शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

फूल व्यवसायबाट गाउँमै लाखौँ कमाइ गर्छन् लहानका शिवजी

बुधबार, असोज २९ २०८२
फूल व्यवसायबाट गाउँमै लाखौँ कमाइ गर्छन् लहानका शिवजी

फूलखेतीमार्फत मात्र उनले वार्षिक २५ लाख रूपैयाँसम्मको आम्दानी लिने गरेका छन् भने १० जनालाई रोजगारीसमेत दिएका छन्।

सिरहा- विदेशी भूमिमा कामको खोजीमा समय बिताएका लहान नगरपालिका-३ का शिवजी महतो अहिले आफ्नै गाउँमा लाखौँ कमाइ गर्न सफल भएका छन्। भारतका विभिन्न सहरमा वर्षौँदेखि पसिना बगाएका महतोले अहिले सिरहाको लहानमा फूलखेतीमार्फत आम्दानी गरिरहेका छन्।

महतोले १४ वर्षअघि दुई कट्ठा जमिनबाट सुरु गरेको व्यावसायिक फूलखेती अहिले दुई बिघामा विस्तार भइसकेको छ।

उनले मुख्यतया तिहार पर्व र विवाहको यामलाई लक्ष्य गरी मखमली, सयपत्रीलगायतका फूल उत्पादन गर्दै आएका छन्। 'नर्सरीको व्यापार वर्षको केही महिना मात्र चल्ने भएकाले फूलखेती सुरु गरेको हुँ। अहिले फूल र नर्सरी दुवैबाट मनग्य आम्दानी भइरहेको छ', महतोले भने।

हाल उनले नर्सरीमा लिची, आँप, सुनकागतीलगायतका झन्डै ६० हजार बिरुवा उत्पादन गर्दै आएका छन्। फूलखेतीमार्फत मात्र वार्षिक २५ लाख रूपैयाँसम्मको आम्दानी हुने गरेको उनले बताए। साथै महतोले १० जनालाई रोजगारीसमेत दिएका छन्। 

लहानमा व्यावसायिकरूपमा फूलखेती सुरु गर्ने पहिलो व्यक्ति मानिने महतो भन्छन्, 'विदेशमा जति मेहेनत गरिन्छ, त्यति मेहेनत यहाँ गरे घरमै बसेर कमाइ गर्न सकिन्छ।'

उनले कृषिकर्ममा पुर्‍याएको योगदानलाई मूल्यांकन गर्दै लहान नगरपालिकाले दुईपटक र कृषि ज्ञान केन्द्र सिरहाले दुईपटक ‘उत्कृष्ट कृषक’को सम्मानसमेत प्रदान गरिसकेको छ। 'पूर्वमा काकरभिट्टादेखि पश्चिममा दाङबाट फूलको माग हुन्छ', महतोले भने, 'मागअनुसार प्याकिङ गरेर बसमार्फत पठाउने गर्छु।'

आगामी तिहारमा १५ लाख रूपैयाँबराबरको फूल बिक्री गर्ने लक्ष्य रहेको उनले जानकारी दिए। यद्यपि हालैको लगातार वर्षाले मखमलीमा डढुवा रोग देखिएकाले उत्पादनमा केही असर पर्ने उनको अनुमान छ।

महतोले यस वर्षदेखि लहान-१३ मा एक बिघा क्षेत्रफलमा केराखेती पनि सुरु गरेका छन्। कृषिमा निरन्तर लगाव, परिश्रम र प्रतिबद्धताले उनी यस क्षेत्रका अरु किसानका लागि प्रेरणाको स्रोत बनाएको छ। रासस


प्रकाशित : बुधबार, असोज २९ २०८२११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend