सङ्खुवासभा- सङ्खुवासभामा यो वर्ष अलैँचीको मूल्य घटेको छ। गतवर्ष यही समयमा प्रतिमन (४० किलो) ९० हजार रुपैयाँ मूल्य रहेकामा यसपटक भने ८० हजार रुपैयाँमा कारोबार भइरहेको छ।
एक दशक अघिदेखि ओरालो लागेको अलैँचीको मूल्य गत वर्ष सुधार भए पनि यसवर्ष फेरि घटेको छ।
कालो सुनको रूपमा चिनिँदै आएको अलैँचीको मूल्य प्रतिमन ८० हजार रुपैयाँमा कारोबार भइरहेको अलैँची व्यवसायी महासंघ सङ्खुवासभाका अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार गतवर्ष प्रतिमन १ लाख १० हजार रुपैयाँसम्म कारोबार भएको थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग घटेपछि मूल्य पनि घटेको हो।
'उत्पादन बढी र माग कम भएका कारणले अलैँचीको मूल्य घटेको हो। गतवर्ष ९० देखि एक लाख १० हजार रुपैयाँसम्ममा कारोबार भएको थियो। हाल ग्रेडिङ राम्रो भएको अलैँची ८२ हजार र ग्रेडिङ नभएको अलैँची ८० हजार रुपैयाँमा कारोबार भइरहेको छ', अध्यक्ष श्रेष्ठले भने।
मसलाको रूपमा प्रयोग हुँदै आएको अलैँची ९८ प्रतिशत अलैँची नेपाल बाहिर निर्यात हुने गरेको बताइन्छ। सङ्खुवासभामा करिब दुई हजार ८७१ हेक्टर क्षेत्रफलमा अलैँचीखेती गरिँदै आएको छ। जिल्लामा गतवर्ष ९४० मेट्रिक टनभन्दा बढी उत्पादन भएको थियो।
अलैँची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो। सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, र धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा यसको उत्पादन हुन्छ। यसबाट किसानले भने प्रत्यक्ष फाइदा लिन नसकेका गुनासो छ।
व्यवसायीका अनुसार अलैँचीलाई गुणस्तरका आधारमा 'क', 'ख' र 'ग' गरी तीन तहमा विभाजन गरिएको हुन्छ। सोहीअनुसार मूल्य पनि फरक रहेका छ। रासस