शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

एक दशकदेखि निरन्तर व्यावसायिक कृषि : पशुपालनदेखि खेतीपातीसम्म भ्याउँछन् रेसुंगाका प्रेम

आइतबार, असोज २६ २०८२
एक दशकदेखि निरन्तर व्यावसायिक कृषि : पशुपालनदेखि खेतीपातीसम्म भ्याउँछन् रेसुंगाका प्रेम

गुल्मीजस्तो पहाडी भेगमा बजारको अभाव, सिँचाइ, बीउ, मललगायत समस्याका कारण पनि कृषिमा लामो समय टिक्न कठिन हुने उनको अनुभव छ।

गुल्मी- जिल्लाको रेसुंगा नगरपालिका-६ का प्रेम नेपाली विगत एक दशकदेखि निरन्तर कृषि कर्ममा लागेका छन्। ४६ वर्षीय नेपालीले २०७२ सालमा १८ रोपनी जग्गा भाडामा लिएर तरकारीखेती सुरु गरेका थिए। उनले थप एकसय ४० रोपनी जग्गा भाडामा लिएर अहिले खेती विस्तार गरेका छन्।

पछिल्लो समय युवाहरू वैदेशिक रोजगारीमा जाने तर कृषि कर्म नगर्ने प्रवृत्ति बढ्दै गएको अवस्थामा नेपालीले भने दश वर्षदेखि तरकारीखेतीलाई निरन्तरता दिएका हुन्। गुल्मीजस्तो पहाडी भेगमा बजारको अभाव, सिँचाइ, बीउ, मललगायत समस्याका कारण पनि कृषिमा लामो समय टिक्न कठिन हुने उनको अनुभव छ।

उक्त जग्गामा १२ वटा टनेलमा तरकारी, ५० रोपनी जग्गामा धानखेती तथा केहीमा माछापालन, कुखुरा र बंगुरपालन गरेका छन्। उनले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्छन्। खर्बुजा, काँक्रा, घिरौँला, लौका, ब्रोकाउली, गोलभेँडा, सिमी, बोडी, बन्दालगायत तरकारी उत्पादन गर्छन्।

२५ टनेलबाट दैनिक तीन क्विन्टल तरकारी बिक्री

तरकारीको मुख्य सिजनअनुसार फरक पर्छ। बेमौसमी तरकारीको मूल्य बढी पर्ने हुँदा उनले बढी मात्रामा बेमौसमी तरकारीको खेती गरेका छन्। अहिले काँक्रा प्रतिकिलो एकसय ३० रूपैयाँ, गोलभेँडा प्रतिकिलो ८० रूपैयाँका दरले बिक्री हुने नेपालीले जानकारी दिए।

'यो अन्य समयको तुलनामा बढी मूल्य हो। मौसम (सिजन)मा दैनिक तीन क्विन्टलजति तरकारी बिक्री हुन्छ। अहिले दैनिक सात क्विन्टलजति बिक्री गर्ने उद्देश्यले काम गरिरहेको छु', नेपालीले भने, 'उत्पादित तरकारी स्थानीय बजारका साथै तम्घास र बुटबलसम्म पुग्ने गरेको छ।' 

उनको बारीमा हाल फलामे १६ र बाँसका १२ गरी कुल २८ टनेल छन्। उक्त टनेलमध्ये ६ वटामा गोलभेँडा, दुई वटामा काँक्रा, दुईवटामा सिमी, चार वटामा बोडी उत्पादन भइरहेका छन्। दुईवटा फलामे टनेलमा मौसमी तथा बेमौसमी तरकारीका बेर्ना तयार छन्। बन्दागोपी, फुलगोपी, प्याज, काँक्रा, लहरे तरकारी, सागलगायत बिरुवा नर्सरीमा तयारी अवस्थामा छन्।

बेर्ना बिक्रीबाट दैनिक ३० हजार रूपैयाँ आम्दानी हुने नेपालीले जानकारी दिए। गत वर्षदेखि स्ट्रबेरीको पनि उत्पादन सुरु गरेको बताउँदै उनले प्रतिकिलो ६ सय रूपैयाँका दरले दुई क्विन्टल स्ट्रबेरी बिक्री भएको उल्लेख गरे। 'अहिले पाँच क्विन्टल बिक्री गर्ने योजना छ। बजारमा अहिले स्ट्रबेरीको माग बढी छ, उत्पादन बढाउन सके फाइदा हुन्छ', उनले भने।

खेर गएको तरकारी र माछा बंगुरलाई

बिक्री नभएको र तरकारीको फेदमा रहेका पातहरूको पुनः प्रयोगका लागि बंगुर र माछापालन गरेको नेपालीले बताए। अर्थात् तरकारीमा खेर गएको पात बंगुर र माछाको आहाराका रूपमा प्रयोग हुँदै आएको छ। साथै माछापालन गरेको पानी तरकारीखेतीका लागि समेत उपयुक्त मानिन्छ। अहिले तीनवटा पोखरीमा सिल्भर, कमन र ग्रास गरी तीन जातका माछा रहेका उहाँले जानकारी दिए।

केही समय अघिमात्रै उनले ६ हजार भूरा राखे। अहिले दुईवटा पोखरीबाट माछा निकाल्ने काम भइरहेको छ। 'यो सिजनमा एक लाख ५० हजार रूपैयाँको माछा बिक्री भयो, अरु निकाल्ने काम भइरहेको छ', उनले भने। उनका अनुसार प्रतिकिलो सातसय रूपैयाँका दरले माछा बिक्री हुन्छ।

उनले तीन वर्षदेखि बंगुर पालेका हुन्। अहिले बंगुरका तीनवटा माउ छन्। वर्षमा दुईपटक क्याउने बंगुर बिक्रीबाट वार्षिक एक लाख ५० हजार रूपैयाँ आम्दानी हुने बताउँदै उनले वार्षिकरूपमा बंगुरका करिब ३० बच्चा बिक्री गरिरहेको जानकारी दिए।

नेपालीले ५० रोपनी जग्गामा हाइब्रिड, जिटेन, उपजलगायत धान लगाएका छन्। गतवर्ष उनले स्थानीय बजारका साथै तम्घास, बुटबल र काठमाडौंसम्म एकसय २० मुरी धान बिक्री गरेर एक लाख २० हजार रूपैयाँ आम्दानी गरे। 

मासिक तीन लाखसम्म बचत

काम गर्नका लागि उनले तीनजना दैनिक र अन्य मौसमी कामदार राखेका छन्। तीनजनाको तलब १२ देखि १८ हजार रूपैयाँसम्म छ। आलु, धान र तरकारी लगाउने समयमा ठुलो सङ्ख्यामा रोजगारी सिर्जना हुने गर्दछ।

यसरी खर्च कटाउँदा पनि मासिक तीन लाख रूपैयाँ अर्थात् वार्षिक ३६ लाख रूपैयाँ आम्दानी गर्ने नेपालीले बताए। 'घरखर्च चलाउन, बालबच्चा बढाउन राम्रैसँग पुग्नुका साथै केही रकम बचत पनि भएको छ', उनले भने, 'विदेश जाने वा पेसा परिवर्तन गर्ने कुनै सोचमा छैन।'

कृषि कर्ममा नेपालीलाई राज्यले पनि सहयोग गरेको छ। कृषि ज्ञान केन्द्रले गत वर्ष टनेल निर्माणका लागि दुई लाख ७८ हजार रूपैयाँ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ५० प्रतिशत अनुदानमा टनेल, भेटेरीनरी तथा पशुसेवा विज्ञ केन्द्रबाट माछा पोखरी बनाउन एक लाख रूपैयाँ, सिँचाइका लागि रेसुङ्गा नगरपालिकाबाट ६३ हजार रूपैयाँको तीनसय मिटर पाइप उपलब्ध भएको उहाँले जानकारी दिए।

सोही कारणले कृषि कर्मलाई निरन्तरता दिन हौसला बढेको भन्दै उनले भने, 'कृषिमा नगदी खर्च कम र आम्दानी बढी हुन्छ। एकैपटक प्रतिफल खोजेर हुँदैन, मेहनत र धैर्य गर्नुपर्छ।' रासस


प्रकाशित : आइतबार, असोज २६ २०८२१३:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend