शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

यस वर्ष सस्तियो भेडाच्याङग्राको मूल्य, मुस्ताङबाट ३५ करोड रुपैयाँभन्दा बढीको बिक्री

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज १३ २०८२
यस वर्ष सस्तियो भेडाच्याङग्राको मूल्य, मुस्ताङबाट ३५ करोड रुपैयाँभन्दा बढीको बिक्री

मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुुण्ड र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङग्रा पालिएका छन्। उपल्लो मुस्ताङका कृषकको मुख्य आयस्रोत च्याङग्रापालन हो।

म्याग्दी- दसैँका लागि मुस्ताङबाट बिक्री गर्न बजारमा ल्याइएका भेडाच्याङग्राको मूल्य यस वर्ष सस्तिएको छ।

व्यापारी र उपभोक्ताका अनुसार गत वर्षको तुलनामा प्रतिगोटा भेडाच्याङग्राको मूल्य पाँच हजार र प्रतिकिलोग्राम जिउँदाको मूल्य रुपैँया ५० देखि रुपैँया १०० रुपैयाँसम्म घटेको हो।

बेनीका भरत रकालले गत वर्ष ४० हजार तिरेर भेडाच्याङग्रा किनेकोमा यसपाली ३५ हजार रुपैयाँमै पाइएको बताए। 

'तीन वर्षअघि रोज्जा च्याङग्राको मूल्य प्रतिगोटा ५२ हजार र च्यालु (हिमाली भेडा)को मूल्य ४०/४२ हजार थियो,' उनले भने 'मूल्य सस्तीएपछि लेकाली भेडाच्याङग्राको मासुका परिकार खाएर दशै मनाउने मध्यम वर्गका उपभोत्ताको रहर पुरा गर्न सहज भएको छ।'  

नेपाल चौपाया खरिद बिक्री संघका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठले डोल्पा, मुगु, जुम्ला र तिब्बतीबाट पनि च्याङग्रा आउनु, मुस्ताङमा च्याङग्रापालन बढ्नु, ‘जेनजी’को आन्दोलनपछि देशको असहज परिस्थितिका कारण उपभोग घट्ने डरले मूल्य घटेको बताए। 

श्रेष्ठको समूहले पछिल्लो १० दिनमा मुस्ताङबाट दुई हजार पाँच सय च्याङग्रा काठमाडौ पुर्‍याएका छन्। गत वर्ष काठमाडौमा जिउँदो च्याङग्रा प्रतिकिलो एक हजार तीन सयका दरले बिक्री गरेकोमा यसपाली एक हजार दुई सय ५० का दरले बिक्री गरेको श्रेष्ठले बताए।  

दसैका लागि म्याग्दी, बागलुङ, पर्वत, पोखरा, काठमाडौ, चितवन र बुटवलका बजारमा झारिएका भेडाच्याङग्राको मुख्य स्रोत मुस्ताङ, जुम्ला, मुगु र डोल्पा हो। तातोपानी र रसुवाको नाका बन्द भएकाले ठूला सहरमा यसपाली मुस्ताङबाट मात्र भेडाच्याङग्रा मात्र झरेका छन्। 

यसबर्ष ३५ करोडभन्दा बढी मूल्य बराबरको १४ हजार छ सय ६८ भेडा च्याङग्रा बिक्री भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मुस्ताङले जनाएको छ। सात हजार छ सय ६८ मुस्ताङका किसानले पालेका, छ हजार आठ सय ६८ डोल्पा, मुगु र जुम्लाबाट आएका भेडाच्याङग्राको स्वास्थ्य परिक्षण गरेर बजार पठाउन अनुमति दिएको केन्द्रका प्रमुख लालमणी अर्यालले बताए। 

किसानले अधिकतम च्याङग्रालाई ३५ हजार र भेडा (च्यालु)लाई २८ हजारमा बेचेका छन्। पाँच वर्ष उमेर पुगेका च्याङग्रा मासुका लागि उपभोगी मानिन्छ। शरिरमा लामो रौ भएका च्याङग्रा रैथाने हुन्। तिब्बतबाट ल्याएको च्याङग्राको शरिरमा रौ छोटो हुन्छ।

लोमान्थाङ गाउँपालिका-३ नामग्यालका किसान तेन्जीङ गुरुङले च्याङग्रापालनबाट जिविकोपार्जन गरेको बताए। उनले यसपाली ५० वटा च्याङग्रा बिक्री गरेको बताए। मुस्ताङी भेडाच्याङग्राको ठूलो बजार पोखरा हो। 

म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ, लमजुङका बजारमा पनि भेडाच्याङग्राको खपत बढी हुने गरेको छ। मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुुण्ड र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङग्रा पालिएका छन्। उपल्लो मुस्ताङका कृषकको मुख्य आयस्रोत च्याङग्रापालन हो। 

हिउँचितुवा र ब्याँसोको आक्रमणबाट बचाउनु च्याङग्रापालक किसानको प्रमुख चुनौति हो। यसैगरी पर्याप्त हिउँ नपर्दा लेकाली क्षेत्रमा घाँस कम उम्रीएकाले भेडाच्याङग्राको लागि आहराको अभाव हुन थालेको छ। हिउँदमा आवश्यकता भन्दा बढी हिउँ पर्दा भेडाबाख्रा आहराको अभावमा मर्ने समस्या पनि छ। रासस


प्रकाशित : सोमबार, असोज १३ २०८२०८:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend