शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

५० लाखबाट सुरु भएको पशुपालनमा डेढ करोड पुग्यो लगानी, मनग्य आम्दानीले बर्सेनि विस्तार

बुधबार, असोज २२ २०८२
५० लाखबाट सुरु भएको पशुपालनमा डेढ करोड पुग्यो लगानी, मनग्य आम्दानीले बर्सेनि विस्तार

फार्ममा हाल आठ जनाले प्रत्यक्ष रोजगारीसमेत पाएका छन्। फार्मलाई थप व्यवस्थित गर्दै गाईभैँसी थप गर्ने र संरचना विस्तार गर्दै लैजाने योजनामा उनी छन्।

स्याङ्जा- गल्याङ नगरपालिका-१ मालुंगाका ईश्वर बस्यालले व्यावसायिक रुपमा गाईभैँसीपालन गरेको ६ वर्ष भयो। ६ वर्षअघि ‘विन्दवासिनी कृषि तथा पशुपालन फार्म’ दर्ता गरी व्यवसाय थालेका बस्यालले गाईपालनबाट मनग्य आम्दानी गर्न सफल भएका हुन्।

सुरुमा ५० लाख रूपैयाँ लगानी गरी व्यवसाय थालेका बस्यालले फार्मलाई विस्तार गर्दै लगेका छन्। सुरुमा केही संरचनासहित गाई र भैँसी गरी २० वटाबाट थालेको व्यवसायलाई बर्सेनि विस्तार गर्दै लगिरहेका छन्।

'भैँसी र होलिस्टिन गरी २० वटा गाईभैँसीपालनबाट थालेको व्यवसाय बर्सेनि विस्तार गर्दै लगेको छु', उनले भने, 'हालसम्म आइपुग्दा फार्ममा ४४ गाईभैँसी छन् भने झन्डै डेढ करोड रूपैयाँ लगानी भएको छ।'

फार्मबाट भएको आम्दानीलाई बर्सेनि लगानी गर्दै गइरहेकाले अझै केही वर्ष लगानीलाई निरन्तरता दिने उनले बताए। अहिले गाईभैँसीमध्ये २७ वटा दुहुना छन् भने बाँकी ब्याउने छन्। आफ्नै जग्गामा फार्म सञ्चालन गरेका बस्यालले झन्डै १०० रोपनी जमिन भाडामा लिएर गाईभैँसीका लागि आवश्यक पर्ने नेपियर, जै, वर्सिमलगायतका घाँस लगाएका छन्।

'फार्मबाट अहिले दैनिक २५० देखि ३०० लिटर दूध बिक्री हुने गरेको छ', उनले भने, 'फार्मबाट प्रतिलिटर ६५ देखि ७० रूपैयाँका दरले दूध बिक्री भइरहेको छ।'

बस्यालको फार्ममा उत्पादित दूध गल्याङस्थित साना किसान कृषि सहकारी संस्थामा बिक्री गर्दै आएका छन्। फामबाट बिक्री भएको दूधमा प्रतिलिटर गल्याङ नगरपालिकाले १५ रूपैयाँ थप अनुदान उपलब्ध गराउने भएकाले पनि सहजरुपमा मूल्य प्राप्त भएको उनले बताए।

'यहाँ जति मात्रामा दूध उत्पादन गरे पनि बजारको कुनै समस्या छैन', उनले भने, 'उत्पादित दूध सहकारीमार्फत बिक्री हुने गरेको छ, त्यसबाट १५ रूपैयाँका दरले प्रतिलिटर अनुदानले थप प्रोत्साहन पुगेको छ।'

फार्ममा हाल आठ जनाले प्रत्यक्ष रोजगारीसमेत पाएका छन्। फार्मलाई थप व्यवस्थित गर्दै गाईभैँसी थप गर्ने र संरचना विस्तार गर्दै लैजाने योजनामा उनी छन्।

'केही समय वैदेशिक रोजगारीपछि स्वदेश फर्केपछि बजार राम्रो देखेर पशुपालन व्यवसाय थालेको हुँ', उनले भने, 'काम गर्दै जाँदा सिकाइ हुँदै गएको छ, अनुभव सँगाल्दै गएको छु, व्यवसाय राम्रै छ।'

फार्मसम्म विद्युतको तार आए पनि आवश्यक मात्रामा पावर नआएकाले हातैबाट दुहुनुपरेको उनले बताए। मेसिन ल्याएर राखिएको तर पावरको कमीका कारण मेसिन सञ्चालनमा समस्या रहेको उनले बताए। रासस


प्रकाशित : बुधबार, असोज २२ २०८२१३:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend