शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

दसैँ सकिएसँगै बाली भित्र्याउन व्यस्त हुम्लाका किसान

सोमबार, असोज २७ २०८२
दसैँ सकिएसँगै बाली भित्र्याउन व्यस्त हुम्लाका किसान

हुम्लाका खार्पुनाथ, सर्केगाड, चङ्खेली, ताँजकोट, अदानचुली र नाम्खा गाउँपालिकाका किसान बाली भित्र्याउन व्यस्त छन्।

हुम्ला- दसैँ सकिएसँगै हुम्लाका किसान यतिबेला खेतबारीको काममा व्यस्त देखिएका छन्। किसान यतिबेला खेतमा लगाएको विभिन्न बाली भित्र्याउन थालेका छन्।

दसैँ सकिएपछि मौसम सफा भएसँगै बाली भित्र्याउने चटारोले छोएको छ। सदरमुकामवासीले फापर, चिनो, सिमी, कोदो, कागुनोलगायत बाली घरमा भित्र्याइसकेका छन्।

उनीहरुले हिउँदमा गाईबस्तुका लागि घाँसमात्रै भित्र्याउन बाँकी रहेको सिमकोट गाउँपालिका-५ का मुक्ति रावतले बताए। दसैँ अवधिभर यहाँका किसानले सबै बालीनाली घरमा भित्र्याइसकेका छन्। अब घाँस काट्नमात्रै बाँकी रहेको रावतले बताए।

जिल्लाका खार्पुनाथ, सर्केगाड, चङ्खेली, ताँजाकोट, अदानचुली र नाम्खा गाउँपालिकाका किसान बाली भित्र्याउन व्यस्त छन्। माथिल्लो हुम्लामा अधिकांश बाली पाकिसकेको छ।

चिनो, कागुनो, तिते फापर, मिठे फापर, कोदो, सिमी, भटमास, आलुलगायत बाली थन्क्याउने चटारो रहेको खार्पुनाथकी प्रगति रोकायाले बताइन्। समयमै बाली नभित्र्याउँदा गाईवस्तु जथाभावी खेतबारीमा छोडिने भएकाले समयमै बाली भित्र्याउनुपर्ने बाध्यता रहेको उनले बताइन्।

यसपाली दसैँ चाँडै परेकाले तल्लो हुम्लाका किसानलाई बाली भित्र्याउन सहज भएको छ। बाली पाकिसकेपछि बेलैमा नथन्क्याए झर्ने समस्या हुन्छ। कामको चाप दसैँ सकिएलगत्तै बढेको छ।

बाली थन्क्याउन किसानले खेतमै राति अबेरसम्म काम गर्ने गरेका सिमकोट-२ की गौरी बोहराले बताइन्। 'पहिला चिनो, फापर, कागुनो र सिमी भित्र्याउँछौँ। ती बाली भित्र्याएपछि मकै, कोदो, मार्से, आलु र धान बालीको पालो आउँछ', उनले भनिन्। रासस


प्रकाशित : सोमबार, असोज २७ २०८२१२:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend