सुनसरी- गत शनिबार र आइतबार वर्षासँगै आएको हावाहुन्डरीका कारण यहाँका विभिन्न स्थानका केराखेतीमा ठूलो क्षति पुगेको छ। सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगरलगायत क्षेत्रका केराखेतीमा ठूलो क्षति पुगेको हो।
आठवर्षदेखि केराखेती गर्दै आएका भोक्राहा नरसिंह गाउँपालिका-२ का एयुब साहमियाँले सात बिघा जग्गा भाडामा लिइ ६ लाख रूपैयाँ बैंकबाट ऋण लिएर मियाँ केराखेती गरेका थिए। उनको तीन बिघा एक कठ्ठा केराखेतीमा क्षति पुगेको छ ।
करिब १३ लाख रूपैयाँभन्दा बढीको क्षति पुगेको उनले जानकारी दिए। बर्सेनि बाढीले केराखेतीमा १० लाखदेखि २५ लाख रूपैयाँसम्म क्षति हुने गरेको मियाँको भनाइ छ।
त्यसैगरी, स्थानीय वीरेन्द्र ठाकुरले सात कठ्ठामा एक लाख रूपैयाँ लगानी गरेर लगाएको केराखेतीमा पनि ठूलो क्षति पुगेको स्थानीय किसानहरुले बताएका छन्। जिल्लामा व्यावसायिक केरासहित अन्य बाली लगाउँदै आएका किसानले प्राकृतिक विपद्मा ठूलो क्षतिको सामना गर्दै आएका छन्।
जिल्लामा ५३० हेक्टर क्षेत्रफलमा यस वर्ष केराखेती भएको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिए। बाढीका कारण कृषि क्षेत्रमा भएको क्षतिको विवरण संकलन भइरहेको प्रमुख सिंहले बताए। रासस