बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

केपी शर्मा ओलीले दिए प्रधानमन्त्री पदबाट राजीनामा

मंगलबार, भदौ २४ २०८२
केपी शर्मा ओलीले दिए प्रधानमन्त्री पदबाट राजीनामा

युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा सरकाले बर्बर दमन गरेर १९ जनाको हत्या गरेपछि आज मंगलबार देशभर आन्दोलन चर्किएको छ।

काठमाडौं- केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन्। सोमबारदेखि नयाँ पुस्ताले सडकमा निस्किएर सुरु गरेको भ्रष्टाचार र बेथितिविरुद्धको प्रदर्शनका कारण उनले मंगलबार दिउँसो राजीनामा दिएका हुन्। 

ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएर बालुवाटारबाट सेनाको हेलिकप्टरमा उडेका छन्। उनलाई सेनाले सुरक्षित स्थानमा सारेको छ।

सोमबारको प्रदर्शनमा सरकारले १९ जनाको हत्या गरेको थियो भने सयौँ घाइते भएका थिए। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

'सम्बत् २०८१ साल असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधानसम्मत राजनीतिक निकासका र समस्या समाधनको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु' राष्ट्रपतिलाई सम्बोधन गर्दै ओलीले लेखेको पत्रमा उल्लेख छ।

युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा सरकाले बर्बर दमन गरेर १९ जनाको हत्या गरेपछि आज मंगलबार देशभर आन्दोलन चर्किएको छ। आन्दोलनकारीहरूले नेताहरूका आवासलक्षित गर्दै आगजानी र तोडफोड गरिरहेका छन्। सुरक्षा निकायको नियन्त्रणबाहिर प्रदर्शन पुगिसकेको छ। 

यस्तै काठमाडौंमा भने स्थानीयहरू सडकमा उत्रिएका छन्। युवा, वयस्क तथा महिलाहरू सडकमा उत्रिएका छन्। आमा, बुबा, दिदीबहिनीहरू युवालाई साथ दिन निस्किएका छन्। कर्फ्यु आदेशका बाबजुत देशका धेरै ठाउँमा प्रदर्शन गरिरहेका छन्। सोमबार कलिला युवा विद्यार्थीको हत्या सरकारले गरेपछि आक्रोशित भएका स्थानीयहरू टोलटोलबाट निस्किएर प्रदर्शन गरिरहेका हुन्। 

नेपालको इतिहासमा कठोर भनिएका कुनै पनि शासनमा यति धेरै नागरिक सत्ताले मारेको थिएन। यो कसीमा राख्दा केपी ओली इतिहासकै निरंकुश र तानाशाह हुन्। 

सोमबार बानेश्वर केन्द्रित प्रदर्शन मंगलबार उपत्यकाका चोकचोकमा फैलिएको छ। पूर्वप्रधानन्यायाधीश सुशिला कार्की, कलाकार मनोज गजुरेललगायत व्यक्तिहरू सडकमा आइसकेका छन्। अन्य जिल्लाहरूमा पनि निरन्तर प्रदर्शन भइरहेको छ। 

विदेशमा रहेका नेपालीले पनि आफ्नो आवाज उठाइरहेका छन्। अन्तर्राष्ट्रिय समुदायको ध्यान नेपालतर्फ आकृष्ट भएको छ। सबैले सरकारको शैलीको आलोचना गरिरहेका छन्। 


प्रकाशित : मंगलबार, भदौ २४ २०८२१४:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend