शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

केराखेतीबाट वार्षिक पाँच लाख आम्दानी गर्दै रोकाय

मंगलबार, असोज २८ २०८२
केराखेतीबाट वार्षिक पाँच लाख आम्दानी गर्दै रोकाय

गत वर्षमा केराको व्यापार प्रशस्त रहेको भन्दै एक याममा चार-पाँच लाख रुपैयाँ आम्दानी हुने उनले जानकारी दिए।

दाङ- राप्ती गाउँपालिका-५ छोट्की सिसहनियाका भानुभक्त रोकाय आठ वर्षदेखि केराखेतीमा लागेका छन्। उनले केराखेतीबाट वार्षिक पाँच लाखसम्म आम्दानी गर्दै आएका छन्।

अहिले रासायनिक मलको प्रयोग गरेर खेती गर्ने परिपाटीको विकास भइरहेको समयमा केराखेतीले माटोलाई मलिलो र आम्दानी पनि हुने भन्ने लागेर केराखेतीमा लागेको रोकायले बताए। 

'अरु खेतीपातीभन्दा केराबाट आम्दानी बढी हुने देखेर यसमा लागेको हो', उनले भने, 'पहिले मैले पसल (फेन्सी) व्यवसाय गर्दै आएको थिएँ, अहिले त्यो व्यवसाय छोडेर केराखेतीमा लागेको हुँ।'

पहिले परीक्षणका रूपमा चार कठ्ठा जमिनबाट सुरु गरेको खेती अहिले दुई बिघामा विस्तार गरेको उनले जानकारी दिए। यो वर्षदेखि अरु साढे एक बिघामा केराखेती विस्तार गर्ने तयारी गरेको उनले उल्लेख गरे। 

जिनाइन र मालभोग जातको केराखेती गरिरहेको जनाउँदै रोकायले सिसहनिया गाउँमा अधिकांश किसानले केराखेती गर्न थालेका बताए। गत वर्षमा केराको व्यापार प्रशस्त रहेको भन्दै एक याममा चार-पाँच लाख रुपैयाँ आम्दानी हुने उनले जानकारी दिए।

'यसवर्ष भारतीय केराले नेपाली बजार ढाकेको छ। ती केराले नेपाली केराको मूल्य निर्धारण गरिदिने गरेकाले मूल्यमा गिरावट आएको छ', उनले भने।  

व्यापारीले दर्जनको २०-२५ रुपैयाँका दरले मूल्य निर्धारण गरेपछि किसानलाई मर्का परेको रोकायको भनाइ छ। 'भारतको केरा सस्तो हुने र यहाँ उत्पादित बिक्री नहुने भएकाले केरा बिक्री गर्न समस्या हुँदै आएको छ,' उनले भने, 'स्थानीय तह र प्रदेश सरकारले प्राविधिक तथा विशेष सहयोग गर्नुपर्नेमा उनले जोड दिए। हामी आफैँले किसान, विशेषज्ञ र व्यापारी बन्नुपर्छ, यसले थप समस्या भइरहेको छ। स्थानीय र प्रदेश सरकारले प्राविधिक सहयोग गरेमा खेती गर्न सहज हुने थियो।' 

रोकायका अनुसार यहाँ केरा प्रवर्द्धन कृषक समूह गठन गरिएको छ। सो समूहले किसानका समस्याका विषयमा छलफल गर्ने र समाधानको उपाया खोजी गर्ने गरेको उनले बताए। केराको बिक्री गर्न, काँटछाँट, रेखदेख गर्न र मल हाल्न तीन स्थानीयलाई रोजगारी दिएको भन्दै तुलसीपुर, घोराही, लमही बुटवलका व्यापारी घरमा आएर खरिद गर्ने गरेको उनले जानकारी दिए।  

कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीका अनुसार जिल्लामा आव २०८१/०८२ मा ७३० हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती भएको थियो। यसमा नौ हजार ९७३ मेट्रिकटन केरा उत्पादन भएको केन्द्रको वार्षिक प्रतिवेदनमा उल्लेख छ। 

जिल्लामा केराखेतीको प्रशस्त सम्भावना रहेको उनले बताए। पछिल्लो समयमा केराखेती गर्नेको सङ्ख्या वृद्धि हुँदै गएको जनाउँदै उहाँले केराको बजार माग पनि बढिरहेको उल्लेख गरे। खेती विस्तारका लागि किसानलाई कार्यालयले अनुदान दिने गरेको प्रमुख भण्डारीले बताए। रासस


प्रकाशित : मंगलबार, असोज २८ २०८२१०:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend