिले कृषि पेसालाई राम्रो रोजगारीको माध्यम बनाइरहेका छन्। पुर्खादेखिको गुजारामुखी परम्परागत खेती गर्ने परिपाटीलाई सुधार गरेर युवाहरू व्यावसायिक हुन थालेपछि धेरैले गाउँघरमा नै रोजगारी पाएका छन्। कतिपय युवाहरूले ठूलो लगानी गरेर फलफूलखेतीको थालनी समेत गरेका छन्।
उच्च शिक्षा अध्ययन गरेका युवाहरू कृषिमा संलग्न भएपछि पढेका मानिसले खेतीको काम गर्दा बेइज्जत हुन्छ भन्ने गलत मान्यता पनि बिस्तारै हराउँदै जान थालेको छ। पछिल्लोपटक युवापुस्ता कृषितिर लागेको कृषि ज्ञान केन्द्र पाल्पाका प्राविधिक सहायक सुरज पाण्डेले बताए। व्यावसायिक कृषकलाई सरकारी अनुदान, आवश्यक प्राविधिक तालिम, बीउ, मल औषधि दिएपछि किसानहरू बढिरहेको उनको भनाइ छ।
जिल्लामा ६७१ कृषि फर्म सञ्चालनमा रहेको पाण्डेले जानकारी दिए। केन्द्रले विशेषगरी युवाहरूलाई कृषिमा जोड्न आफ्ना अनुदानका कार्यक्रमहरू केन्द्रित गर्दै आएको उनले बताए।
व्यावसायिक कृषि क्षेत्रमा युवाहरूको संलग्नता बढेसँगै कृषिजन्य उत्पादनको आयातसमेत प्रतिस्थापन हुन थालेको छ। जिल्लामा केही वर्षयता पशुपालनमा समेत कृषकहरू आकर्षित भएको जिल्ला भेटनरी अस्पताल तथा पशुविज्ञ केन्द्रका प्रमुख दुर्गाप्रसाद खनालले बताए। उनले भने, 'पशुपालनमा लाग्नेमा अधिकांस युवाहरू रहेका छन्।'
व्यावसायिक रूपमा लाग्ने कृषकहरूलाई अनुदान, प्राविधिक सहयोग दिँदै आएको प्रमुख खनालले बताए। यहाँका स्थानीय सरकारले समेत युवालक्षित कार्यक्रममार्फत युवाहरूलाई कृषिमा जोड्दै आएका छन्।
स्थानीय तहको प्राथमिकतामा कृषि
यहाँका रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, बगनासकाली गाउँपालिका, रामपुर नगरपालिका, तानसेन नगरपालिका, निस्दी गाउँपालिका, रम्भा गाउँपालिका, पूर्वखोला गाउँपालिका, तिनाउ गाउँपालिका, माथागढी गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममै कृषिलाई प्राथमिकता दिएका छन्।
कृषिबाटै आमनागरिकको आर्थिक समृद्धि हुने भएकाले कृषिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताए। उनले भने, 'हामीले विशेषगरी अकबरे खुर्सानी, बेसार र अन्य मौसमी, बेमौसमी तरकारीलाई बढी प्राथमिकता दिएका छौँ।'
युवा कृषकहरू समेत उत्साहित भएर व्यावसायिक कृषिमा लागेको अध्यक्ष कार्कीले बताए। स्थानीय सरकारबाट बीउबिजन, अनुदानका कार्यक्रमले कृषकहरू व्यावसायिक रूपमा आकर्षित भएको उनको भनाइ छ। यहाँ बजारीकरणको समस्या समेत नभएको अध्यक्ष कार्कीले बताए। उनले भने, 'कृषकले उत्पादन गरेका कृषि उपज स्थानीय सहकारीमार्फत बजारीकरणको व्यवस्था गरेका छौँ।'
जिल्लाका अन्य स्थानीय तहमा समेत बजारीकरणको कुनै समस्या नभएको सम्बन्धित स्थानीय तहका कृषकहरू बताउँछन्। यहाँ कतिपय स्थानमा युवाहरूले सामूहिक कृषि गरेका छन् भने केहीले एकलरूपमै व्यवसाय सञ्चालन गर्दै आएका छन्। व्यावसायिक कृषि र पशुपालन गर्ने व्यक्ति आफूमात्रै रोजगार भएका छैनन् धेरैलाई रोजगारीसमेत दिएका छन्।
मेहनतका साथ काम गर्दा स्वदेशमा नै विदेश जाँदाभन्दा मनग्य आम्दानी गर्न सकिन्छ भन्ने धेरैले प्रमाणित गरेका छन्। व्यावसायिक कृषि र पशुपालनमा सफल भएका कृषक धेरैका लागि प्रेरणाको स्रोतसमेत बनेका छन्। पछिल्लो समय दिन प्रतिदिन युवा शिक्षा तथा रोजगारीका लागि विदेश जान थालेपछि गाउँ सुनसान बन्दैछन्। सुनसान गाउँका खेतीयोग्य जमिनमा वनमारा पलाउन थालेका छन्।
गाउँमा भएका बालबालिका पढ्न बजार आउन थालेका छन्। अहिले धेरैको रोजाइ विदेश र सहर/बजार पर्न थालेका बेला पाल्पाका केही युवाहरु भने व्यावसायिक कृषिमा आकर्षित भएका छन्। रासस