शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

झटारेमा अब घरमै खानेपानी सुविधा

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन १७ २०७८
झटारेमा अब घरमै खानेपानी सुविधा

दमौली- तनहुँको ऋषिङ गाउँपालिका-५ झटारेमा खानेपानी सुविधा पुगेको छ।

हालसम्म कुवाको पानी उपभोग गर्दै आएका स्थानीयवासी घरमै खानेपानी आएपछि खुसी भएका छन्। ऋषिङ गाउँपालिका र गण्डकी प्रदेश सरकारको ५१ लाख रूपैयाँको लागतमा झटारेका २३ घरमा खानेपानी सुविधा पुगेको झटारे खानेपानी उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए। खानेपानी योजनाका लागि स्थानीय सामुदायिक वनले पनि सहयोग गरेको छ।

'वर्षौदेखि कुवाको पानी उपभोग गर्दै आएका स्थानीयवासीको घरमै धारा जडान गर्न सफल भएका छौँ,' उनले भने, 'पानीको जोहोका लागि गर्नुपर्ने दुःख कष्ट हटेको छ।' उनका अनुसार घरमा खानेपानी सुविधा नहुँदा स्थानीयवासी बिहानै उठेर घण्टौँ हिँडेर खानेपानीको जोहो गर्थे। खानेपानी जोहो गर्न बिहान सबेरै उठेर कुवा जाने स्थानीयवासीलाई घरमै धारा जडान भएपछि सहज भएको उनले बताए।

घरघरै खानेपानी सुविधा पुगेपछि स्थानीयवासीको जीवनस्तर पनि फेरिने ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए।

'खानेपानीको सुविधालाई अव आयआर्जनको बाटोतर्फ जोड्नुपर्छ, करेसाबारीमा तरकारी खेती पनि गर्न सकिन्छ', उनले भने। 

स्थानीय तहमा जनप्रतिनिधि आएपछि धेरै गाउँमा खानेपानीको सुविधा पुगिसकेको र बाँकी रहेका ठाउँमा पनि खानेपानी सुविधा पुर्‍याइने उनले बताए। 'पहिला त पिउनका लागि पानीको अभाव थियो, अब पानीको अभाव छैन, तरकारी खेतीतर्फ लाग्न स्थानीयवासीलाई गाउँपालिकाको तर्फबाट पनि प्रोत्साहन गर्छौ,' उनले भने। रासस


प्रकाशित : मंगलबार, फागुन १७ २०७८०८:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend