काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले उद्यम व्यवसाय निर्बाधरूपमा सञ्चालन गर्ने वातावरण निर्माणका लागि आग्रह गरेको छ। बजेटको मुख्य स्रोत निजी क्षेत्र भएको भन्दै आम सर्वसाधारण तथा उद्यमी व्यवसायीले निर्बाधरुपमा पेसा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गर्न महासंघले आग्रह गरेको हो।
भदौ २३ र २४ गते देशभर भएको 'जेनजी आन्दोलन' का क्रममा उद्यमी व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय एवं निवासमा समेत तोडफोड एवं आगजनीका घटना भएका छन्। यसरी व्यक्तिगत एवं व्यावसायिक सम्पत्तिमाथि भएका तोडफोडका घटनाको महासंघ भत्र्सना गर्दै महासंघले व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितताको लागि सरोकारवाला सबैको ध्यानाकर्षण गराएको छ।
उद्योग व्यवसाय प्रतिष्ठानमा मुलुकभर नै अर्बौँ रूपैयाँ बराबरको क्षति भएको, क्षतिका कारण राजस्व र कुल गार्हस्थ्य उत्पादनमै गम्भीर असर पर्ने प्रारम्भिक आकलन गरिएको छ। निजी क्षेत्रका गतिविधि निर्बाधरुपमा सञ्चालन हुन नसकेमा अर्थतन्त्रमा थप समस्या हुने र आगामी दिनमा राजस्वमा समेत नकारात्मक प्रभाव पर्न जाने महासंघले जनाएको छ।
निषेधाज्ञा एवं कर्फ्युका सामयमा पनि अत्यावश्यकीय सेवा तथा पेसाकर्मीहरुको आवतजावत एवं वस्तुहरु जस्तै औषधि, खाद्यान्न, दुध, पानी फलफूल तरकारी, पेट्रोलियम पदार्थ आदिको ओसार पसार सहजीकरणका लागि पनि आग्रह गरिएको छ। गुणस्तरीय सामानको नियमित आपूर्ति गरी बजारमा अभाव सिर्जना हुन नदिनेतर्फ देशैभरका सबै उद्यमी व्यवसायीहरुलाई महासंघले आग्रह गरेको छ। साथै
अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएपनि धेरै भन्सार नाका अहिले बन्द रहेका छन्। अत्यावश्यकीय लगायतका सामान आयात-निर्यातका लागि भन्सार नाकामा सुरक्षा दिइ सुचारु गर्ने वतावरण निर्माणका लागि पनि महासंघले आग्रह गरेको छ।
यस्तै, महासंघले देशको समुन्नतिका लागि अन्यौल अन्त्य भएर शुसासन कायम गर्ने कार्यमा महासंघ समन्वय एवं सहकार्य गर्न तयार रहेको जनाएको छ।