भोजपुर- यहाँका किसान पछिल्लो समय व्यावसायिक मौरीपालनतर्फ आकर्षित भइरहेका छन्। एकपटक लगानी गरेर सामान्य हेरचाह मात्र गरे पुग्ने, लागत कम लाग्ने र बजारमा सजिलै माग हुने भएकाले मौरीपालन किसानको रोजाइको पेसा बन्दै गएको हो।
परम्परागत खेतीसँगै नयाँ सम्भावना खोजिरहेका किसानले अहिले मौरीपालनलाई आयआर्जनको प्रमुख साधन बनाउन थालेका छन्। टेम्केमैयुङ, पौवादुङमा, रामप्रप्रसादराई गाउँपालिकासँगै प्रायः यहाँ सबै स्थानीयतहका किसानहरुले मौरीपालन गर्दै आएका छन्।
रामप्रसादराई गाउँपालिका-६ वैकुण्ठेमा मौरीपालनको विशेष सम्भावना देखिन्छ। यहाँका अधिकांश किसान अहिले व्यावसायिक मौरीपालनमा संलग्न छन्। नजिकै प्रशस्त वनजंगल, फूल फुल्ने वातावरण र मौरीको लागि उपयुक्त मौसम भएकाले बाक्चाखा, भामला, छापगाउँलगायत स्थानीय व्यावसायिक मौरीपालनमा लागेका छन्।
स्थानीय सरकारको पहलले मौरीपालन अझै सहज बनेको छ। रामप्रसादराई गाउँपालिका-६ का अध्यक्ष एकराज आचार्यका अनुसार किसानलाई आधुनिक मौरीपालनमा प्रोत्साहित गर्न दुई चरणमा तालिम दिइएको छ। तालिममा सहभागीले आधुनिक मौरीघार बनाउने, मौरीको हेरचाह गर्ने, रोग व्यवस्थापन र मह संकलन गर्ने प्रविधि सिकेका छन्।
'विगतमा किसानले आ-आफ्नै तरिकाले मुढेघारमा मौरी पाल्दै आएका थिए', वडाध्यक्ष आचार्यले भने, 'अहिले हामीले उनीहरूलाई प्रविधिमैत्री मौरीपालनमा लैजाँदै छौँ। यसले किसानको आम्दानी बढाउन मद्दत गर्नेछ।'
स्थानीय किसान शरणकुमार बोहोरा व्यावसायिक मौरीपालनमा जुटेका उदाहरणीय पात्र हुन्। उनले तालिम लिएपछि आधुनिक घार निर्माण सुरु गरेका छन्। अहिले उनीसँग ३५ वटा मौरीघार छन्। 'पहिले मुढेघारमै मौरी पाल्थेँ, उत्पादन पनि कम हुन्थ्यो, अहिले आधुनिक घारमा मौरी राख्दा उत्पादन बढी छ। मौरीले मेरो आयआर्जनमा परिवर्तन ल्याएको छ', उनले भने।
गाउँपालिका अध्यक्ष थामबहादुर राईका अनुसार मौरीपालनलाई प्रोत्साहित गर्न नीति तथा कार्यक्रममा प्राथमिकतासहित समावेश गरिएको छ। 'मौरीपालनसहित कृषि व्यवसायलाई आत्मनिर्भर र व्यावसायिक बनाउन योजनाबद्ध रूपमा काम भइरहेको छ', अध्यक्ष राइले भने, 'किसानलाई आवश्यक प्राविधिक ज्ञान र उपकरण उपलब्ध गराइएका छौँ। यसले गाउँमा रोजगारी सिर्जना गर्नुका साथै गाउँको अर्थतन्त्रलाई सबल बनाउनेछ।'
वैदेशिक रोजगारीमा जाने विकल्पभन्दा गाउँमै बस्ने वातावरण मौरीपालनले बनाएको किसानहरू बताउँछन्। बजार विस्तार, गुणस्तरीय प्याकेजिङ र ब्राण्डिङ गर्न सके भोजपुरमा उत्पादित मह देशभरि मात्र नभइ विदेशमा पनि पुर्याउन सकिने सम्भावना रहेको मौरीपालक किसानको भनाइ छ। रासस