काठमाडौं- महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न चारजना पक्राउ परेका छन्। बुधबार दिउँसो १ बजेसम्ममा भाटभटेनी लुटपाटमा संलग्न चारजनालाई पक्राउ गरिएको नेपाली सेनाले जनाएको छ।
त्यसैगरी डिल्लीबजार, नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरुले सुरक्षा फौजलाई देखेपश्चात् छोडेर भागेको दुई लाख ३२ हजार ५ सय रूपैयाँ र २५ सय डलर बरामद गरिएको छ।
सुरक्षाकर्मीबाट लुटिएका थप हतियार १ नालसहित हालसम्म जम्मा ३२ नाल हतियार बरामद भएको छ।
साथै, डडेलधुरास्थित जिल्ला कारागारबाट निस्केर भागेका कैदीबन्दीहरु मध्ये २६ जनालाई नियन्त्रणमा लिइएको तथा काठमाडौं डिल्ली बजारस्थित सदर कारागारबाट भाग्ने प्रयास गरेका कैदीबन्दीहरुलाई रोकिएको छ।