शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

झाडी फाँडेर फलफूलखेती

सोमबार, असोज २७ २०८२
झाडी फाँडेर फलफूलखेती

कम्तीमा २० रोपनी क्षेत्रफलमा नयाँ बगैँचा स्थापना गरी फलफूलखेती विस्तार गर्न आयोजनाले न्यूनतम तीन लाख रूपैयाँ अनुदान उपलब्ध गराउने व्यवस्था छ।

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकासहित गण्डकी प्रदेशको १० जिल्लाका ३४ स्थानीय तहमा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना (नाफा) सञ्चालन भएको छ।

कास्कीको पोखरा महानगर र पर्वतको जलजला गाउँपालिकामा दुई वर्षअघि सुरु भएको आयोजना लागु भएका स्थानीय तहको सङ्ख्या चालु आर्थिक वर्ष २०८२/८३ मा ३४ पुगेको छ।

कुल ९३ दशमलव ४५ मिलियन अमेरिकी डलर लागत अनुमान गरिएको आयोजना आर्थिक वर्ष २०८२ / ०३ मा गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, मनाङ र मुस्ताङका १९ स्थानीय तहमा विस्तार भएको हो। यसअघि १६ स्थानीय तहमा लागु भएको थियो।

नेपाल सरकार र एसियाली विकास बैंकको साझेदारीमा सञ्चालित आयोजनामार्फत १० प्रजातिका फलफूलखेती विस्तार गर्न कृषि फार्म, सहकारी र समूहले ५० प्रतिशत अनुदान पाउने आयोजना प्रमुख वासुदेव काफ्लेले जानकारी दिए।

'पहाडी क्षेत्रमा ओखर, सुन्तला, कागती, किबीलगायत फलफूलखेती विस्तार र प्रवर्द्धन गर्ने कार्यक्रमको उद्देश्य हो,' उनले भने, 'बसाइँसराइका कारण बाँझिएका खेतीयोग्य जमिनलाई पुनःप्रयोगमा ल्याउनका लागि आयोजनाले सहयोग पुगेको छ।'

कम्तीमा २० रोपनी क्षेत्रफलमा नयाँ बगैँचा स्थापना गरी फलफूलखेती विस्तार गर्न आयोजनाले न्यूनतम तीन लाख रूपैयाँ अनुदान उपलब्ध गराउने व्यवस्था छ। बिरुवा रोप्न खाडल खन्ने, मल, बिरुवा खरिद, सिँचाइ र कृषि औजारका सामग्री खरिद गर्न कुल लागतको ५० प्रतिशत अनुदान पाउनेछन्।

पहिलो चरणमा आयोजना लागु भएको जलजला गाउँपालिकाका २९ वटा फर्म र समूहले सुन्तलाजात र ओखरखेती विस्तारसम्बन्धी कार्यक्रमका लागि अनुदान सम्झौता गरेका थिए। २० रोपनी क्षेत्रफल जमिनका दरले ११ वटा फर्मले सुन्तला र दुई वटाले कागतीको बगैँचा स्थापना गरेको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए।

'काम सम्पन्न गरेर भुक्तानीका लागि निवेदन पेस गरेका फर्मको आयोजनाको प्राविधिक टोलीसहित अनुगमन सकिएको छ,' उनले भने, 'फलफूल बगैँचा स्थापनाका लागि बाँझिएको जग्गा प्रयोगमा आउनुका साथै बजार झरेका किसान गाउँ फर्किएर फलफूलखेतीमा लागेका छन्। उपाध्यक्ष आचार्यका अनुसार बाँकी १६ फर्मले बगैँचा स्थापनाको तयारीमा छन्।

जलजला गाउँपालिका-४ सिरानचौरमा १० वर्षदेखि बाँझिएको जमिनमा बनेको झाँडी फाडेर ओमनम एग्रो फार्मका सञ्चालक जनक अधिकारी र प्रदीप खत्रीले चार सय ५० कागतिका बिरुवा रोपेर बगैँचा स्थापना गरेका छन्।

'गाउँदेखि टाढा भएको र बाँदरले सताउन थालेपछि खेती गर्न छाडेपछि सिरानचौरको खेत झाडीमा परिणत भएको थियो,' उनले भने, 'नाफा आयोजनाको सहयोगमा झाडी फाडेर अहिले कागतीको बिरुवा रोपेर हराभरा बनाएका छौँ।'

जलजला गाउँपालिका-५ लेकफाँटका दयाराम सापकोटा, मीनराज सापकोटा र सुरेश सापकोटाले धान खेतीको विकल्पमा २० रोपनी खेतमा सुन्तलाका बिरुवा रोपेका छन्। मिलनचोक बजारमा बस्दै आएका दयाराम बगैँचा स्थापना गरेपछि गाउँ फर्किएका छन्। धान, कोदो, मकैलगायत खाद्यबाली खेतीको तुलनामा कम लगानी र धेरै वर्षसम्म नगद आम्दानी हुने भएकाले सुन्तलाखेती गरेको जलजला गाउँपालिका-७ धाइरीङका तुलसी आचार्यले बताए।

अनुगमन टोलीसँग किसानले आयोजनाले अनुदान उपलब्ध गराउन ढिलाइ गर्दा समस्या भएको गुनासो गरेका थिए। गत असारमै बगैँचा स्थापना गरेपनि आयोजनाले भुक्तानीमा ढिलाइ गरेको सञ्जोग कृषि फार्म जलजला-५ रातमाटाका वेदनाथ सुवेदीले बताए।

आयोजना प्रमुख काफ्लेले काम सम्पन्न गरेका फर्महरुको स्थलगत अनुगमन सकेपछि तत्कालै भुक्तानी दिने प्रतिबद्धता जनाए। रासस


प्रकाशित : सोमबार, असोज २७ २०८२११:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend