बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

अस्पतालहरूमा भ्याइनभ्याइ उपचार, घाइते प्रदर्शनकारीलाई प्राथमिकता

बुधबार, भदौ २५ २०८२
अस्पतालहरूमा भ्याइनभ्याइ उपचार, घाइते प्रदर्शनकारीलाई प्राथमिकता

मीनभवनस्थित सिभिल अस्पतालले बिरामीको चाप अध्यधिक भएसँगै आकस्मिक सेवाबाहेकका अरु सेवा अहिले बन्द गरेको छ।

काठमाडौं- जेनजी पुस्ताले देशव्यापीरुपमा गरेको प्रदर्शनका कारण मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्र प्रभावित भएको छ।

दुई दिनअघिको काठमाडौं केन्द्रित प्रदर्शन देशव्यापी फैलिएर सबैजसो क्षेत्र प्रभावित भएको देखिन्छ। विशेषगरी पहिलो दिन नयाँबानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा घाइते भएका बिरामीको उपचार गर्न अस्पतालहरूलाई भ्याइनभ्याइ भएको अवस्था छ।

मीनभवनस्थित सिभिल अस्पतालले बिरामीको चाप अध्यधिक भएसँगै आकस्मिक सेवाबाहेकका अरु सेवा अहिले बन्द गरेको छ। अस्पतालका निर्देशक डा मोहनचन्द्र रेग्मीका अनुसार बिरामीका लागि खानालगायत अत्यवश्यक सेवा पुर्‍याउन कठिन भएको छ।

‘स्रोतसाधनको समस्या छ, जनशक्ति व्यवस्थापन पनि त्यत्तिकै चुनौतीपूर्ण छ। चिकित्सक तथा नर्सहरु ‘डबल ड्युटी’ गरेर भए पनि अहोरात्र खटिनुभएको छ, तर हाललाई ‘ओपीडी’ र ‘ओटी’ सेवा बन्द गरिएको छ', उनले भने, 'हिजोदेखि ड्युटीमा आएका आजमात्र घर फर्किँदै हुनुहुन्छ।' हाल सो प्रदर्शनमा  घाइते ४६ जनाको उपचार भइरहेको छ।

त्रिवि शिक्षण अस्पतालले पनि प्रदर्शनमा घाइतेहरूलाई उच्च प्राथमिकता दिइ उपचार गरिरहेको अस्पतालका निर्देशक डा सुवास आचार्यले जानकारी दिए। 

'अत्यावश्यक र रेफर भएर आएका बिरामीको भने उपचार रोकिएको छैन। ओपीडी सेवा सञ्चालनमै छ, तर बिरामीहरू अस्पतालसम्म आइपुग्न सकेका छैनन्। डबल ड्युटीमा खटेर हामीले काम गरिरहेका छौँ। घर जाने अवस्था नभएकाले स्वास्थ्यकर्मीहरू अस्पतलामै रही काम गरिरहनुभएको छ', उनले भने, 'हाल ५३ जना घाइतेको यस अस्पतालमा उपचार भइरहेको छ।'

निर्देशक आचार्यका अनुसार ओपीडी नियमितरूपमा सञ्चालन भइरहेको, आकिस्मक सेवामा चाप रहेको, मुख्य शल्यक्रिया भने हाललाई बन्द गरिएको र यातायात नियमितरूपमा चले भोलिबाट सबै सेवा सञ्चालन गरिने छ। 

'राष्ट्रिय ट्रमा सेन्टरमा हाल ४० जना घाइतेको उपचार भइरहेको छ। जसमा चार जनालाई शल्यक्रियापछि ‘आइसीयु’मा राखिएको छ। अहिले त अवस्था ठिकै छ। तर एउटा एम्बुलेन्स नै तोडफोड गरेका छन्', अस्पतालका निर्देशक डा बद्री रिजालले भने, 'चिकित्सक र नर्स ल्याउन भने केही समस्या छ। स्रोतसाधन अभावका बीच पनि उपचार सेवा रोकेका छैनौँ।'

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा पनि चाैबिसै घण्टा सेवा सञ्चालनमा छ। जस्तोसुकै परिस्थितिमा पनि आफ्नो सेवालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै सो अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले भने, 'ओपीडी नियमित नै सञ्चालन छ, आकस्मिक सेवा चलिरहेकै छ। शुल्क लिएर दिइने सेवा (पेइड सर्भिस) बन्द गरिएको छ।' रासस


प्रकाशित : बुधबार, भदौ २५ २०८२१३:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend