काठमाडौं- सरकारले यो वर्ष अति आवश्यकबाहेक सवारीसाधन नकिन्ने भएको छ। नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले सोमबार पदभार ग्रहण गर्दै यो वर्ष सुरक्षा र सेवाबाहेकको अवस्थामा सवारीसाधन खरिद नगर्ने बताएका हुन्।
भ्रष्टाचार र बेथितिविरुद्ध भदौ २३ र २४ गते भएको युवापुस्ताको आन्दोलनबाट बनेको अन्तरिम सरकारका अर्थमन्त्री खनालले कर्मचारीको सुविधाका लागि सवारीसाधन खरिद नगर्ने घोषणा गरेका हुन्। सरकारले हरेक वर्ष महँगा र विलासी सवारीसाधन खरिद गरेको भन्दै आलोचना हुँदै आएको थियो।
‘कम्तिमा अब पनि सुविधाका लागि गाडी खरिद गर्न आवश्यक छैन। यस्तो नगरौँ। सुविधा र सुरक्षाका लागिबाहेक अर्थ मन्त्रालयले गाडी खरिद गर्न हुँदैन भनेर दिमागमा राखेर काम गरौँ', अर्थमन्त्री खनालले भने, ‘चुनावका लागि आवश्यक त किन्नैपर्ने छ, यस्तोमा हामीले सुविधाकेन्द्रित खरिद गर्न हुँदैन।’
अर्थमन्त्री खनालले आगजनी गरिएका विभिन्न सरकारी सम्पत्तिमा बीमा गरेको सम्पत्ति छजस्तो आफूलाई नलागेको बताएका छन्। त्यसैले त्यसको क्षतिमध्येको ठूलो क्षति कतिपय तुरुन्तै पूर्ति गर्नुपर्ने भए पनि कतिपय फेजिङ गर्न सकिने उनले बताए।
'कतिपय गयो गयो भनेर बिर्सिन पनि सकिएला, किनभने हामीलाई चाहिनेभन्दा बढी सवारीसाधन पनि थिए होलान्। कतिपय यसै मिल्काएर लिलाम गर्न नसकेको अवस्था पनि थियो होला। ती सबै रिप्लेस गर्नपर्ने भन्ने छैन। कम्तिमा पनि अर्थ मन्त्रालयमा हामीले यो निर्वाचनको कामचलाउ सरकार रहेसम्म ठूलो खर्च गर्न सक्दैनौँ। सवारीसाधन खरिद नगरौँ भएकैबाट चलाऔँ’ उनले भने।
अर्थमन्त्री खनालले सार्वजनिक सेवाका लागि आवश्यक सवारी चाहिँ किन्नु पर्ने बताएका छन्। त्यस्तै उनले सरकारी भवनहरू पनि बनाउँदै जानुपर्ने आवश्यकता रहेको उल्लेख गरे।
‘बजेटभित्रै रहेर फजुल खर्च कटौती गर्ने हिम्मत गर्नुपर्ला अथवा तयारी नभएका अध्ययन नगरी प्रोजेक्ट बैंकमा राखिएका या त हुँदै नहुने काममा बजेट राखिएको भन्ने परेको छ भने त्यस्तो रकमहरू निकाल्न सक्नुपर्यो,’ खनालले भने, ‘एक खर्बजति त्यसरी निकाल्न सकिन्छ होला भन्ने छ। फाइनान्सिङ कमजोर भएको कारणले निर्वाचन सुरक्षित हुन सकेन त्यसको जिम्मेवारी अर्थ मन्त्रालयले लिनुपर्ने हुन्छ।’
दुईदिने युवापुस्ताको आन्दोलनको दोस्रो दिन काठमाडौंमा रहेको अधिकांश प्रहरी चौकीदेखि सिंहदरबार तथा संसद भवनसहित सर्वोच्च अदालतसम्म आगजनी गरिएको थियो। उक्त आगजनीबाट कति सवारीसाधन क्षति भए भन्ने यकिन विवरण आइसेको छैन।
अधिकांश सरकारी भवनको पार्किङमा रहेको दुईपांग्रे तथा चारपांग्रे सवारीसाधन जलेर खरानी भएका छन्। सयौँको संख्यामा सवारीसाधन तोडफोडसमेत गरिएको छ।
कतिपय सरकारी कार्यालयमा सरकारी कर्मचारीका लागि बचेका गाडीमध्येबाट नपुग्ने देखिएको छ। यस्तो अवस्थामा भएका र अन्यत्र मन्त्रालय वा विभागमा बचेका गाडी ल्याउने तयारी सरकारले गरेको छ।
प्रहरी कार्यालयहरूमा रहेका सबैजसो दुईपांग्रे तथा चारपांग्रे सवारीसाधन जलेका छन्। चुनाव नजिकिएकाले सुरक्षा निकायका लागि पनि सामान्य अवस्थामा पनि धेरै सवारीसाधन आवश्यक पर्नेमा अहिले त्योभन्दा बढी आवश्यक पर्ने देखिएको छ।