काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै यातायात व्यवस्थापन र सडक सुरक्षाबारे सातबुँदे निर्देशन जारी गरेका छन्।
शनिबार मन्त्रालयमा सरोकारवालासँग गरेको विशेष बैठकमा मन्त्री घिसिङले यात्रुहरूलाई सुरक्षित र सहज ढंगले गन्तव्य पुग्न कुनै कसर बाँकी नराख्न सम्बन्धित निकायलाई आदेश दिएका हुन्।
बैठकमा मन्त्रालयका सचिव, यातायात व्यवस्था विभाग र सडक विभागका महानिर्देशक, नेपाल प्रहरीका अधिकारी र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पदाधिकारी सहभागी थिए।
मन्त्री घिसिङले यात्रुहरूको गुनासो तथा सडक अवस्थाबारे २४ सै घण्टा जानकारी दिने व्यवस्था मिलाउन, सडकमा अवरोध आयो भने तुरुन्तै पुनःस्थापना गर्ने र चाडपर्व अवधिभर मालबाहक भारी सवारीसाधनलाई सीमित गरी सार्वजनिक यातायातलाई प्राथमिकता दिनुपर्ने स्पष्ट निर्देशन दिएका छन्।
त्यसैगरी उनले सुरक्षाकर्मीको संख्या बढाएर नयाँ बसपार्कदेखि प्रमुख राजमार्गसम्म सुरक्षा चुस्त बनाउन, नारायणघाट-मुग्लिन खण्डको तुइन खोलामा भएको अवरोध तत्काल हटाउन र तातोपानी नाका जोड्ने सडक दसैँअघि सञ्चालनमा ल्याउन आदेश दिएका छन्।
साथै सार्वजनिक सवारीसाधनलाई सुरक्षित र प्रविधिमैत्री बनाउन कार्यविधि छिट्टै पेस गर्न, नागरिकलाई मौसम र सडकको अवस्थाबारे सचेत गराउने सूचना जारी गर्न र देशभरका सडक अवस्था अनुगमन गर्न २४ घण्टा सञ्चालन हुने कन्ट्रोल रुम स्थापना गर्न समेत निर्देशन दिइएको छ।
मन्त्री घिसिङले चाडपर्व अवधिमा यात्रुहरूको सहजता र सुरक्षामा कुनै सम्झौता नहुने चेतावनी पनि दिएका छन्।
बैठकले चाडपर्वलक्षित यातायात व्यवस्थापनका लागि गरेका सातवटा निर्णय
नागढुंगा-सिस्नेरी सुरुङमार्ग : दसैँअघि काठमाडौंबाट बाहिरिने सार्वजनिक सवारीसाधनलाई सो मार्ग प्रयोग गराउने र दसैँपछि प्रवेशको व्यवस्था मिलाउने विषयमा छलफल गर्ने।
सुरक्षा व्यवस्थापन : नयाँ बसपार्क र मुलुकका प्रमुख राजमार्गमा सुरक्षा कडाइ गर्न प्रहरी गस्ती र जनशक्ति थप गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने।
ठूला मालबाहक सवारी : दसैँ अवधिभर बुटवल-नारायणघाट सडकको दाउन्ने खण्डमा १२ चक्केभन्दा माथिका भारी सवारीसाधन सञ्चालन नगर्ने, तर खाद्यान्न तथा अत्यावश्यक सामग्री ढुवानीलाई निरन्तरता दिने।
सडक स्तरोन्नति : प्रमुख सडक चुस्त बनाउन, पहिरो व्यवस्थापन सामग्री तथा मेसिनरी परिचालन गर्न, दाउन्ने खण्डमा २४ सै घण्टा दुईतर्फी यातायात सञ्चालन गर्न, नारायणघाट-मुग्लिन सडकको तुइन खोलामा अवरोध हटाउन तथा तातोपानी नाका जोड्ने सडक दसैँअघि सञ्चालनमा ल्याउन सडक विभागलाई निर्देशन दिने।
सार्वजनिक सूचना : मौसम र सडक अवस्था बुझेर मात्र यात्रा गर्न नागरिकलाई अनुरोध गर्दै सूचना जारी गर्ने।
कार्यविधि/निर्देशिका : सार्वजनिक सवारीसाधनलाई सुरक्षित र प्रविधिमैत्री बनाउन कार्यविधि/निर्देशिका तयार गरी छिट्टै मन्त्रालयमा पेस गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने।
कन्ट्रोल रुम : देशभरका सडकको अवस्था र सुरक्षाबारे २४ घण्टा जानकारी दिने गरी कन्ट्रोल रुम सञ्चालन गर्न सडक विभागलाई निर्देशन दिने।
