काठमाडौं- कुनै समय नेपालले धान-चामलको निर्यात गर्थ्यो भन्नेबाहेक नेपालीसँग वर्तमानमा कुनै पनि त्यस्तो कृषि वस्तु छैन जसमा हामी आत्मनिर्भर छौं भनेर देखाउने। नेपाल यस्तो देश हो जहाँका ६० प्रतिशत मान्छे कृषिमा आश्रित छन् तर त्यही देशमा उत्पादनले खान नपुगेर खर्बौं रुपैयाँको कृषि वस्तु आयात हुन्छ।
कृषि वस्तुमा पनि सबैभन्दा धेरै खपत हुने धान नेपालको प्रमुख उत्पादन हो। नेपालमा सबैतिर र धेरै मान्छेले खेती गर्ने यही धान ६ जनाले उत्पादन गर्दा १० जनालाई नपुग्ने अवस्था रहेको छ। यही कारणले नेपालीको प्रमुख खाद्यन्न नै भारतको भरमा पर्दै आएको छ।
गएको आर्थिक वर्ष नेपालमा धान उत्पादन ऐतिहासिक बिन्दुमा पुग्ने सरकारी प्रक्षेपण भयो। ५९ लाख ५५ हजार ७६ हजार टन धान उत्पादन हुने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले अनुमान गरेको थियो। धान उत्पादन बढेकै कारण आर्थिक वृद्धि पनि राम्रो हुने राष्ट्रिय तथ्यांक कार्यालयले अर्को अनुमान प्रस्तुत गरिसकेको छ।
मुलुककै आर्थिक वृद्धिलाई सहयोग गर्नेगरी धानको उत्पादन बढेकै वर्ष ३९ अर्ब रुपैयाँभन्दा बढीको धान चामल आयात भयो। यो अघिल्लो वर्षको तुलनामा ८० प्रतिशत धेरै हो।
जुन वर्ष मुलुकमा धानको उत्पादन उच्च बिन्दुमा पुग्छ सोही वर्ष चामल आयात पनि उच्च हुनुलाई धेरैले तथ्यांकीय बेमेल मान्ने गरेका छन्। धान उत्पादन जतिसुकै बढेपनि आयातमा एकाध वर्ष बाहेक खासै कमी भने आएको छैन। चामलको उपभोग मान्छेका लागिमात्र भन्दा अन्य औद्योगिक प्रायोजनमा हुने भएकाले पनि आयात भइरहेको सरकारी बनिबाउ जवाफ रहेको छ।
यसको अर्थ मुलुकमा माग अनुसारको उत्पादनकै कमीले गर्दा चामलको आयात वर्षेनि बढिरहेको छ।
धानको उत्पादन बढाउनका लागि सरकारले वर्षेनि विभिन्न नाममा अनुदान तथा सहायतामा अर्बौं बजेट खर्चिरहेको छ। तर पनि यसले न माग थामेको छ न आयात रोकिएको छ।
उत्पादन बढेपनि आयात नघट्नु नेपाली कृषि अर्थतन्त्रको आफैमा एउटा अर्को बिडम्बना हो। कृषि र त्यसमा पनि धानको अर्थशास्त्रको यो बिडम्बनालाई सम्बोधन गर्नका लागि सरकारी तहबाट आजसम्म खासै पहल भएको छैन। विभिन्न कृषि सुपर जोन बनाएर उत्पादन बढाउने भनिएपनि त्यसमा अहिलेसम्म खासै उपलब्धि भने भएको छैन।
जतिसुकै उत्पादन बढे पनि माग अनुसार अझै अपुग रहेको कृषि मन्त्रालयको भनाइ रहँदै आएको छ। नेपालको अहिलेको उत्पादनले करिब ८ लाख टन चामल अपुग हुने मन्त्रालयको अुनमान रहेको छ। तर पछिल्लो घरपरिवार सर्वेक्षण अनुसार उपभोग चलनमा व्यापक परिवर्तन भएर खाद्यन्नको अंश घटेको छ।
नेपालमा जति उत्पादन भएपनि आयात बढ्नुमा विभिन्न कारण रहेको बताउँछन् अधिकारीहरू। पहिलो कुरा नेपालको उत्पादन प्रणालीमा अझै रुपान्तरण भएको छैन। उपभोक्ताको रुचि मसिनो चामलतिर बढेको तर उत्पादन गर्ने किसानको चाहना भने अझै मोटो धानमै रहेकाले पनि आयात बढाइरहेको धेरैको भनाइ छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयकै अधिकारीहरू उत्पादन हुने मोटो चामल घरेलु तथा किसानको तहमा खपत भएपनि आम उपभोक्ताको रोजाइमा भने मसिनो चामल रहेको बताउँछन्। नेपालमा उत्पादन हुने चामलको खपत घरेलु तथा उपभोक्ता तहभन्दा औद्योगिक तहमा हुने गरेको अधिकारीहरूको भनाइ छ यद्यपि यसको कुनै सर्वेक्षण वा अनुसन्धान भने छैन।
रोग किराको समस्या धेरै नहुने, परीक्षण भएकाले खेती तरीकामा अभ्यस्त भएकाले किसानले बालीको बिउ फेर्न सकिरहेका छैनन्। यही भएर नेपाली उत्पादनले आयात छेक्ने सम्भावना न्यून छ। यही भएर नेपालका मुख्य सहर बजारमा आउने हरेक नेपाली चामलको धान भारतीय हुने गरेको छ। भारतबाट चामल ल्याएर नेपालमा प्याकेजिङ गर्ने चलन बढ्दो रहेको छ।
अझ कतिपय भारतीय चामल नै धेरै पाइन्छ। नेपाली बजारमा भातरकै धान चामलको बर्चस्व प्रत्येक वर्ष बढ्दै गएको छ। औपचारिक च्यानलबाट आयात घट्दासमेत बजारमा चामल भने भारतकै आउने गरेको छ।
दुई तिहाइ जनता कृषिमा निर्भर रहेको मुलुकमा धानको उत्पादन जतिसुकै बढेपनि चामलमाथिको परनिर्भरता भने बढ्दै गएको छ। उत्पादन बढाउने सरकारका प्रयास अहिलेसम्म सबै असफलसिद्ध भएका छन्।
बजारको माग अनुसारको उत्पादन गराउनका लागि सरकारले विभिन्न जातका धानका बिउ विकास गरेपनि त्यसको विस्तार हुन सकेको छैन। अहिलेसम्मको बजारको बिउको ग्यारेन्टी पाइरहेका किसानले नयाँमा खासै रुचि देखाएका छैनन्। यसको फाइदा मुख्यगरी महानगर जस्ता सहरको ठूलो बजार भारतीय उत्पादनकै भरमा परेको छ।
औपचारिकभन्दा अनौपचारिक च्यानलबाट पनि भारतबाट उत्तिकै आयात हुने भएकाले खास आँकडा कहिलै सार्वजनिक हुँदैन। तर काठमाडौंमा पाइने अधिकांश चामल भारतीय धानकै हुने गरेको छ। मसिनो चामल तुलनात्मक रुपमा सस्तोमा पनि पाइने र मार्जिन पनि धेरै हुने भएकाले व्यापारीले पनि त्यसमै जोड दिने गरेका छन्।
नेपाली किसानले उत्पादन गरेको मसिनो धानको लागत उच्च हुँदा त्यसले बजार नपाउने त्रासले गर्दा पनि किसानमा यसमा आकर्षित हुन नसकेको स्वयम् सरकारी अधिकारीहरूकै स्विकारोक्ति छ।