शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

च्याउको बीउ उत्पादनबाट वार्षिक डेढ करोड आम्दानी

आइतबार, असोज ५ २०८२
च्याउको बीउ उत्पादनबाट वार्षिक डेढ करोड आम्दानी

टिस्युकल्चर प्रविधिबाट च्याउ उत्पादन गर्न खत्रीले आधुनिक प्रयोगशाला स्थापना गरेका छन्। यो कोशी प्रदेशकै पहिलो हो। उनले सञ्चालन गर्दै आएको प्रयोगशालामा गहुँ, मकै र जुनेलोको दानामा टिस्युकल्चर प्रविधिबाट च्याउको बीउ उमारिन्छ।

झापा- बिर्तामोड-३ का रामबहादुर खत्री स्वदेशमै उन्नत प्रविधिबाट च्याउको बीउ उत्पादन गरेर उदाहरणीय उद्यमी बनेका छन्। स्वदेशमै उत्पादन हुन थालेपछि च्याउको बीउमा विदेशी निर्भरता घटेको छ।

खत्री परिवारले १४ वर्षअघि स्थापना गरेको पाथिभरा च्याउ तथा बीउ उद्योगले कोशी प्रदेशमा पहिलोपटक ‘टिस्युकल्चर’ प्रविधिबाट च्याउको बीउ उत्पादन गर्दै आएको छ। उद्योगबाट वार्षिक ४५ हजार किलो च्याउको बीउ उत्पादन गर्दै आएको छ। यसबाट एक करोड ५० लाख रूपैयाँभन्दा बढी आम्दानी हुने गरेको खत्रीले बताए।

उद्योगमा सात जनाले पूर्णकालीन रोजगारी प्राप्त गरेका छन्। आफूसहित तीन कामदार आफ्नै घरका सदस्य रहेको उनले बताए। उद्योगबाट घर बाहिरका चार कामदारले पूर्णकालीन रोजगारी पाएका छन्। 

'च्याउखेतीमा थोरै लगानी र मिहेनत गर्दा मनग्य आयआर्जन गर्न सकिने भएकाले अहिले यसतर्फ किसानको आकर्षण बढेको छ', खत्री भन्छन्, 'रोग नलाग्ने र स्वस्थबद्र्धक च्याउ उत्पादन हुने भएकाले बीउका लागि टिस्युकल्चर प्रविधि प्रयोग गरिरहेका छौँ।'

टिस्युकल्चर प्रविधिबाट च्याउ उत्पादन गर्न खत्रीले आधुनिक प्रयोगशाला स्थापना गरेका छन्। यो कोशी प्रदेशकै पहिलो हो। उनले सञ्चालन गर्दै आएको प्रयोगशालामा गहुँ, मकै र जुनेलोको दानामा टिस्युकल्चर प्रविधिबाट च्याउको बीउ उमारिन्छ।

भारतको उत्तरप्रदेश र विहारबाट टिस्युकल्चर प्रविधिबारे तालिमप्राप्त गरेपछि आफैले प्रदेशमा पहिलोपल्ट च्याउको बीउ उत्पादन गरेको खत्रीले बताए। यसका लागि गहुँलगायतका दाना स्वदेशकै प्रयोग भए पनि रासायनिक तत्व भने भारतबाटै ल्याउने गरिएको उनको भनाइ छ।

'हाम्रो उद्योगमा दैनिक एकसय ५० किलो गहुँबाट एक हजार ५०० प्याकेट च्याउको बीउ उत्पादन हुँदै आएको छ', उनले भने, 'प्रतिप्याकेट बीउ ३५ रूपैयाँमा बजारमा बिक्री हुन्छ।' उद्योगले च्याउखेती गरिरहेका र नयाँ व्यवसाय सुरु गर्न चाहनेलाई प्राविधिक परामर्श तथा कच्चा पदार्थसमेत उपलब्ध गराउँदै आएको छ। उद्योगबाट उत्पादित बीउले माग धान्न नसकिरहेको खत्रीले बताए।

झापामा खत्रीले टिस्युकल्चर प्रविधि भित्राएपछि हाल जिल्लाभर उनको जस्तै च्याउको बीउ उत्पादन गर्ने १३ उद्योग स्थापना भइसकेका छन्। पाथिभरा च्याउ तथा बीउ उद्योगद्वारा उत्पादित च्याउको बीउ झापासहित इलाम, मोरङ, ताप्लेजुङ, सङ्खुवासभा, सिराहा, सप्तरी र रुपन्देहीसम्म बिक्री हुने गरेको छ।

एकपटक च्याउखेतीमा गरेको लगानीले लामो अवधिसम्म उत्पादन दिइरहने, श्रमिक कम लाग्ने र सामान्य प्राविधिक ज्ञानले हुने भएकाले पछिल्लो समय च्याउखेतीतर्फ किसानको आकर्षण बढेको छ। रासस


प्रकाशित : आइतबार, असोज ५ २०८२११:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend