काठमाडौं- उपत्यकामा कर्फ्यू र निषेधाज्ञाको समय कम गरी केही खुकुलो बनाउँदै लगिएको छ।
पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनजीवन सुरक्षाको लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध रूपमा खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको सेनाले जनाएको छ।
निषेधाज्ञा भदौ २६ गतेको बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म हुने जनाइएको छ। कर्फ्यू भदौ २६ गतेको बेलुकी ७ बजेदेखि भदौ २७ गते बिहान ६ बजेसम्म हुने जनाइएको छ।
खुकुलो भएको समयमा अत्यावश्यक कार्यको लागि आवतजावत गर्न सकिने सेनाले जनाएको छ।
निषेधाज्ञा तथा कर्फ्यूको दौरान समेत अत्यावश्यक सेवाका (एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीका साथै, खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधी ओसारपसार गर्ने) सवारी साधनहरु सजिलैसँग सञ्चालन गर्न सकिने सेनाले जनाएको छ।
विभिन्न सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायत सार्वजनिक संस्थानहरुमा कार्यरत कर्मचारीहरुले आफ्नो परिचय पत्र देखाइ कार्यालयसम्म आवतजावत गर्न सक्ने सेनाले जनाएको छ।
त्यस्तै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरुले आफ्नो उडानको टिकट देखाइ विमानस्थलसम्म आवतजावत गर्न सक्ने हुनेछन्। आवश्यक सहयोगको लागि नजिकमा रहेका सुरक्षा कर्मीसँग समन्वय गर्न हुन सम्बन्धित सबैमा अनुरोध गरिएको छ।
काठमाडौं उपत्यकाबाहिरको हकमा सम्बन्धित जिल्लाको सुरक्षा परिस्थितिअनुसार जिल्ला सुरक्षा समितिबाट निर्णय तथा समन्वय गरिने उल्लेख छ।
'जस्तोसुकै परिस्थितिमा पनि आम नेपालीहरुको सुरक्षा र मानवीय उद्वारमा प्रतिबद्ध रही जिम्मेवारी निर्वाहमा सक्रिय सुरक्षा कर्मीहरुलाई सहयोग पुर्याउन सबैमा हार्दिक अपिल गरिन्छ' सेनाले भनेको छ।