शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

किसानलाई धान काट्ने चटारो

बुधबार, असोज २९ २०८२
किसानलाई धान काट्ने चटारो

धान स्याहार्ने समयमा दाङसहित देशका विभिन्न ठाउँमा परेको अविरल वर्षाले पाकेको धानमा केही क्षति पुगेको किसान बताउँछन्।

दाङ- लमही नगरपालिका-३ की ४२ वर्षीया सीता चौधरी सोमबार बेलुका ५ बजे खेतमा धान काट्दै थिइन्। धान काट्दै गरेको अवस्थामा भेटिएकी उनले भनिन्, 'अहिले मौसम खुलेको छ। धान पाकेर पहेँलै भएकाले बिहानदेखि बेलुकासम्म खेतमै धान काट्न व्यस्त हुने गरेका छौँ।'

देउखुरी क्षेत्रमा अधिकांश ठाउँमा सिँचाइ सुविधा पुगेकाले समयमै धान रोपाइँ हुने र छिट्टै पाक्दा दसैँलगत्तै धान काट्न तथा काटेको धान सुकाएर दाइँ गर्न थालिसकिएको उनले बताइन्।

दसैँअगाडि नै धान पाकेर पहेँलै भएकाले किसानले काट्न सुरु गरेका छन्। अहिले मौसम अनुकूल भएपछि भित्र्याउन सुरु गरेको उनीहरुको भनाइ छ। धान स्याहार्ने समयमा दाङसहित देशका विभिन्न ठाउँमा परेको अविरल वर्षाले पाकेको धानमा केही क्षति पुगेको किसान बताउँछन्।

वर्षा भए पनि बाढी नआएकाले ठूलो नोक्सानी व्यहोर्नु नपरेको चौधरी बताउँछिन्। 'अहिले त्यस्तै वर्षा भएमा ठूलो क्षति हुने डरले बिहानदेखि बेलुकासम्म धान काट्न व्यस्त छौँ', उनले भनिन्।

सीतामात्र होइन अहिले देउखुरी क्षेत्रका अधिकांश किसान बिहानैदेखि बेलुकासम्म धान काट्न तथा बाली भित्र्याउन व्यस्त देखिन्छन्। तिहारको समय नजिकै आइरहँदा किसानलाई धान काट्न चटारो छ। उनीहरूले काटेको धान चाँडै भित्र्याउनका लागि खेतसँगैका सडक किनारामा सुकाउन थालेका छन्।

यतिखेर दाङको देउखुरी क्षेत्रमात्र नभइ सिँचाइ सुविधा पुगेका जिल्लाका अन्य क्षेत्रमा पनि बिहानैदेखि बेलुकासम्म किसान खेतमा धान काट्न व्यस्त देखिन्छन्। कतै काटेको धान थ्रेसरबाट दाइँ गर्न लागेका देखिन्छन्। बिहानैदेखि खेतमा धान काट्न आउने गरेको र बेलुकामात्र घर फर्कने गरेको लमही नगरपालिका-३ का ६० वर्षीया सावित्रा भण्डारी बताउँछिन्। 

उनी भन्छिन्, 'मौसम परिवर्तन भइ पानी परेमा पाकेको धानमा क्षति हुन्छ। वर्षभरि खानपुग्ने खेती बिग्रिएमा कसरी परिवार पाल्ने भन्ने पिरलो लाग्छ। तिहारका लागि रोटी पकाउने, घर सरसफाइलगायतका सबै काम छाडेर सबै जना बिहानदेखि बेलुकासम्म खेतमै व्यस्त छौँ।'

देउखुरीमा मात्र होइन, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, पश्चिम दाङका दंगीशरण, शान्तिनगर, बबई गाउँपालिकामा पनि धान पाकेर पहेँलै भएको छ। त्यहाँका किसानले पनि धान काटन सुरु गरिसकेका छन्।

दंगीशरण गाउँपालिका-३ रावत गाउँका माइली चौधरी बिहानैदेखि धान काट्न सुरु गरेको बताउँछिन्। तीन बिघा जमिन भाडामा लिएर धानखेती गरेको बताउने उनले पानी पर्छ कि भन्ने डरले बिहानैदेखि बेलुकासम्म खेतमै हुने गरेको बताइन्।

जिल्लामा ३७ हजार दुई सय २५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार यहाँका किसानले यस वर्ष सावित्री, राधा-४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, यूएस ३१२ लगायतका वर्णशंकर जातका धान लगाएका थिए। यस्तै कम पानी हुने ठाउँमा सुक्खा-१, सुक्खा-२, सुक्खा-३ जातका धान लगाएका थिए। रासस


प्रकाशित : बुधबार, असोज २९ २०८२११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend