नवलपरासी- हालैको अविरल बर्सातले बर्दघाट सुस्तापश्चिम नवलपरासीको पाल्हीनन्दन र सरावलका धानबालीमा क्षति पुर्याएको छ।
पाल्हीनन्दन र सरावलमा ७ सय बिघाभन्दा बढी धानबाली डुबान भएको पाल्हीनन्दन‐१ का वडासदस्य चुल्हाइप्रसाद यादवले जानकारी दिए। उनका अनुसार यस वर्ष सरावल र पाल्हीनन्दनका शंकरपुरमा धानबाली सप्राएको थियो।
उनका अनुसार धनेवा र झरही खोलामा आएको बाढीले पाल्हीनन्दन र सरावलको धानबालीमा क्षति पुर्याएको हो। पाल्हीनन्दनको शंकरपुर र सरावल गाउँपालिकाको मधवलीया, खडवना र भुजहवाका किसान चैते फसल गहुँ, तोरी, मसुरो र केही मात्रामा ऊखु खेती गर्छन्।
वडासदस्य यादवले भने, 'पाल्हीनन्दन र सरावलका किसान प्रत्येक वर्ष धानबाली लगाउँदछन्। बाढीले खेतमै धान सडछ धान काटन पाउँदैनन्। यस वर्ष धान काट्न पाईन्छ की भन्ने आश लागेको थियो। कतिपय धान फलिसकेको थियो। केही प्रजातिका धान फलिरहेको थियो। अहिले धान काटने बोला बाढी आएर हामीलाई बर्बाद बनायो।'
बाढीले सरावलमा ७ सयभन्दा बढी बिघामा लगाइएको धानबाली डुबान भएको सरावल‐७ का वडाध्यक्ष हेयात खान धुनियाले जानकारी दिए।
सरावल-६ मधवलीयाका किसान घनश्याम चौधरीले डेढ बिघामा लगाइएको धानबाली नष्ट भएको छ र यसबाट दुई लाख रूपैयाँ बराबरको नोक्सान भएको जानकारी दिए।
जिल्लाका सरावल गाउँपालिका र पाल्हीनन्दनका २७५ हेक्टर क्षेत्रफलमा लगाइएका धानबाली डुबानमा परेको नवलपरासी कृषि ज्ञान केन्द्र प्रमुख डा रविन्द्रनाथ चौबेले जानकारी दिए। उनका अनुसार पाल्हीनन्दन‐१ शंकरपुर र सरावल‐४, ५, ६, र ७ मा बाढीले धानबालीमा क्षति पुर्याएको हो। रासस