काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले प्रदर्शनरत युवालाई संयमित हुन आह्वान गरेका छन्।
सरकारको तानाशाही कार्यशैलीविरुद्ध सडकमा उत्रिएका युवाले देशभर आगजनी र तोडफोड गरिरहँदा मेयर साहले प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको राजीनामा आइसकेको भन्दै अब संयमित हुन आग्रह गरेका हुन्।
'हामीले स्पष्टरूपमा भनेका थियौँ। यो नितान्त जेनजीको आन्दोलन हो। प्रिय जेनजी, तपाईँहरूको हत्याराको राजीनामा आइसकेको छ। अब संयमित हुनुहोला। देशको जनधनको क्षति भनेको तपाईँहाम्रै सम्पत्तिको क्षति हो। तपाईँ-हामी अब संयमित हुनु जरुरी छ', उनले भनेका छन्।
अब जेनजी पुस्ताले नै देशको नेतृत्व गर्नुपर्ने उनको भनाइ छ। सामाजिक सञ्जालमा बालेन लेख्छन्, 'अब तपाईँको पुस्ताले नै देशको नेतृत्व गर्नुपर्ने छ। तयार रहनुहोला। साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला। तर याद रहोस्, वार्ता गर्नुअघि संसद् विघटन भएको हुनुपर्छ।'
सोमबार सरकारको बेथिति र भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रिएका युवामाथि गोली प्रहार गरी १९ जनाको हत्या भएपछि मंगलबार पनि प्रदर्शन जारी छ। आक्रोशित युवाहरुले सरकारी कार्यालय, पार्टी कार्यालय, शीर्ष नेताका घरमा आगजनी गरिरहेका छन्।