बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

झापाबाट ९२ जना थुनुवा फरार, तनहुँ र नौवस्ता कारागारबाट भागेका १० कैदीबन्दी पक्राउ

बिहीबार , भदौ २६ २०८२
झापाबाट ९२ जना थुनुवा फरार, तनहुँ र नौवस्ता कारागारबाट भागेका १० कैदीबन्दी पक्राउ

बाँकेको नौवस्ता कारागारबाट भागेका सात कैदीबन्दीलाई नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको छ।

काठमाडौं- ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्लाका विभिन्न इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका ९२ जना थुनुवाहरू अझै सम्पर्क नआएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

यही भदौ २४ गते इलाका प्रहरी कार्यालय अनारमनीमा रहेका ३६, इलाका प्रहरी कार्यालय दमकका ५१ र झिलझिले इलाका प्रहरी कार्यालय पाँच गरी ९२ जना थुनुवा भगेका थिए। उनीहरू हालसम्म पनि सम्पर्क नआएकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए।

प्रदर्शनकारीले जिल्लाका दमक, विर्तामोड, झिलझिले र काँकडभिट्टा इलाका प्रहरी कार्यालयमा आजगनी र तोडफोड गरेका थिए। विर्तामोडस्थित इलाका प्रहरी कार्यालयमा आगजनी हुनुअघि प्रदर्शनकारीले नियन्त्रणमा लिएका हतियार सेनाले फिर्ता लिइसकेको छ।

यस्तै, तनहुँ कारागारबाट फरार भएकामध्ये तीन जना कैदीबन्दी पक्राउ परेका छन्। दुईजना कास्कीबाट र एकजना तनहुँबाट बुधबार पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

मंगलबार राति ३२७ कैदीबन्दी यहाँबाट फरार भएका थिए। फरार भएका कैदीबन्दीको खोजतलास भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए। उनले भने, 'केही कैदीबन्दी बाहिरभन्दा भित्रै रमाउने खालका पनि छन्, उनीहरू आफै सम्पर्कमा आउने सम्भावना छ। अन्यको पनि खोजी भइरहेको छ।'

यसैगरी, बाँकेको नौवस्ता कारागारबाट भागेका सात कैदीबन्दीलाई नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको छ। उनीहरुमध्ये एक जनाले इलाका प्रहरी कार्यालय, कोहलपुरमा आत्मसर्मपण गरेका छन् भने अन्य ६ जनालाई जिल्ला प्रहरी कार्यालय, बाँकेले पक्राउ गरेको कारागारका जेलर जालन्धर भुसालले जानकारी दिए।

'प्रहरी कार्यालयमा रहेकालाई पनि आजै कारागारमा ल्याउने तयारी भएको छ,' उनले भने। दुई दिनअघि मात्रै कारागारबाट १४७ कैदीबन्दी फरार भएका थिए। कारागारमा ५८५ कैदीबन्दी थिए।

जेलर भुसालले फरार भएका कैदीबन्दीको खोजी भइरहेको बताए। दुई दिनअघि नौवस्तास्थित बालसुधारगृहमा झडप हुँदा पाँचजनाको मृत्यु समेत भएको थियो। सो घटनामा अन्य सातजना घाइते भएका थिए।

जिल्लाको नौवस्ता कारागारको बालसुधार गृहबाट ७६ र डुडुवा गाउँपालिकास्थित जयन्दु बालसुधार गृहबाट १२२ बालबन्दी भागेका थिए। जयन्दु बालसुधार गृहमा २२८ जना बालबन्दी थिए। रासस 


प्रकाशित : बिहीबार , भदौ २६ २०८२११:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend