म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ घराम्दी र टिकोटका किसानले जैविक विधिबाट तरकारी खेती गरेका छन्। खर्चिलो र मानव स्वास्थ्यका लागि प्रतिकूल मानिएको रासायनिक विषादी र मलको विकल्पमा घरेलु विधिबाट तरकारी, खाद्यबाली र आलु खेती गरेका हुन्।
आलु खेतीको पकेट क्षेत्र टिकोट र घराम्दीका बासिन्दाले बन्दा, काउली, साग, किबी, गोलभेडा, काँक्रो, सिमीलगायत मौसमी तथा बेमौसमी तरकारी खेती गरेका छन्।
यहाँ ५० जनाभन्दा बढी व्यावसायिक किसान छन्। टिकोटका किसान टीका तिलिजा पुनले तरकारीमा रोगकीरा लाग्न नदिन र नियन्त्रण गर्नका लागि गाईभैँसीको मलमूत्र प्रयोग गरेको बताए।
'पलास्टिकको बोतलमा संकलन गरेर राखेको गाईभैँसीको मूत्रलाई आवश्यक पर्दा बिरुवाको जरा, जरामा हाल्छौँ,' उनले भने, 'टीकोटमा रासायनिक मल पनि अहिलेसम्म भित्रिएको छैन।'
टिकोट र घराम्दीमा करिब दुईसय ५० घरपरिवारको बसोबास छ। यहाँका किसानको प्रत्येक गोठमा गाईभैँसीको मुत्र संकलन गरेर राखेका छन्। पिसाबमा भएको किटाणुलाई नष्ट गर्ने क्षमता कायमै राख्नका लागि बन्द बोतल प्रयोग गरेका हुन्।
मल र गहुँतका लागि किसानले घरघरमा गाईभैँसी र गोरु पालेका छन्। जंगलबाट स्याउला र सोत्तर कुहाएर मल बनाउने गरेका छन्। गहुँतमा बोझो, केतुकी, खुर्सानी, टिम्मुरको पातको टुक्रा मिसाएर बनाएको जैविक विषादी प्रभावकारी हुने घराम्दीका किसान गमप्रसाद फगामीले बताए।
'तापक्रम वृद्धि र मौसम परिवर्तनको असरले पछिल्लो समय नयाँ कीरा देखिएका छन,' उनले भने, 'मैले जानकारी पाएसम्म यो गाउँमा विषादी र रासायनिक मल प्रयोग गरिएको छैन।'
'जैविक विधिबाट उत्पादन भएको आलु र तरकारी स्वच्छ हुने भएकाले बजारमा माग उच्च छ,' उनले भने, 'मूल्य पनि राम्रो पाएको छ।'
बेनी, कुश्मा, बागलुङ र पोखरामा टिकोट र घराम्दीको आलु तथा तरकारी खपत हुन्छ। आलु र बन्दाखेती यहाँका बासिन्दाको प्रमुख आयस्रोत हो।
यहाँबाट वार्षिक दुई करोड रूपैयाँभन्दा बढी मूल्यको आलु र एक करोड रूपैयाँ बराबरको बन्दा बिक्री हुने गरेको अन्नपूर्ण गाउँपालिका-७ का वडा सदस्यसमेत रहेका टिकोटका व्यावसायिक किसान वुद्धिविर पुनले बताए।
टिकोट र घराम्दी समुद्री सतहदेखि दुई हजार तीनसय मिटर उचाइमा रहेको छ। चिसो हावापानीमा जैविक विधिबाट उत्पादन भएको तरकारी स्वस्थकर र स्वादिलो हुने भएकाले उपभोक्ताको रोजाइमा परेको छ।
अन्नपूर्ण गाउँपालिकाले टिकोटमा तरकारी पकेट कार्यक्रम सञ्चालन गरेको कृषि अधिकृत श्यामशरण कुर्मीले बताए। कार्यक्रममार्फत कसानलाई तरकारी खेतीका लागि आवश्यक बीउ, टनेल, सिँचाइ सामग्री उपलब्ध गराएको उनले बताए। रासस