बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

असोज १ गतेदेखि बिपी राजमार्ग २४ घण्टा सञ्चालन हुने

मंगलबार, भदौ ३१ २०८२
असोज १ गतेदेखि बिपी राजमार्ग २४ घण्टा सञ्चालन हुने

मनसुन सुरु भएसँगै रातिको समयमा रोक लगाइएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४ सै घण्टा सञ्चालन हुने भएको छ।

काभ्रेपलाञ्चोक- मनसुन सुरु भएसँगै रातिको समयमा रोक लगाइएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४ सै घण्टा सञ्चालन हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन अन्त्य हुँदै गएको र चाडपर्व नजिकिएकाले यात्रु र सरोकारवालाको सहजतालाई ध्यानमा राख्दै राजमार्ग सञ्चालन गर्ने निर्णय गरेको हो। निर्णयअनुसार स्वीकृत सडक सुरक्षा कार्ययोजनाबमोजिम सतर्कता अपनाई यातायात सञ्चालन गरिनेछ।

गत असार पहिलो सातादेखि मनसुनमा बाढीपहिरोको जोखिम बढेपछि धुलिखेलदेखि नेपालथोकसम्म रातिको समयमा १२ घण्टा सवारीसाधन आवतजावतमा पूर्ण रोक लगाइएको थियो। पछिल्लो पटक भदौ १६ गतेदेखि थप १५ दिन रातिको समयमा सञ्चालनमा रोक लगाइएको थियो।

सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्डमा जोखिम भएकाले रोक लगाइएको भए पनि असोज १ गतेदेखि राजमार्ग पूर्ण रूपमा खुला हुनेछ। उनका अनुसार यसअघि काठमाडौँतर्फ जाने सवारीलाई सिन्धुलीको नेपालथोक र काभ्रेभञ्ज्याङमा रोक्दै सतर्कता अपनाइएको थियो।

गत वर्ष असोजमा आएको बाढीपहिरोले चौकीडाँडादेखि वर्षेखोलासम्म आठ किलोमिटर सडक बगाएको थियो। त्यतिबेलादेखि अस्थायी रूपमा मात्र सञ्चालन हुँदै आएको राजमार्गमा स्थायी संरचना बनाउन चार खण्डमा ठेक्का प्रक्रियालाई तीव्र पारिएको कार्यालयले जनाएको छ।

पूर्वी नेपाललाई छोटो दूरीमा जोड्ने महत्वपूर्ण राजमार्गमार्गबाट दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्ने भएकाले आगामी चाडपर्वलाई लक्षित गर्दै २४ घण्टा सञ्चालन हुने निर्णय यात्रुका लागि राहतस्वरूप हुने अपेक्षा गरिएको छ। रासस


प्रकाशित : मंगलबार, भदौ ३१ २०८२०७:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend