शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

दूध बिक्री गरेर मासिक एक लाख रूपैयाँ आम्दानी

बुधबार, असोज १ २०८२
दूध बिक्री गरेर मासिक एक लाख रूपैयाँ आम्दानी

भैँसीपालनमा दूधदेखि गोबर मलसमेत बिक्री हुने गरेकाले स्वदेशमै मेहनत गरे घाटा नहुने उनको भनाइ छ।

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका-१५ का जगदिशप्रसाद पाण्डेय दुबईमा रोजगारी गर्दै आएका थिए। विसं २०७६ मा बुबाको निधन भएपछि स्वदेश फर्किएका उनले पुनः रोजगारीका लागि दुबई जाने निधो गरे। यसका लागि टिकट समेत तय भइसकेको थियो। तर कोभिड सङ्क्रमणका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि उनको दुबई जाने सपना पूरा भएन।

वैदेशिक रोजगारीमा जान नसकेपछि उनले जीविकोपार्जनका लागि स्वदेशमै केही गर्ने उपाय खोजे। यसपछि उनले ३० हजार रूपैयाँमा एउटा गाई खरिद गरे। 'रोजगारी भएन कोभिडले वैदेशिक रोजगारीमा समेत जान पाइएन त्यसपछि जीविकोपार्जनका लागि केही गर्नुपर्छ भन्ने लाग्यो', उनले भने, 'त्यसबेला दूधको माग बढी थियो त्यही भएर मैले गाई पाल्न सुरु गरे माग धेरै आउन थालेपछि छ महिनापछि अर्को गाई थप गरे।'

दूध बिक्री गरेरै ६ महिनामा गाई किनेको रकम असुल भएपछि उनलाई स्वदेशमै पनि दूध बिक्री गरेर आम्दानी गर्न सकिने रहेछ लाग्यो। गाईको दूधभन्दा भैँसीको दूधको माग बढी आउन थालेपछि उनी व्यावसायिकरुपमा भैँसीपालनमा लागे।

सुरुवातमा तीन भैँसी खरिद गरेर भैँसीपालन सुरु गरेका उनको फार्ममा अहिले सानाठूला गरी ३२ वटा भैँसी छन्। '६ महिनामै गाई किनेको रकम असुल भएपछि थप अर्को गाई थपे त्यसपछि पनि दूधको धेरै माग आउन थाल्यो गाईको भन्दा भैँसीको दूध खोज्ने धेरै आए', पाण्डेयले भने, 'त्यसपछि मैले तीन वटा भैँसी ल्याएर भैँसीपालन सुरु गरे दूधको माग धेरै आउन थालेपछि हरेक वर्ष भैँसी थप्दै गए।'

अहिले दुईपटक दूध दिने पाँचवटा र बिहान एक पटक दूध दिने सातवटा भैँसीबाट दैनिक ४० लिटर दूध बजारमा बिक्री हुने गरेको छ। उनले भैँसीपालन गरेर तीन जनालाई रोजगारी समेत दिएका छन्।

उनको काममा उनकी श्रीमती सरस्वती पाण्डेयले समेत सहयोग गरिरहेकी छिन्। 'अहिलै दैनिक ४० लिटरसम्म दूध बिक्री हुने गरेको छ, प्रतिलिटिर ९० का दरले गाउँ घरमै दूध बिक्री हुने गरेको छ', उनले भने, 'भैँसीपालनबाट आएको आम्दानीले नै छोराछोरीको पढाइ खर्च र जीविकोपार्जन भइरहेको छ।'

उनका छोरा सिभिल इञ्जिनियरिङ र छोरी एमबीबीएसमा अध्ययनरत छन्। 'ग्राहकले माग गरे अनुसार घरमै दूध उपलब्ध गराउँछौँ', उनले भने, 'दूध बिक्रीबाटै छोराछोरीको पढाइ खर्च र घरको जोहो गर्दै आएका छौँ।'

दूधमात्रै होइन पाण्डेय दम्पतीले गोबर मलबाट र पाडापाडी बिक्रीबाट समेत आम्दानी गर्दै आएका छन्। 'दूध बिक्रीबाट वार्षिक १२ लाख रूपैयाँ आम्दानी हुन्छ, तीन लाखको गोबर मलबाट आम्दानी हुन्छ', उनले भने, 'सबै गरेर वार्षिक १६ लाख रूपैयाँसम्म आम्दानी हुने गरेको छ।' आफ्नै एक बिघा जग्गामा भैँसी फार्म सञ्चालन गरेका उनले भैँसीका लागि आवश्यक पर्ने घाँसका लागि पाँच बिघा क्षेत्रफल जमिन भाडामा लिएको बताए।

'अहिलेसम्म फार्ममा मैले ६५ लाख रूपैयाँ लगानी गरिसकेको छु तीन जनालाई रोजगारी दिएको छु, ६ बिघा जग्गा प्रतिबिघा वार्षिक ३० हजार रूपैयाँका दरले भाडामा लिनुभएको छु', उनले भने, 'दुई बिघा जग्गामा घाँस र बाँकी जग्गामा अन्न लगाएको छु।' भैँसीपालनमा दूधदेखि गोबर मलसमेत बिक्री हुने गरेकाले स्वदेशमै मेहनत गरे घाटा नहुने उनको भनाइ छ।

विदेशको भन्दा आफ्नै देशमा व्यवसाय गरेर आम्दानी गर्दा खुसी लाग्ने गरे पनि व्यवसाय गर्ने युवालाई सरकारीस्तरबाट पर्याप्त सहयोग हुन नसकेको उनले गुनासो गरे। उनले दूध बिक्रीबाट भइरहेको आम्दानीबाट खुसी भएको बताउँदै वास्तविक किसानलाई राज्यले सहयोग गर्नसके स्वदेशमै मेहनत गर्नेहरुलाई सहयोग पुग्ने बताए। रासस


प्रकाशित : बुधबार, असोज १ २०८२१३:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend