भक्तपुर- सूर्यविनायक-७ गण्डुका टोलटोल तथा घरघरमा ढकमक्क फुलेका सयपत्री र मखमली फूलले गाउँ नै उज्यालो बनेको छ। व्यावसायिक रूपमा गरिएको सयपत्री र मखमली फूल फुलेर गाउँ ढकमक्क हुँदा गाउँ नै राताम्मे बनेको छ।
व्यवसायिक फूल खेतीमा रमाएका यहाँका महिलालाई आँगनदेखि बारीभरी लहरै झुलेका मखमली फूल टिपेर माला गाँस्न यतिखेर भ्याइनभ्याइ भएको छ। बिहान ६ बजे बारी पुगेका महिलालाई फूल टिपेर डोको, डालो र बोरामा फूल लिएर घर आउने बित्तिकै खाना खाएर फेरी दिनभरि माला गाँस्न र गाउँमै आएका व्यापारीलाई माला बिक्री गर्न भ्याइनभ्याइ हुन्छ।
तिहार नजिकिँदै आएपछि व्यावसायिक रूपमा फूलखेती गरेको यहाँका किसानलाई यतिखेर मखमली फूल टिपेर माला उन्न र सयपत्री फूल टिपेर मुठा पार्ने व्यस्तता छ।
स्थानीय पुष्प व्यवसायी एवं राष्ट्रिय कृषक समूह महासंघकी केन्द्रीय उपाध्यक्ष अनिता बस्नेत यतिखेर किसानलाई फूल टिप्न भ्याइनभ्याइ भएको बताउँछिन्। गुण्डुमा मात्रै करिब ७ सय रोपनी जग्गामा मखमली र ३ सय रोपनी जग्गामा सयपत्री लगाएका छन्। पछिल्लो समय मखमली फूलको मालाले उचित मूल्य नपाउँदा किसान मारमा परेको उनले बताइन्।
किसानले भन्दा बिचौलियाले बढी मूल्य लिने गरेको बताउदै बस्नेतले भनिन्, 'मखमली फूलको माला किन्न व्यापारी घरघर आउन थालेका छन्। किसानबाट एउटा माला २१ देखि २३ रुपैयाँसम्ममा खरिद गर्छन् तर बजारमा ६० रुपैयाँभन्दा बढीमा बिक्री गर्छन्। मालाको मूल्य निर्धारण नहुँदा किसान मारमा परेका छन्।'
राज्यले मखमली फूलको मालामा एकरूपता ल्याउन लम्बाई र गुास्तर हेरेर मूल्य निर्धारण गर्नु पर्ने बताउदै बस्नेतले फूलखेतीबाट यहाँका महिलाले मनग्य आम्दानी गरेको बताइन्। फूलखेतीबाट महिला आफ्नो घरखर्च गर्नदेखि बचत गर्न सक्ने अवस्थामा पुगेको उनले बताइन्।
गुण्डुकी उर्मिला नगरकोटीले आफ्ना बुबाले ४० वर्षअघिदेखि गर्दै आउनु भएको फूल खेतीलाई निरन्तरता दिँदै आएको बताइन्। बिहान आफ्ना दुई भाई मदनकृष्ण र कविराज नगरकोटीसँगै बारीमा मखमली फूल टिप्दै गरेकी उर्मिलाले मखमली फूल उत्पादन पनि गाह्रो भएको तर आम्दानी चित्त बुझ्दो रहेको बताइन्।
मखमली फूलमा व्यापक किरा लाग्ने र फूल टिप्ने बित्तिकै भिटामिन हाल्नु पर्ने गरेको बताउदै उनले एक रोपनी जग्गामा केही वर्ष अगाडिसम्म चार हजार माला बुन्ने गरेकामा अहिले उत्पादन घटेर तीन हजार माला मात्र बनाउने फूल उत्पादन हुने गरेको बताइन्।
एक रोपनी जग्गामा करिब ७० हजार रुपैयाँ आम्दानी हुने गरेको नगरकोटीले बताइन्। उनले हरेक वर्ष मालाको मूल्य घट्दै गएको बताइन्। यद्यपी धानभन्दा १०औँ गुण बढी आम्दानी हुने भएपछि यहाँका किसान यसतर्फ आकर्षित भएका छन्।
नगरकोटीले भनिन्, 'फूलखेतीबाट भएको आम्दानीबाट खर्च टरेको छ, चाडबाड खर्च पनि यहीबाट चलको छ। बचत भएको भएको छ। महिलाले मात्रै होइन घरका पुरुषले पनि फूलखेतीमा सहयोग गर्छन्। आम्दानीको श्रोत बनेको छ।'
गुण्डुकी ७० वर्षीया सानुमैया नगरकोटीले मखमली फूलको माला उन्दै माला गाँस्न भ्याइनभ्याई भएको बताइन्। घरका सबै परिवार माला गाँस्नमा व्यस्त रहँदै गर्दा उनले भनिन्, 'माला गाँस्न र थन्क्याउन व्यस्त छौँ, हामी मखमली फूलखेतीबाट खुसी छौँ ।'
परिवारले मात्रै माला गाँस्न नभ्याए पछि एउटा माला गाँसेको चार रुपैयाँ ज्याला तिरेर माला गाँस्न लगाउने गरेको नगरकोटीले बताइन्। व्यापारी माला किन्न घरघरमै आउाने गरेकाले माला बिक्री गर्न बजार जानुपर्ने अवस्था नरहेको उनले बताइन्।
सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं वडा नं-७ गुण्डुका वडाध्यक्ष रविन्द्र सापकोटाले नगरपालिकाले गुण्डुका ५५० परिवारलाई ७५ हजार फूलका बिरुवा अनुदानमा दिएको बताए।
किसानलाई तालिम र प्राविधिक सहयोग नगरपालिकाले उपलब्ध गराउँदै आएको छ। फूलखेतीबाट पर्याप्त आम्दानी हुने गरेको र यहाँ उत्पादन भएको फूल नेपालमा मात्रै नभइ विदेशमा समेत बिक्री गर्न निर्यात हुने गरेको उनले बताए। रासस