म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ टिकोटका बुद्धिवीर पुनले तरकारी खेतीबाट वार्षिक सात लाखसम्म आम्दानी गर्छन्।
१५ रोपनीमा बन्दा, साग, आलुलगायत ताजा तरकारी र पाँच रोपनीमा किवी खेती गरेका ४६ वर्षीय पुन तरकारी र फलफुल खेतीबाट स्वरोजगारसँगै आत्मनिर्भर बनेका हुन्। १६ वर्षअघि तरकारी खेती गर्नुअघि पुनले रोजगारीका लागि पाँच वर्ष कतारमा श्रम र पसिना बगाएका थिए।
'कृषिमा परिश्रम गरे राम्रो आम्दानी लिन सकिने मेरो अनुभव छ,' उनले भने, 'ताजा तरकारी बिक्री गरेर वार्षिक रुपमा पाँच लाख रूपैयाँदेखि सात लाख रूपैयाँसम्म आम्दानी हुन्छ।'
साँझबिहान तरकारी र किबीको फार्मको स्याहारसुसारमा व्यस्त वडा सदस्यसमेत रहेका पुनले दिउँसोको समय सामाजिक काममा दिन्छन्।
टिकोटको छिमेकी बस्ती घराम्दीका बासिन्दा रहेका अन्नपूर्ण गाउँपालिका-७ का पूर्व वडाध्यक्ष गमप्रसाद फगामी पनि कार्यकाल सकिएपछि व्यावसायिक तरकारी खेतीमा सक्रिय छन्। फगामीले पाँच रोपनी जग्गामा काँक्रो, बोडी, सिमी, गोलभेडा, बन्दा, काउली र साग खेती गरेका छन्।
गोलभेँडा खेतीका लागि उनले तीनवटा पलास्टिक टनेल बनाएका छन्। फगामीका छिमेकी बाहालवाला वडा सदस्य गेमबहादुर पुनले ताजा र बेमौसमी तरकारीका साथै व्यावसायिक रुपमा आलु खेती गर्दै आएका छन्। घराम्दी र टिकोटका कृषकले उत्पादन भएको तरकारी र आलु सदरमुकाम बेनी र प्रदेशको राजधानी पोखरामा बिक्री हुने गरेको छ।
यहाँ ५० जनाभन्दा बढी व्यावसायिक किसान छन्। गाडीले तरकारी बोकेर बजार लैजाने गरेको छ। यहाँबाट वार्षिक दुई करोड रूपैयाँभन्दा बढी मूल्यको आलु र एक करोड रूपैयाँ बराबरको बन्दा बिक्री हुने गरेको वडा सदस्य बुद्धिवीर पुनले बताए। टिकोट र घराम्दी समुद्री सतहदेखि दुई हजार तीन सय मिटर उचाइमा रहेको छ।
चिसो हावापानीमा जैविक विधिबाट उत्पादन भएको तरकारी स्वस्थकर र स्वादिलो हुने भएकाले उपभोक्ताको रोजाइमा परेको छ। अन्नपूर्ण गाउँपालिकाले टिकोटमा तरकारी पकेट कार्यक्रम सञ्चालन गरेको कृषि अधिकृत श्यामशरण कुर्मीले बताए। कार्यक्रम मार्फत कृषकहरुलाई तरकारी खेतीका लागि आवश्यक विउ, टनेल, सिँचाइ सामग्री उपलब्ध गराएको उनले बताए।
खर्चिलो र मानव स्वास्थ्यका लागि प्रतिकूल मानिएको रासायनिक विषादी र मलको विकल्पमा जैविक विधिबाट तरकारी खेती गरेका छन्। टिकोटका किसान टिका तिलिजा पुनले तरकारीमा रोगकिरा लाग्न नदिन र नियन्त्रण गर्नका लागि गाईभैँसीको मलमुत्र प्रयोग गरेको बताए।
'पलास्टिकको बोतलमा संकलन गरेर राखेको गाईभैँसीको मुत्रलाई आवश्यक पर्दा बिरुवाको जरा, जरामा हाल्छौँ,' उनले भने, 'टिकोटमा रासायनिक मल पनि अहिलेसम्म भित्रिएको छैन।'
यहाँका किसानको प्रत्येक गोठमा गाईभैँसीको मलमुत्र संकलन गरेर राख्ने गरेका छन्। रासस