भोजपुर- वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेको छ। बाला लाग्ने बेलाको धान लडेपछि किसान चिन्तामा परेका छन्।
जिल्लाको अधिकांश भेगमा असोज महिनासम्म धान बाली परिपक्व अवस्थामा पुगेको हुन्छ। तर यसपटक वर्षा र हावाहुरीका कारण धानबाली क्षति पुगेको किसानको भनाइ छ।
जिल्लाको बोखिम, पोखरे, दावालगायत धेरै ठाउँमा धानबालीमा क्षति पुगेको छ। जिल्लाका सबै स्थानीय तहमा धानको खेती हुने गरेको छ।
बर्सातसँगै आएको हावाले धानबालीमा क्षति पुर्याएको भोजपुर नगरपालिका-५ बोखिमका स्थानीय किसान रुपनारायण फुयालले बताए। बोखिम क्षेत्रका धेरै किसानको धानबालीमा बर्सातले क्षति पुर्याएको उनको भनाइ छ।
'भारी बर्सातका कारण धानबालीमा क्षति पुगेको छ', उनले भने, 'पसाउँदै गरेको धान खेतमा ढलेर सखाप भएको अवस्था छ। अझै यस्तै अवस्था रहेमा धानबालीमा ठूलो क्षति हुने अवस्था छ।' रासस