शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

'आफ्नै ठाउँमा मेहनत गरे विदेशमा भन्दा राम्रो आम्दानी लिन सकिने रहेछ'

आइतबार, असोज २६ २०८२
'आफ्नै ठाउँमा मेहनत गरे विदेशमा भन्दा राम्रो आम्दानी लिन सकिने रहेछ'

रोजगारीको विकल्पका रूपमा कृषिलाई आत्मसात् गर्न थालेपछि गाउँघरमै नयाँ आशा पलाएको छ।

भोजपुर- विदेशमा वर्षौँ पसिना बगाएर फर्किएका जिल्लाका धेरै युवा अहिले आफ्नै गाउँमा कृषिमा जोडिन थालेका छन्। रोजगारीको विकल्पका रूपमा कृषिलाई आत्मसात् गर्न थालेपछि गाउँघरमै नयाँ आशा पलाएको छ।

रामप्रसादराई गाउँपालिका-८ खोक्सिकका मनिराज राई पनि त्यस्तै उदाहरण हुन्। करिब १० वर्ष विदेशमा बिताएका राई गाउँ फर्केपछि व्यावसायिक तरकारीखेतीमा लागेका छन्। राईले अहिले गोलभेँडा, बन्दा, फुलगोभी, आलु, मुला, साग, गाँजरलगायत तरकारी उत्पादन गर्दै आएका छन्। वडा कार्यालयको पहलमा तालिम र कृषि औजार पाएपछि खेतीमा लाग्न अझ सहज भएको उनको भनाइ छ।

'विदेशबाट फर्केर आफ्नै गाउँमा व्यावसायिक तरकारीखेतीमा लागेको हुँ', उनले भने, 'त्यहाँभन्दा आफ्नै ठाउँमा मेहनत गरे राम्रो आम्दानी लिन सकिने रहेछ। अहिले परिवारसँग बसेर तरकारीखेतीमै रमाएको छु।'

तरकारी व्यवसायबाट राम्रै आम्दानी गर्न सकिने देखेपछि २०७८ सालदेखि व्यावसायिक रूपमा तरकारीखेती गरिरहेको उनले जानकारी दिए। उनका अनुसार तरकारीखेतीबाट सबै खर्च कटाएर मासिक २० देखि २५ हजार रूपैयाँसम्म आम्दानी हुने गरेको छ। गाउँमै उत्पादन भएको तरकारी स्थानीय बजारमै सजिलै खपत हुने भएकाले उनलाई बिक्रीमा समस्या छैन।

'आफ्नै गाउँमा व्यावसायिक बन्न सकियो भने पैसा कमाउन बाहिर जानु पर्दैन', उनले भने, 'यहाँको माटो र पसिनाले दिने आम्दानीमै सन्तुष्ट छु।'

व्यावसायिक कृषिमा लागेका किसानलाई पहिचान गरेर उनीहरूको योजनाअनुसार अनुदान, तालिम र उपकरण उपलब्ध गराउँदै आएको वडा कार्यालयले जनाएको छ। वडाध्यक्ष बाचकुमार राईका अनुसार सीमित बजेट भए पनि संघसंस्था र विभिन्न निकायसँग सहकार्य गरेर कृषिलाई नमूनायोग्य बनाउन जोड दिइएको छ।

'आर्थिक रूपमा किसानलाई सक्षम बनाउन कृषिलाई प्राथमिकतामा राखेका छौँ', वडाध्यक्ष राईले भने, 'तरकारीखेती, व्यावसायिक बाख्रापालनसँगै विभिन्न सीपमूलक तालिमसमेत दिँदै आएका छौँ।'

भावी दिनमा माटोको परीक्षण गरेर माटो सुहाउँदो बाली लगाउन किसानलाई प्रोत्साहन गर्ने योजना रहेको उनले सुनाए। वडामा विनियोजित बजेटले सबै क्षेत्रलाई समेट्न नसकेकाले अन्य निकायसँग सहकार्य गरेर कृषिमा लगानी बढाउने काम भइरहेको वडाध्यक्षको भनाइ छ। रासस


प्रकाशित : आइतबार, असोज २६ २०८२११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend