शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुँगुर फार्ममा बाढी पस्दा दुईसयभन्दा बढी सुँगुर बगे, ८० लाख रुपैयाँबराबरको क्षति

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज २१ २०८२
सुँगुर फार्ममा बाढी पस्दा दुईसयभन्दा बढी सुँगुर बगे, ८० लाख रुपैयाँबराबरको क्षति

'भारी वर्षापछि फार्ममा एक्कासी बाढी पस्यो, सुँगुरहरू आत्तिएर खोर नाघेर खोलातर्फ हामफाल्न थाले, हामी फार्मको पारीपट्टी थियौँ, उनीहरुलाई बचाउन सकिएन, फार्मको ढोका र झाडीमा अल्झिएर बचेका केही सुँगुर मात्र अहिले बाँकी छन्।'

सुनसरी- गत शुक्रबारदेखि लगातार परेको अविरल वर्षापछि सर्दु-सेरा खोलामा आएको बाढीका कारण रामधुनी नगरपालिका-८ स्थित झुम्का अर्गानिक कृषि फार्ममा क्षति पुगेको छ।

बाढीका कारण फार्ममा रहेका २ सयभन्दा बढी सुँगुर बगाउँदा करिब ८० लाख रुपैयाँभन्दा बढीको क्षति भएको फार्म सञ्चालक भरत कार्कीले बताए। 
 
मलेसियामा तीन वर्ष काम गरेर फर्किएपछि कार्कीले विसं २०७४ मा फार्म सञ्चालन गरेका हुन्। करिब चार बिघामा फैलिएको फार्मममा १६ जनाले रोजगारी पाइरहेका छन्।
 
उनका अनुसार फार्ममा ३ सयभन्दा बढी सुँगुर थिए। शनिबार रातिको बाढीले ठूला माउ सुँगुरदेखि साना बच्चासम्म गरी २ सयभन्दा बढी सुँगुर बगाएको उनको भनाइ छ।

फार्ममा अहिले करिब ७० वटा सुँगुर बचेका छन्। बच्चा सुँगुरमध्ये ४० भन्दाबढी पानीमा डुबेर मरेका छन् भने मासु उत्पादनका लागि तयारी अवस्थामा रहेका सुँगुरहरू बाढीले बगाएर लगेको उनले बताए। 
 
उनले भने, 'भारी वर्षापछि फार्ममा एक्कासी बाढी पस्यो, सुँगुरहरू आत्तिएर खोर नाघेर खोलातर्फ हामफाल्न थाले, हामी फार्मको पारीपट्टी थियौँ, उनीहरुलाई बचाउन सकिएन, फार्मको ढोका र झाडीमा अल्झिएर बचेका केही सुँगुर मात्र अहिले बाँकी छन्।'

उनले कुखुरा फार्म खोलाभन्दा केही पर भएकाले जोगिएको बताए। उक्त फार्ममा करिब ३० हजार कुखुरा छन्। रासस


प्रकाशित : मंगलबार, असोज २१ २०८२१०:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend