शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

मौसम प्रतिकूल हुँदा किसानले भित्र्याउन पाएनन् खेतमा पाकेर झुलिसकेको धान

मंगलबार, असोज २१ २०८२
मौसम प्रतिकूल हुँदा किसानले भित्र्याउन पाएनन् खेतमा पाकेर झुलिसकेको धान

पछिल्ला केही वर्षदेखि धानबाली भित्र्याउने समयमै हुने वर्षाका कारण काटेर खेतमै सुकाइएको धानबालीमा क्षति पुग्ने गरेको छ।

सुदूरपश्चिम- खेतमा पाकेर झुलिसकेको बर्खे धानबाली प्रतिकूल मौसमका कारण समयमै भित्र्याउन नसकिएपछि किसान चिन्तित देखिएका छन्।

गत जेठ अन्तिम हप्तादेखि असार पहिलो हप्तासम्म रोपिएको धान यतिबेला पाकेर खेतमा झुलिसकेको भए पनि वर्षा हुने सम्भावनाले भित्र्याउन नपाएको किसानले बताएका छन्।

धनगढीका किसान वीरबहादुर रानाले भने, 'दुई हप्ताअघि नै भित्र्याउने समय भइसकेको धानबाली खेतमा पाकेर झुलिसकेको छ, मौसमको भर नहुँदा काट्न पाइरहेका छैनौँ। कतिपय गाउँमा काटेर सुकाइएको धान वर्षाले भिजेर क्षति गरेको छ।'

दसैँपछि तिहार पर्व मनाउने तयारीमा रहेका किसानलाई खेतमा पाकेर पहेलपुर भएको धानबालीलाई आकाशमा बाँदल लाग्ने गरेकाले कतिबेला काट्ने भन्ने चिन्ताले सताएको हो।

मनसुनी वर्षाले तीन दिनअघिसम्म देशको मध्य तथा पूर्वी क्षेत्रमा धनजनको ठूलो क्षति पुर्‍याउँदा सुदूरपश्चिम प्रदेशमा भने समान्य मौसम थियो। गएराति कैलालीसहितका जिल्लामा वर्षा हुँदा किसानमा थप चिन्ता बढेको छ।

वर्षा गराउने मनसुन निष्क्रिय भइसके पनि स्थानीय वायुको प्रभाव यथावत रहँदा सुदूरपश्चिमका केही क्षेत्रमा वर्षा हुनसक्ने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयको छ।

'फूलपातीका दिन काटेर खेतमै सुकाइ राखिएको बाली राति परेको पानीले भिजाएर क्षति पुग्यो,' अर्का किसान लक्ष्मण चौधरीले भने, 'आकाशमा बादल मडारिने क्रम रोखिएको छैन, यसले पाकेर झुलिसकेको धान काट्न नपाएर समस्या भइरहेको छ।'

पछिल्ला केही वर्षदेखि धानबाली भित्र्याउने समयमै हुने वर्षाका कारण काटेर खेतमै सुकाइएको धानबालीमा क्षति पुग्ने गरेको छ।

किसान मानबहादुर चौधरी भन्छन्, 'केही क्षेत्रमा रोगकिराको समस्या देखिए पनि अधिकांश जग्गामा यसपालि धान राम्रो फल्ने देखिएको छ। पाकेको धान काटौँ भने भिज्ने डर छ, नकाटौँ भने खेतमै बिग्रिने त्रासमा छौँ।' 

प्रदेशको तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा उत्पादन हुने धान पहाडका सात जिल्लामा आपूर्ति हुने गरेको छ।

कृषि विकास निर्देशनालयको तथ्यांकका अनुसार प्रदेशमा कुल एक लाख ८१ हजार तीन सय ९६ हेक्टर जग्गामा बर्खे धानखेती हुने कगरेको छ। यसबाहेक कैलाली, कञ्चनपुरमा चैते धानखेती हुने गरेको छ। सबैभन्दा बढी तराईको जिल्ला कैलालीमा ७२ हजार पाँच सय हेक्टर र कञ्चनपुरमा ४८ हजार चार सय ९० हेक्टर जग्गामा धानखेती हुने गरेको छ।

पहाडी क्षेत्रका डोटी, डडलेधुरा, बाजुरा,बैतडी, बझाङ, दार्चुला,र डडेलधुरा जिल्लामा गरी झण्डै ६० हजार चार सय छ हेक्टरमा यो खेती हुने गरेको छ। बर्खे धानको वार्षिक उत्पादन पाँच लाख ८६ हजार तीन सय ५३ मेट्रिकटन हुन्छ।

पछिल्ला वर्षमा धान बालीको उत्पादन र उत्पादकत्व बढ्दै गएको कृषि प्राविधिकको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, असोज २१ २०८२११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend