काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत आफू स्वास्थ्यमन्त्रीको जिम्मेवारीबाट अलग्गिएको जानकारी गराएका हुन्।
सोमबार काठमाडौंलगायत देशका मुख्य सहरहरुमा सरकारको तानाशाही कार्यशैलीविरुद्ध सडकमा आएका युवामाथि गोली प्रहार गरी हत्या भएपछि सरकारको चौतर्फी विरोध भइरहँदा उनले राजीनामा दिएका हुन्।
'एकातिर घाइतेहरूको उपचारको व्यवस्था मिलाउनु, अर्कोतिर त्यही राज्य संयन्त्रको अंग बनिरहनु, यो नैतिक संकटमा म रहिरहन सकिनँ। त्यसैले, लोकतन्त्रको मूल्य र नागरिक अधिकारको पक्षमा उभिँदै मैले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको पदबाट राजीनामा दिएको छु', उनले लेखेका छन्।
लोकतन्त्रमा हरेक नागरिकको आवाजको सम्मान हुनुपर्ने र असहमतिलाई बलजफ्ती फौजी शक्तिले होइन, संवादले सम्बोधन गरिनुपर्ने उनको भनाइ छ। उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'आजको युवा पुस्ताले सडकमा उठाएको आवाज विद्रोह होइन, सुधारको अपेक्षा हो। यो पुस्ताको ऊर्जा र चेतनालाई दमन गरेर होइन, सम्मान गरेर मात्रै देश अघि बढ्न सक्छ। उनीहरूको आवाज नसुन्नु भनेको देशको भविष्यलाई अस्वीकार गर्नु हो।'